सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
किताब समीक्षा:
परिचयः यो किताब डा. भगवान कोइरालाले लेखेका हुन्। यसमा डा. कोइरालाले जीवनमा भोगेका संघर्ष, तितामिठा अनुभव, स्वास्थ्य क्षेत्रका समस्या, तिनलाई सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयको विश्लेषणात्मक धारणासहित समावेश गरेका छन्।
‘हृदय’ ले लगनशील, मिहिनेती र कुशल चिकित्सकको कथा मात्र भन्दैन, कोइरालाको व्यवस्थापकीय गुणको समेत चर्चा गर्छ। फाइनप्रिन्ट बुक्सले प्रकासन गरेकाे यस किताबमा डा. कोइरालाका बाल्यकालदेखि व्यवसायिक जीवनसम्मका केही फोटासमेत समावेश छ। यो किताब उनको आत्मकथाका रूपमा बजारमा आएको हो।
लेखक परिचयः डा. भगवान कोइरालाको जन्म पाल्पा जिल्लाको दरूङा भन्ने गाउँमा भएको थियो। विद्यालय शिक्षा गाउँमै र हाईस्कूल शिक्षा सदरमुकाम तानसेनमा अध्ययन गरेका उनले चिकित्साशास्त्र अध्ययन संस्थानबाट हेल्थ असिस्टेन्ट कोर्ष सके। सन् १९८९ मा खार्किभ नेसनल मेडिकल युनिभर्सिटी युक्रेनबाट स्नातक गरे र १९९४ मा ढाका विश्वविद्यालय (बंगलादेश) को नेशनल इन्स्टिच्युट अफ कार्डियोभास्कुलर डिजिजमा कार्डियो (थोरासिक सर्जरी) मा स्नातकोत्तर प्रशिक्षण पूरा गरे। उनले मुटुको शल्यक्रियामा फेलोशिप पनि पाए। संयुक्तराज्य अमेरिकाको बेस्टेट मेडिकल सेन्टर र सन् २००० मा द हस्पिटल फर सिक चिल्ड्रेन (टोरन्टो विश्वविद्यालय) मा पेडियाट्रिक कार्डियोभास्कुलर सर्जरीमा थप शिक्षा हासिल गरे। डा. कोइराला अनवरत रूपमा नेपालमा समतामूलक स्वास्थ्य सेवा प्रबर्द्धनमा समर्पित रहेका छन्। सन् १९९७ मा नेपालमा ओपन-हार्ट सर्जरी कार्यक्रमको अग्रगामी र नेपालको पहिलो मुटु विशेष अस्पताल शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको स्थापना र व्यवस्थापनको नेतृत्व गरेकोमा उहाँलाई समाजले व्यापक रूपमा सम्मान गर्छ।
विषयवस्तुः किताबमा रहेका ५८ वटै शीर्षक रोचक, शिक्षाप्रद र जानकारीमूलक छन्। तर यहाँ मैले केही रोचक, सूचनामूलक र ज्ञानबर्द्धक विषय मात्र उल्लेख गरेको छु। सबै शीर्षकका लागि भने तपाईंले किताब आफै पढ्नुपर्ने हुन्छ।
बाल्यजीवनः पाल्पाको दरूङामा जन्मेर गाउँमै विद्यालय शिक्षा लिएका कोइराला चार वर्षको उमेरमा एक कक्षामा दोश्रो भएका थिए। त्यस समय उनको बुवाले घरमा शिक्षक बस्ने व्यवस्था मिलाउनुभएकाले नियमित अध्ययनको सहयोग तिनै शिक्षकबाट भयो। ती शिक्षकले साँझमा लालटिन बालेर दलानमा राखी थुप्रै केटाकेटीलाई सामुहिक पढाउने गर्थे जुन हाम्रो पुस्ताले अब विरलै भोग्न पाउँनेछ। उनको न्वारनको नाम मोहन भए पनि उनको घरमा पढ्न आउने बुबाका मामाका छोराले सोझो व्यवहार या भनौं गौप्राणी देखेर उनको नाम भगवान राखिदिएछन्। जीवनको पहिलो र अन्तिम भौतिक सजायस्वरूप पीताम्बर गैरे सरको हातबाट एक स्वाँठ खाएदेखि बैकुण्ठ दाईको बदमासीलाई आकर्षक रूपमा उनले पस्किएका छन्। त्यसैगरी घरको हेरचाह गर्न बसेका 'सटके' नामक मगर दाईको इमानदारिता र कडा अनुशासनले घरको आन्तरिक व्यवस्था कसरी चुस्त, दुरूस्त थियो भनेर अनुशासनको पक्षलाई हामी विद्यार्थीसामु उजागर गरिदिएका छन्। यद्यपी त्यसबेला बाल मनोविज्ञानलाई कुनै स्थान नभएको बडो दुःखदायी ढंगले यस विषय उठाएका छन्।
तत्कालिन शिक्षाले विद्यार्थीलाई उत्तर सोच्न र प्रश्न सोध्न खासै उत्प्रेरित नगरेको आफ्नो अनुभव राखेका छन्। पढाइ मूलतः निर्देशनात्मक, घोकन्ते र सैद्धान्तिक थियो सिर्जनात्मक छँदै थिएन भनेका छन्। यसरी उनले आफ्नो विद्यालय शिक्षाप्रति आलोचनात्मक चेत राखेका छन् । पढाइको अनुभवका क्रममा उनले आत्मविश्वासलाई भने बढो रोचक ढंगले उठाएका छन्। कुनै विषय जान्ने, नजान्ने भन्ने कुरा पनि यसै भन्न नसकी आत्मविश्वासमा भरपर्ने र आत्मविश्वास बढेमा नआउने कुरा पनि आएको र आत्मविश्वास गुम्दा जानेको विषय पनि अप्ठ्यारो बन्दै गएको अनुभव हामी विद्यार्थीका लागि अमूल्य सम्पत्तिका रूपमा राखिदिएका छन्। आठ कक्षामा जे पनि आउने, नौ कक्षामा गएदेखि कलेज जीवनको पहिलो सेमेस्टरसम्म केही नआउने भएकोमा दोश्रो सेमेस्टरदेखि सबै विषय आउन थालेको घटनालाई उनले नियाल्दा पाएको निचोड भने यस्तो थियो- कुनै विषय आउँछ, आउँदैन भन्ने कुरा आत्मविश्वास, रूचि र मिहिनेतमा भरपर्ने कुरा रहेछ। बस् हामी विद्यार्थीका लागि अरुको अनुभवबाट हामीले सिक्ने सित्तैको अमूल्य धन हो।
पेशागत जीवनः साधारण ठानिएका व्यक्तिसँग पनि कति दूरदृष्टी हुन्छ। भगवानलाई विद्यालय शिक्षापश्चात उच्च शिक्षा के पढाउने अलमल थियो। उनका बुवालाई तानसेनका एक व्यापारी नरेन्द्र साहुले 'हेल्थ असिस्टेन्ट पढाऊ' भनि दिएको सल्लाहले उनको जीवनलाई नयाँ मोड दियो। उनले काठमाडौं आएर हेल्थ असिस्टेन्ट पढी सफलता प्राप्त गरेपछि भने एमबिबिएस पढ्नका लागि युक्रेन गए। उनी बाहिर गएर पढ्ने कुरामा आत्मविश्वासी थिए। त्यसैले परिवारलाई एक प्रकारको चुनौती दिएर भए पनि उनी युक्रेन गइछाडे। त्यहाँको पढाई अब्बलताका साथ पूरा गरे। बंगलादेश, अमेरिका र क्यानडाबाट आफ्नो शिक्षा र ज्ञानको क्षितिज परिस्कृत बनाएका कोइरालाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट आफ्नो पेशागत जीवन सुरू गरेका थिए। उनले सन् १९९७ मा शिक्षण अस्पतालमा ओपन हार्ट सर्जरी कार्यक्रम सुरू गर्ने टोलीमा अहम् भूमिका खेलेका थिए। सन् २००१ देखि २००९ सम्म शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशकका रूपमा सबल, सक्षम र सफल नेतृत्व गरेका थिए। बालबालिका र बृद्धबृद्धाको मुटुको शल्यक्रिया नि:शुल्क गरी महँगो उपचारलाई सर्वसाधारणको पहुँचमा पुर्याउन उनले जेजती पापड मोले, सायद त्यसैले उनको नामलाई सार्थक बनाएको छ। उनले करिब १५ हजार मुटुको चिरफार गरेका छन्।
पेशागत जीवनमा उनले राजनीतिक र प्रशासनिक नेतृत्वको सहयोग र असहयोगलाई पनि राखेका छन्। यसरी विषय राख्ने क्रममा उनले सहयोग गर्नेहरूको नाम उल्लेख गरेका छन्। त्रि. वि. शिक्षण अस्पतालको कार्यकारी निर्देशक हुँदा उनले झेल्नु परेका विविध राजनीतिक व्यवधानले हाम्रा सार्वजनिक संस्थाहरू किन सफल भएनन् भनेर हामीजस्ता आउने पुस्तालाई राम्रो शिक्षा हस्तान्तरण गरेका छन्। अझ उनको सिकाईको निष्कर्ष बहुमूल्य छ। कुनैपनि संस्था बन्नु र बिग्रनुमा नियमित अनुगमन, व्यवस्थापकीय इमानदारिता र सामूहिक प्रयास महत्वपूर्ण हुन्छ। नेतृत्वमा अपनत्वभावको अभाव, दृढनिश्चयको कमी तथा सूक्ष्म कुराहरूमा ध्यान नदिने प्रवृत्ति भयो भने संस्था पतन हुन केही बेरै लाग्दैन।
त्यसो त उनी प्रतिकूल परिस्थितिमा हार नखाई यसैबाट फाइदा लिन खप्पिस देखिन्छन्। मुख्यतः डा. कोइरालाले अमेरिका बसाइक्रममा काम गर्ने संस्कृति सिक्नुका साथै शक्तिशाली प्रणाली निर्माणले संस्था सफल हुने मूलमन्त्र सिकेको पाइन्छ। नेपालका काममा पाइलैपिच्छै अवरोध र हतोत्साही बनाउने वातावरण भने हृदयविदारक छ। तथापी ती परिस्थितिलाई ह्यान्डल गर्ने उनको कौशल तारिफयोग्य छ।
समयको व्यवस्थापन: डा. कोइराला एक सक्षम डाक्टर, नेतृत्वकर्ता, व्यवस्थापक, समाजससेवीका अलवा एक अभिभावक हुनुका नाताले पनि उनको व्यस्तता रहनु स्वभाविक मान्न सकिन्छ। यी सबै पक्षलाई समय दिएर व्यवस्थापन गर्नु पनि चानचुने कला होइन। त्यसमा उनी निकै कुशल रहेछन्। बिहान सबेरै उठेर कम्तिमा एक घण्टा शारीरिक व्यायाममा खर्चिदैँ केही समय पारिवारिक जीवनमा रमेर पेशागत जीवनमा लाग्ने उनको दैनिकी रहेछ। यसबाहेक उनी आत्मअध्ययन तथा समाजसेवामा समय दिएर देश र जनताको हितमा लागेको देख्दा कुनचाहिँ नेपालीलाई लोभ नलाग्ला! यसरी धेरै क्षेत्रमा संलग्न भए पनि उनी सबै क्षेत्रमा सफल हुनुको रहस्य समय व्यवस्थापन रहेछ। समयको महत्वलाई उनको यो भनाईले थप पुष्टि गर्दछ। उनले भनेका छन्, 'खराब कुरासँग धेरैबेर अलमलिएर तनावमा फसिरहनु हुन्न। कि जित्न सक्नुपर्यो होइन भने छाड्नुपर्यो।'
जीवनका संयोगहरूः उनको जीवनमा विभिन्न संयोग एवम् घटना आएका रहेछन् जसको अध्ययन गर्दा कतिपय क्षणले उत्साही त कतिले निराश बनाउँछ। विद्यालय शिक्षा पास भएपछिको पढ्ने विषयमा साहूले दिएको सल्लाहदेखि बंगलादेश पढ्न जान नपाएको घटनाले उनलाई थप उत्साही बनाएर युक्रेन पुर्याउँछ। रूस गएको दुई वर्षपछि बिदामा घर आउँदा बुटवल जाँदा मुग्लिङ-नारायणगढको बीचमा पुगेपछि भएको बस दुर्घटनामा बाँचेको क्षणदेखि सुकेधारामा भएको मोटरसाइकल दुर्घटना हुँदै केशरमहल चोक नजिकको दुर्घटनाबाट बँचेर देश र जनतालाई सेवा गर्न उनलाई जुरेको रहेछ।
निष्कर्षः डा. भगवान कोइराला साँच्चै एक असल नागरिकको उदाहरण हुन्। आफ्नो व्यक्तिगत स्वार्थ नहेरी जनहितका निम्ति आफ्नो नामझैँ उनी धेरै मानिसका लागि भगवान स्वरूप हुन्। उनको असल चरित्र तथा योगदानले हाम्रो साधारण जीवनमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सकारात्मक प्रभाव पार्छ।
(रोमहर्षण ढुंगेल एभरेष्ट इङ्लिश स्कूल, भक्तपुरमा कक्षा ९ मा अध्ययनरत छन्।)