सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
नुवाकोट जिल्लाको तत्कालीन कुमरी गा.वि.स वडा नम्बर ४ मा पिता कपिलमुनि पुडासैनी र माता पद्मकुमारीको दोस्रो पुत्रको रूपमा मिति १९८६ साल चैत्र २२ गते मेरा हजुरबुवा गोपीकृष्ण पुडासैनीको जन्म भयो। निम्न मध्यम वर्गीय परिवारमा जन्मनुभएका मेरा हजुरबुवाको बाल्यकाल त्यति सुखमय थिएन। अभाव र दु:खमै बित्यो।
तीन वर्षको कलिलो उमेरमा पिता कपिलमुनीको अकस्मात निधनपश्चात उहाँको जीवन झन् कष्टपूर्ण बन्न पुग्यो। आर्थिक अभावका कारण औपचारिक शिक्षा हासिल गर्न नपाए पनि घरमै आफ्ना हजुरबुवा लक्ष्मीविलास पुडासैनीबाट अध्यापन गर्ने मौका पाइ लेख्न र पढ्न भने सक्नुहुन्थ्यो। सानै उमेरदेखि मेरा हजुरबुवा निडर, सहासी, आत्मनिर्भर, चेतनशील, कर्ताव्यवान र अनुशासित हुनुहुन्थ्यो।
बाल विवाहको तत्कालिन चलनअनुसार हजुरबुवाको मिति वि. सं १९९६ सालमा करिब नौ वर्षको उमेरमा नुवाकोट जिल्ला तारूका गाविसकी टीकादेवी ढकालसँग भयो। त्यसपछि हजुरबुवाले कर्तव्यबोध महसुस गर्न थाल्नुभयो। विवाहको केही वर्षपछि २००६ सालमा पहिलो सन्तानका रूपमा जेठी छोरी मैँया पुडासैनीको जन्म भयो। त्यसैगरी २०१० सालमा जेठा छोरा हरिप्रसाद पुडासैनी, २०१२ सालमा माहिला छोरा विश्वनाथ पुडासैनी, २०१४ सालमा साहिँला छोरा कृष्णप्रसाद पुडासैनी, २०१६ सालमा काहिँला छोरा रामजीप्रसाद पुडासैनी, २०१८ सालमा ठाइँला छोरा धूर्वप्रसाद पुडासैनी, २०२२ सालमा कान्छी छोरी मैँया पुडासैनी, २०२७ सालमा ठूलो कान्छो छोरा प्रकाश पुडासैनी र २०३१ सालमा कान्छा छोरा साधुराम पुडासैनीको जन्म भयो।
नौ सन्तानका पिता हुनुभएको मेरा हजुरबुवाको झन्डै आधा जीवन आफ्ना सन्तानलाई हुर्काई-बढाईमा बित्यो। हजुरबुवाले आफ्ना सबै सन्तानको उचित पालनपोषणका साथै कसैलाई कुनै कुराबाट बञ्चित हुन दिनु भएन। शिक्षाको महत्व राम्रोसँगग बुझ्नुभएको मेरा हजुरबुवाले अरू कुरामा समझौता गरेर भए पनि आफ्ना सबै सन्तानलाई राम्रो भन्दा राम्रो शिक्षा दिलाउन अघि बढ्नु भयो।
जेठा छोरा हरिप्रसादलाई सानो उमेरमै देशको राजधानी सहर काठमाडौँको शान्तिनिकुञ्ज स्कुलमा अध्यापन समेत गराउनु भयो। आफ्ना छोरा-छोरी लगायत गाउँका कुनै बालबालिकालाई प्रारम्भिक शिक्षाबाट बञ्चित हुन नदिन मेरा हजुरबुवाले गाउँका अरू जागरूक व्यक्ति र आफ्ना भाइवन्धुको सहयोग र सहकारिताबाट आफूलाई अक्ष्यराम्भ गराउने पहिलो गुरू आफ्नै हजुरबुवा लक्ष्मीविलास पुडासैनीको नामबाट लक्ष्मेश्वरी प्रा.वि नामको स्कुल स्थापनामा पनि योगदान पुर्याउनुभयो। हाल उक्त स्कुल नुवाकोट जिल्लाकै उत्कृष्ट स्कुल बनेको छ।
आफ्नो प्रारम्भिक जीवन खेतीपातीमै बिते पनि मेरा हजुरबुवा युवा अवस्थामा राजनीतितिर लागेर लामो समय वडा अधयक्षको भूमिकामा रही आफ्नो गाउँ र जनताको हित र सेवामा जुट्नुभयो। हरेकको जीवन सुख र दु:खको सम्मिश्रण भएकाले हजुरबुवाको जीवनमा पनि अघि बढ्ने क्रममा निकै दुखद घटना घटेका थिए। पन्ध्र वर्षको कलिलो उमेरमा एकैदिन भाइ तेजप्रसाद पुडासैनी र बुहारी लोहकुमारी पुडासैनीको अकस्मात निधनले उहाँ विक्षिप्त बन्नु भयो। त्यसैगरी सोह्र वर्षको उमेरमा दाजु दिल्लीप्रसाद पुडासैनीको निधनपछि एकपछि अर्को बज्रपात थपिँदै गयो। यी घटनापछि परिवारको सम्पूर्ण जिम्मेवारी उहाँको काँधमा आयो। जस्तोसुकै कठिनाइमा पनि संयमित बनि धैर्यपूर्वक अघि बढ्न भने उहाँले कहिल्यै छाड्नु भएन।
आफ्ना बालबालिकालाई उचित शिक्षा दिनु, समाजसेवामा लागि लाग्नु र आर्थिक आमदानीका लागि खेतीपातीमा लाग्नु नै हजुरबुवाको दिनचर्या बन्न पुग्यो। आफ्ना परिवार एवम् समाजको सुख, समृद्धमा लाग्ने क्रमको बिचमै मिति २०४८ साल भदौमा वहाँकी धर्मपत्नी टिकादेवीको मृत्यु भयो। हजुरआमाको निधनपश्चात केही समय वहाँ नुवाकोटमै रहन थाल्नु भयो। त्यसपछि राजधानी काठमाडौँस्थित स्वयम्भूमा बस्न थाल्नुभयो जहाँ उहाँले २०४० सालमै जग्गा किनी २०४६ सालमा घर बनाउनुभएको थियो।
काठमाडौँमा रहे पनि हजुरबुवाले जन्मघर बिर्सन सक्नुभएन र पटक-पटक नुवाकोट गइरहनुहुन्थ्यो। यसरी कहिले नुवाकोट त कहिले काठमाडौँ बस्दै उहाँको जीवन बित्यो। जीवनको हरेक क्षण काल्पनिकजस्तो लागे पनि जन्म र मृत्यु स्वोतन्त्र रहेछ। मिति २०६७ साल जेठ महिनामा उहाँ स्वर्गारोहण भइ आफ्ना परिवार र गाउँबासीलाई नि:शब्द बनाई संसारिक जीवनबाट विश्राम लिनु भयो।
हजुरबुवाको निधन हुँदा म तीन वर्ष पनि पुगेकी थिइनँ। उहाँको अनुहार र सँगै हुँदाको केही पलको मन्द झलक अझै पनि मेरा मनमस्तिष्कमा सुरक्षित छन्। सधैँ आफ्नो जनैमा दराजको साँचो झुन्ड्याउने हजुरबुवाले जहिले भेट्दा पनि मलाई दराजबाट काजु, बदाम दिने गरेको पल अझै पनि याद छ। हजुरबुवा आज मसँग हुनुभएको भए कति कुरा सिक्ने मौका पाउने थिएँ होला। उहाँ हामीसामु नभएता पनि उहाँले सिकाउनुभएको असल काम, देखाउनुभएको असल बाटो, निडरता, अनुशासन र जस्तोसुकै परिस्थितिमा पनि हिम्मत हार्नु हुन्न भन्ने ज्ञान सधैँ हामी माझ छ।
हजुरबुबा, हजुर जहाँ भए पनि मलाई निरन्तर आशीर्वाद र हरेक काममा साथ दिई रहनुभएको छ भन्ने कुरा मलाई थाहा छ। मेरो हजुरबुवा पुडासैनी परिवारकै गौरव र मेरो प्रेरणाको श्रोत हुनुहुन्छ।