सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
पुस्तक समीक्षा:
‘डस्टर उड्यो’ कथा फागुन महिनामा मैले पढेको कथा हो। यो कथाको लेखक कार्तिकेय हुन्। यस कथामा मध्याह्नको समयमा कक्षा चारका विद्यार्थीहरू कक्षाकोठामा हाहाहुहु गर्दै थिए।
ट्वाङट्वाङ घन्टी लागेपछि कृष्ण गुरू आउनुभयो। ‘शुभ दिन गुरू’ भनेर सबै विद्यार्थी एकै साथ उभिए। 'ल ल! बस' भनेर गुरूले कालोपाटीमा लेख्न थाल्नुभयो। तर विद्यार्थीहरू फेरि हल्ला गर्न थाले। विद्यार्थीहरूले हल्ला गरेको देखेर गुरूलाई दिक्क लाग्यो। त्यसैले गुरूले कालोपाटीमा प्रश्न दिनुभयो र गएर कुर्सीमा बस्नुभयो।
चक र डस्टरलाई उहाँले टेबुलमाथि राख्नुभयो। बिस्तारै डस्टर उड्न थाल्यो। त्यहाँ त अचम्मको दृश्य देखिन थाल्यो। गुरूले ध्यान दिएर त्यो दृश्य हेरिरहनुभयो। बिस्तारै डस्टर उड्दै कक्षाको सबैभन्दा बढी हल्ला गर्ने छात्रा राधाकहाँ पुग्यो। डस्टरले पुलुक्क राधालाई हेर्यो र उसको गालामा चड्याम्म हिर्कायो। राधा झसङ भइन् र हतारहतार गुरूले कक्षामा दिनुभएको कार्य गर्न थालिन्। यो दृश्य देखेर गुरूलाई अचम्म लाग्यो।
डस्टर फेरी उड्दै गएर कक्षाको सबैभन्दा बढी हल्ला गर्ने छात्र रामकहाँ पुग्यो। रामको गालामा पनि चड्याम्म हिर्कायो। राम आत्तिएर हतारहतार गुरूले दिनुभएको कार्य गर्न थाले। यसरी डस्टरले कक्षाकोठामा बढी हल्ला गर्ने छात्रा छात्रलाई गालामा हिर्काए पछि कक्षाकोठा शान्त भयो।
गुरूले ध्यान दिएर अब डस्टर कहाँ जाँदो रहेछ भनेर हेरिरहनुभयो। त्यो डस्टर त उड्दै गुरूकहाँ आएर रोकियो। गुरू चिच्याउँदै कराउनुभयो, 'डस्टर भाइ! मलाई नपिट्नुस्। म अबदेखि कक्षाकोठामा निदाउँदिन।'
गुरू झल्याँस्स ब्युँझिनु भयो। सबै विद्यार्थी हाँस्न थाले। गुरू चक र डस्टर लिएर कार्यालयतिर लाग्नुभयो। विद्यार्थीहरू पढ्न थाले। यो कथा पढ्दा मलाई धेरै रमाइलो लाग्यो।
(उज्ज्वल ढकाल डियरवाक सिफल स्कुलमा कक्षा २ मा अध्ययनरत छन्।)