सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
मेरो सातौं लेख प्रकाशन भएको पनि झन्डै एक वर्ष भएछ। सेतोपाटिमा प्रकाशन भएका अरू दाइ-दिदी, साथी र भाइबहिनीहरूको लेख भने समय मिलाएर पढ्ने गर्थे। बालबालिकाले पनि निकै राम्रा लेख लेख्न सक्दा रहेछौं। सेतोपाटीले लेख प्रकाशन गरेर हामीलाई लेख्न प्रेरित गरेकोमा हामी सबै बालबालिकाको तर्फबाट धन्यवाद दिन चाहन्छु।
मैले कक्षा सातको परीक्षा पनि सकेँ। परीक्षाफल पनि आयो। कक्षा आठको पढाई पनि सुरू भयो। यो वर्ष मेरो पढाई त्यति राम्रो हुन सकेन। जति माथिल्लो कक्षामा गयो पढाईमा धेरै मिहिनेत गर्नु पर्ने रहेछ। यो वर्ष म अझै धेरै मिहिनेत गर्नेछु। अहिले वर्षाको समय छ। बढी पहिरोको जोखिम बढिरहेको छ। काठमाडौँमा हैजाको जोखिम पनि बढिरहेको छ। यो सयममा हामी सुरक्षित हुनुपर्छ। विशेष गरेर खानेकुरामा ध्यान दिनुपर्छ। मैले त बाहिरको खानेकुरा खान छोडेको छु। म सबैलाई आफ्नो स्वास्थ्यमा ध्यान दिन अनुरोध गर्छु।
मलाई पनि लेख्ने मन त लागिरहन्थ्यो तर समय मिलाउन सकिरहेको थिइन। मेरो लेख पढ्ने सबैले अर्को लेख कहिले आउछ भनेर सोध्नु हुन्थ्यो। कुन विषयमा लेख्ने भन्ने सोच्दै थिएँ। मैले अघिल्लो लेखमा राइट दाजुभाईले कसरी हवाइजहाज आविष्कार गरे भन्ने लेखेको थिए। मलाई मानिसले कसरी नयाँ कुरा आविष्कार गर्छन् होला भन्ने लागिरहन्थ्यो। घरमा बाबा-मामुसँग कुरा गर्दा थाहा भयो यो त मानिसको दिमाग (मस्तिष्क) को करणले रहेछ। मलाई पनि मानिसको मस्तिष्क बारे जान्न मन लाग्यो। मैले मस्तिष्कको बारेमा अध्ययन गरे र यो लेखमा मैले बुझेअनुसारको मानिसको मस्तिष्क बारे लेख्दैछु।
मानिसको मस्तिष्कको बारेमा बुझ्न निकै कठिन रहेछ। वैज्ञानिकहरूले मानिसको मस्तिष्क बारेमा निरन्तर अध्ययन गरिरहेका रहेछन्। अझै धेरै कुरा जान्न बाँकी नै रहेछ। मैले धेरै त बुझेकी छैन। पछि पढ्दै गएपछि बुझिन्छ होला। मलाई मेरो बाबाले मस्तिष्कको बारेमा बुझ्न सहयोग गर्नुभयो । इन्टरनेटको करण पढ्ने सामग्री संकलन गर्न सजिलो भयो।
****
हामी एकपल्ट देखेको कुरा कसरी सम्झिन्छौ होला? नयाँ-नयाँ कुराको बारेमा कसरी सोच्छौं होला? अरूले बोलेको कुरा कसरी बुझ्छौ होला? राम्रो-नराम्रो कसरी थाहा पाउछौ होला? आगोमा हात पर्दा हात किन आफैं बाहिर निस्किन्छ? हामी किन खुसी वा दु:खी हुन्छौ? अमिलो खाने कुरा देख्यो भने किन मुख रसाउँछ? हाम्रो आँखा किन आफैं झिम्कन्छ? हामी सपना किन देख्छौं? हामी निदाएको बेलामा पनि कसरी सास फेर्छौं होला?
यस्ता धेरै कुराहरू छन् जसले हाम्रो शरीरको बारेमा जान्न मलाई उत्सुक बनायो। हाम्रो शरीर पनि अचम्मको हुँदो रहेछ। यी सबै काम मानिसको मस्तिष्कले गर्दो रहेछ। मस्तिष्क हाम्रो शरीरमा भएका ११ वटा प्रणालीमध्ये स्नायु प्रणालीमा पर्छ। हाम्रो शरीरका ११ वटा प्रणालीहरू हुन्:
१) अस्थिपंजर प्रणाली (Skeletal system)
२) मांसपेशी प्रणाली (Muscular system)
३) रक्तसंचार प्रणाली (Circulatory system)
४) श्वासप्रश्वास प्रणाली (Respiratory system)
५) पाचन प्रणाली (Digestive system)
६) मुत्र प्रणाली (Urinary system)
७) ग्रन्थी प्रणाली (Endocrine system)
८) स्नायु प्रणाली (Nervous system)
९) चर्म प्रणाली (Integumentary system)
१०) प्रजनन प्रणाली (Reproductive system)
११) प्रतिरक्षा प्रणाली (Immune system)
यीमध्ये आज म स्नायु प्रणाली बारे लेख्दै छु। स्नायु प्रणालीको सबैभन्दा महत्वपूर्ण भाग मस्तिष्क हो। मस्तिष्कलाई हाम्रो शरीरको मालिक भनिन्छ। यसले हाम्रा सबै काम, व्यवहार र सोचाईको सञ्चालन र नियन्त्रण गर्छ। हामी निदाएको बेला पनि मस्तिष्कले हाम्रो शरीरलाई चलाउने आवश्यक काम गर्दो रहेछ। त्यसैले हामी निदाएको बेला पनि सास फेर्ने र मुटु चलिरहने हुन्छ। निदाएकै बेला कोल्टे फर्कने, सपना देख्ने, गर्मी वा जाडो महसुस गर्ने जस्ता काम पनि मस्तिष्कको करण नै हुँदो रहेछ।
ओखर जस्तो आकारको हाम्रो मस्तिष्कमा ८६ अर्बभन्दा धेरै स्नायुकोषिका हुँदा रहेछन्। ती स्नायुकोषिकाले नै हाम्रो वरिपरिबाट सूचना संकलन गर्ने, ती सूचनाको विश्लेषण गरी शरीरका विभिन्न अंगलाई आवश्यक आदेश दिने र शरीरले गर्ने काममा नियन्त्रण गर्ने गर्छ।
मस्तिष्क स्नायुकोषिकाको मध्यमबाट शरीरको सबै भागमा बिजुलीको तार जस्तै जोडिएको हुँदो रहेछ। ती तारमार्फत नै मस्तिष्कले सूचना लिने र त्यसको आधारमा शरीरको अंगलाई आवश्यक निर्देशन दिँदो रहेछ।
जस्तै, हाम्रो हातले कुनै तातो वस्तु छोयो भने त्यसको सूचना स्नायुकोषिकामार्फत मस्तिष्कमा पुग्छ। मस्तिष्कले त्यो तातो वस्तु हो, यसले शरीरलाई हानी गर्छ भन्ने थाहा पाएपछि हातलाई तुरून्त त्यहाँबाट हटाउन निर्देशन दिन्छ र हामीले हात हटाउँछौ। यो यति चाँडो हुँदो रहेछ कि महसुस गर्न पनि भ्याउदैनौं।
हामी निदाएको बेलामा पनि शरीरका विभिन्न अंगले काम गरिरहेका हुन्छन्। हामीले सास फेरिरहेका हुन्छौ। हाम्रो पाचन प्रणालीले काम गरिरहेको हुन्छ। मुटुले पनि काम गरिरहेको हुन्छ। निदाएको बेला लामखुट्टेले टोक्यो भने हामी थाहै नपाई हातले धपाउँछौ वा अर्कोतिर फर्कन्छौं। यो सबै काम थाहै नपाई मस्तिष्कको आदेशमा हाम्रो शरीरका अंगहरूले गर्दा रहेछन्।
यस्तो अचम्मको क्षमता भएको हाम्रो मस्तिष्कको पाँचवटा मुख्य भाग हुन्छ:
१. सेरेब्रम (Cerebrum)
२. सेरेवेलम (Cerebellum)
३. मस्तिष्क स्टेम (Brain Stem)
४. पिट्युटरी (Pituitary)
५. हाईपोथालेमस (Hypothalamus)
यिनीहरू सबैको भिन्ना-भिन्नै काम हुँदो रहेछ। तर सबैको काम उत्तिकै महत्वपूर्ण हुन्छ। यिनीहरू बीचमा पनि राम्रो सम्बन्ध हुँदो रहेछ। एउटाले अर्कोलाई सहयोग गर्ने र सबै मिलेर हाम्रो शरीर संचालन गर्ने र सुरक्षित राख्ने गर्छन्।
सेरेब्रम: यो मस्तिष्कको सबैभन्दा ठूला भाग हो। यसलाई मस्तिष्कको सोच्ने, विश्लेषण गर्ने र सूचना संग्रह गर्ने भाग पनि भनिन्छ। यसले हाम्रो हात, खुट्टा, आँखाको नियन्त्रण गर्दो रहेछ। यसैको कारण हामी नाच्ने, खेल्ने र हिँड्ने जस्ता कार्यहरू गर्दा रहेछौं। हामीलाई गणित, विज्ञान लगायतका विषय पढ्न, लेख्न र समस्या समाधन गर्न सेरेब्रम आवश्यक हुन्छ। यसमा हाम्रो स्मरण छोटो र लामो समयको लागि बसेको हुन्छ। यसैको कारण हामी सानो हुँदा गरेका काम सम्झन्छौं। कक्षामा पढेको सम्झेर परीक्षामा उत्तर लेख्छौं। साथीहरूसँग गरेको कुराकानी सम्झन्छौं। बाबा-मामुले पसलमा किन्न पठाएको समान नबिर्सी किनेर ल्याउछौं।
सेरेवेलम: यो हाम्रो मस्तिष्कको अर्को महत्वपूर्ण भाग हो। आकारमा सानो भएता पनि यसले हाम्रो शरीरका विभिन्न अंगलाई मिलाएर चलाउँछ। हामीले लेख्दा, खेल्दा वा पढ्दा हाम्रा हात, खुट्टा, आँखा र शरीरका अन्य भाग मिलाएर सेरेवेलमले सञ्चालन गर्छ। हामीले परीक्षामा उत्तर लेख्दा सोच्ने, पढेको सम्झिने र त्यही अनुसार हातले लेख्ने काम सेरेवेलमले मिलाउछ। हामी उभिँदा वा हिँड्दा शरीरको सन्तुलन मिलाएर लड्न नदिने काम पनि सेरेवेलमको हो।
मस्तिष्क स्टेम: मस्तिष्क स्टेम सेरेब्रमको तल र सेरेवेलमको अगाडि रहेको हुन्छ। यो आकारमा सानो भएता पनि निकै महत्वपूर्ण भाग हो। यसले मस्तिष्कका अन्य भागलाई मेरूदण्डसँग जोड्छ। यसले हामीलाई जीवित रहन आवश्यक काम जस्तै सास फेर्ने, खाना पचाउने, रक्त संचार गर्ने जस्ता काम गर्छ। मस्तिष्कमा प्राप्त हुने लाखौं सूचनालाई यसले छान्ने र शरीरका विभिन्न भागमा पुर्याउने काम पनि गर्छ।
पिट्युटरी: यो ग्रन्थी आकारमा केराउको दाना जत्रो मात्र हुन्छ। यसको मुख्य काम शरीरको विकासको लागि हर्मोन उत्पादन गर्नु हो। हामीलाई पोहोर किनेको लुगा यसपाली सानो हुन्छ। हामी पाँच कक्षामा पढ्दाभन्दा अहिले कसरी अग्ला र ठूला भयौ? यो सबै पिट्युटरी ग्रन्थीबाट निस्किएको हर्मोनले हो। यसबाट निस्केको हर्मोनले हाम्रो शरीरको उचाई वृद्धि गर्ने र विभिन्न अंगको विकास गर्छ। केटा र केटीको किशोर अवस्थामा हुने शारीरिक परिवर्तन पनि यो ग्रन्थिको कारण हो। कोही होचो, कोही अग्लो हुने पनि यो ग्रन्थिबाट उत्पादन हुने हर्मोनको मात्राको कारणले हो।
हाईपोथालेमस: हामीलाई पसिना किन आउँछ होला? जाडोमा किन काम्छौँ? यो सबै हाइपोथालेमसले गर्दा हो। यसले हाम्रो शरीरको तापमानलाई नियन्त्रण गर्छ। हाम्रो शरीरको सामान्य तापक्रम ३७ डिग्री सेल्सियस हो। यदी शरीरको तापक्रम त्योभन्दा बढी भयो भने हाइपोथालेमसले पसिना निकाल्ने आदेश दिन्छ। जसको कारण हाम्रो शरीरको तापक्रम सामान्य अवस्थामा आउँछ। त्यस्तै, शरीरको तापक्रम ३७ डिग्री सेल्सियभन्दा कम भयो भने हाइपोथालेमसले शरीरका विभिन्न अंगलाई काम्ने आदेश दिन्छ। जसबाट शरीरमा ताप उत्पन्न हुन्छ र हामीलाई जाडो कम भएको महसुस हुन्छ। हाम्रो शरीरलाई स्वास्थ्य राख्न यसको तापक्रम सामान्य रहनु आवश्यक हुन्छ।
मस्तिष्कलाई यी सबै काम गर्न धेरै स्नायुहरू आवश्यक हुन्छ। मस्तिष्क र शरीरका विभिन्न अंगमा सूचना अदनप्रदान गर्ने काम स्नायु प्रणालीले गर्छ। स्नायुप्रणाली लाखौं सुक्ष्म कोषिका मिलेर बनेको हुन्छ। हामीले जब कुनै कुरा सिक्छौं वा गर्छौ त्यसको सूचना एउटा स्नायु कोषिकाबाट अर्कोमा पुग्छ। यसरी बारम्बार सूचना आदानप्रदान गर्दा मस्तिष्कले स्नायु कोषिकामा एउटा बाटो बनाउँछ र हामीलाई त्यो काम गर्न सजिलो महसुस हुन्छ।
हामीलाई कुनै चित्र बनाउँदा सुरूमा किन अप्ठ्यारो लाग्छ? तर अभ्यास गर्दै गएपछि किन सजिलो हुन्छ? यो सबै हाम्रो मस्तिष्कले गर्दा हो। कुनै पनि काम अभ्यास गर्दै गएपछि मस्तिष्कले त्यही अनुसार शरीरका अंगलाई निर्देशन दिन्छ र हामीलाई काम गर्न सजिलो हुन्छ।
हामी किन कुनै कुरामा खुसी हुन्छौं भने कुनै कुरामा दु:खी? मलाई मेरो जन्मदिनको दिन असाध्यै खुशी लाग्छ। विद्यालय जाँदा, साथीहरूसँग कुरा गर्दा, खेल्दा पनि खुसी लाग्छ। कक्षामा नयाँ विषय पढ्दा चाख लाग्छ। परीक्षाको बेला अलिअलि डर लाग्छ। जाडोको बेला बिहानै उठ्नु पर्दा रिस उठ्छ। यो सबै मस्तिष्कमा भएको एउटा सानो भाग एमिग्डाला (amygdala) को कारणले हो।
मलाई मस्तिष्कको कामको बारेमा जान्दा रमाइलो र अचम्म लाग्यो। मस्तिष्कको बारेमा वैज्ञानिकहरूले निरन्तर अध्ययन गरिरहेका छन्। तर पनि यसको बारेमा बुझ्न अझै धेरै बाँकी रहेछ। यस्तो महत्वपूर्ण शरीरको अंग मस्तिष्कलाई स्वस्थ राख्न हामीले भिटामिन र खनिजयुक्त खाना खाने, खेल्ने, शारीरिक कसरत गर्ने र दिमागलाई चुनौतीपूर्ण क्रियाकलापमा लगाउनु पर्छ। यसबाट हाम्रो मस्तिष्क सधै स्वस्थ र सक्रिय रहन्छ।
(अभिप्षा पोख्रेल फ्यूचर स्टार्स हाई स्कुल, जावलाखेलमा कक्षा ८ मा अध्ययनरत छिन्।)