भूतपूर्व गोर्खाको समान पेन्सनसम्बन्धि मुद्दामा आगामी सोमबार (नोभेम्बर २२) का दिन बेलायती संसदमा बहस हुने भएको छ।
भूपू गोर्खाले बेलायती सैनिकसरह समान पेन्सन पाउनुपर्ने माग राख्दै गोर्खा संगठनले चरणवद्द आन्दोलन गर्दै आइरहेका छन्।
भूपू गोर्खाले समान पेन्सन पाउनुपर्ने माग राख्दै शुरु गरिएको अनलाईन हस्ताक्षर (पेटिसन) मा १ लाख भन्दा बढीले हस्ताक्षर गरेपछि यो विषयले बेलायतको संसदमा औपचारिक छलफलको प्रवेश पाएको हो।
गत जुलाईमा रोय बिङ्कलेले गोरखालाई ब्रिटिश समकक्षीसरह पेन्सन दिन माग गर्दै अनलाइन हस्ताक्षर संकलन अभियान शुरु गरेका थिए ।
बेलायतको कानुनअनुसार कुनै विषयको माग राख्दै १ लाख भन्दा बढी हस्ताक्षर संकलन भएमा उपरोक्त विषयलाई सरकारले संसदमा बहस गर्नुपर्ने प्रावधान छ।
सन् १९९७ अघि अवकाशप्राप्त गोर्खालाई भेदभावरहित व्यवहार गर्न र ब्रिटिस भेट्रान्ससरह पेन्सन दिन माग गर्दै एक जना गोर्खा शुभेच्छुक बेलायती रोय ब्रिंक्लीले अगष्ट पहिलो साता पिटिसन सुरु गरेका थिए।
यसअघि गोर्खाहरू समान पेन्सनको माग राख्दै भोक हड्तालमा उत्रिएका थिए। गोर्खा सत्याग्रह समितिको तर्फबाट आमरण अनसन गर्दै भोक हड्तालमा रहेका भूतपूर्व गोर्खा बेलायतले वार्तामार्फत समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपछि १३ औं दिनमा अनशन तोडेका थिए ।
गोर्खा सत्याग्रह संघर्ष समितिका अभियन्ता ज्ञानराज राई, धन गुरुङ र पुष्पा राणा घलेले उक्त अनसनपछि गोर्खाका मागबारे आगामी डिसेम्बरमा नेपाल सरकारसँग वार्ता गर्न बेलायत सरकार सहमत भएको थियो ।
गोर्खा सत्याग्रह समितिका संयोजक ज्ञानराज राईले सेतोपाटीसँगको प्रतिक्रियामा संसद प्रवेशको विषय स्वागतयोग्य रहे पनि विस्तृत अध्ययन अनुसन्धान बिनाको आकस्मिक छलफलले के कस्तो प्रतिफल दिने हो भन्ने बारेमा चिन्ता व्यक्त गरे। ‘यो विषयले संसदीय समितिमार्फतको वृहत अध्ययन तथा छलफल पश्चातको बेलायती संसद प्रवेश थप प्रभावकारी बन्न सक्छ भन्ने हाम्रो मान्यता हो’, राईले भने ।