नेपाली क्रिकेट टिमका क्याप्टेन पारस खड्काले आगामी जुलाई २९ तारिख अर्थात साउन १३ गते लन्डनको लर्ड्स क्रिकेट ग्राउण्डमा हुने नेपाल-नेदरल्याण्ड र एमसीसीबीचको 'टी २०' खेलमा उपस्थित भएर आफूहरु हौसला बढाउन आव्हान् गरेका छन्।
बुधबार लन्डनमा आफ्नै टिमका सहकर्मी सन्दिप लामिछानेसहित क्रिकेटप्रेमीबीच अन्तरंगीत बन्दै क्याप्टेन खड्काले बिषेशतः बेलायत स्थित नेपाली समुदायलाई लक्षित गर्दै यस्तो आव्हान गरेका हुन्।
कार्यक्रममा सहभागीका जिज्ञासाको जवाफ दिँदै आफूहरुको ध्यान अबको लर्ड्स म्याचमा केन्द्रित भएको भन्दै क्याप्टेन खड्काले क्रिकेटप्रेमी नेपालीको उपस्थितीमा जोड दिए। ‘यो नेपालको झण्डा उचालेर लर्ड्स जस्तो ख्यातीप्राप्त भेन्यूमा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउने सूवर्ण अवसर हो, क्रिकेट जगतलाई नेपाल चिनाउने दिन हो’, क्याप्टेन खड्काले भने, ‘त्यसैले त्यो दिन तपाईहरू सबै उपस्थित भएर लर्ड्स क्रिकेट मैदान लाई नेपालमय बनाउँ।’
साथै उनले नेपाली क्रिकेट फ्यानलाई रातो र निलो रङमा नेपालको राष्ट्रिय झण्डा जोडिने पहिरनमा सजिनसमेत अनुरोध गरे ।
नेपाली क्रिकेटको विकास र सम्भावनाबारे बोल्दै उनले ओडीआई स्टाटस नेपालले पाउनु एउटा ठूलो फड्को भएको समेत बताए। ‘यो नेपालले प्राप्त गर्न सकेको सबैभन्दा उपलब्धिमुलक स्टाटस हो’, खड्काले भने, ‘अबको लक्ष्य टेस्ट म्याच खेल्ने नै हो र हामी त्यो तहमा पुग्नेमा पूर्ण आत्मविश्वास राखेका छौ।’
सरकारी र आधिकारिक तहबाट क्रिकेटको विकासको लागि धेरै गर्न बाँकी रहेको भन्दै क्याप्टेन खड्काले यसमा आफूहरू आशावादी रहेको बताए। अपुरो सरकारी प्रतिबद्धताबारेको प्रश्नमा उनले देशको राजनीतिक स्थायित्व महत्वपूर्ण हुने भन्दै प्रधानमन्त्री तथा वर्तमान सरकार क्रिकेटको विकासमा सकारात्मक रहेको समेत बताए। ‘आश्वाशन र प्रतिवद्धताहरु त विगतमा पनि धेरै भए अब कार्यान्वयनमा कति जान्छ हेर्नुपर्छ’, उनले भने।
शुरूमा सन्दिप लामिछानेसहित कार्यक्रममा उपस्थित भएका क्याप्टेन खड्काले सन्दिपको सफलतामा खुसी व्यक्त गरे। ‘सन्दिपले आईपिएल मा पाएको अवसर र देखाएको क्षमताले समग्र नेपाली क्रिकेटको भविष्य उज्वल देखिएको छ’, खड्काले भने।
पारससँगै कार्यक्रममा आइपुगेका लामिछाने आफ्नो आइपिएल खेल्दाको अनुभूती साटेका थिए। खेलाडीद्वयले देश विदेशका नेपालीले नेपाली क्रिकेटप्रति देखाएको मायामा प्रसन्नता तथा आभार व्यक्त गरेका थिए।
लन्डन ह्यारोको माया पवमा आयोजित भेटघाट कार्यक्रमको संयोजन नेपाली खेल प्रवर्धनका अभियन्ताहरू प्रशान्त कुँवर र सिद्धार्थ विक्रम क्षेत्रीले गरेका हुन्।
कार्यक्रममा एनआरएन तथा अन्य संघ संस्थाका पदाधिकारी एबं क्रिकेटप्रेमी नेपालीहरुले खेलाडीद्वयलाई स्वागत तथा सम्मान गरेका थिए।
खड्का नेपाली क्रिकेट प्रवर्धन र विकासका अवसर पहिल्याउन भन्दै लन्डन आईपुगेका हुन्। उनले एमसीसीलगायत क्रिकेट सम्वद्ध अधिकारीसँग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको बताए।
आईपिएल प्रदर्शनी पछि चम्किएका लामिछाने भने वेस्ट इन्डिजसँगको मैत्रीपूर्ण खेलका लागि विश्व एघारको प्रतिनिधित्व गर्न आएका हुन्। उनले बिहिबार टी ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यू गरेका छन्। उनले एक ओभर बलिङ गर्दै १२ रन खर्चिए भने ब्याटिङ तर्फ ४ रन जोडेका थिए।