धनकुटा हिलेका आकाश उर्फ मेषबहादुर घिमिरे दुबई पुगेको ७ वर्ष भयो। त्यसअघि कतार बसेका थिए, तीन वर्ष।
डोजर चलाउन कतार पुगेका उनलाई म्यानपावरले ठगेछ। सामान्य मजदुरीमा काम गर्नुप¥यो। कतारमा डोजर चलाएर टन्न पैसा कमाएको सपना बोकेर गएका आकाशले लिएको डोजरको लाइसेन्स सुम्सुम्याउन मात्र काममा आउँथ्यो। पर्सको एक कुनामा राखेको लाइसेन्सले बेला–बेला झस्का दिन्थ्यो।
कतारको भिसा सकियो। जुगाड गरेको केही रकमले नेपालमै केही गर्ने खेस्रा योजना बुनेर फर्किए। अनिश्चितताले देशमा पनि केही गर्ने मेसो पाएनन्।
दुबई बस्ने केही साथीहरुले सुझाव दिए, ‘गाडी चलाउन जान्ने भएर आउनु, त्यसमा पैसा छ।’
गाडी चलाउन जानेकै थिए। डोजरको लाइसेन्स छँदै थियो, त्यसमा गाडीको पनि ‘टिक’ लगाए। र, त्यही कामका लागि दुबई उडे। समुद्र घुम्न आउने पर्यटकहरुको गाडी पार्किङ गरिदिने काम पाए।
पार्किङक्षेत्रको आडैमा पानीजहाज चलाउन सिकाउने तालिम केन्द्रको बोर्ड जतिखेरै देख्थे आकाश। तर, लामो समयसम्म आँखामा मात्र सीमित भयो त्यो बोर्ड। एकदिन झिलिक्क सोच आयो, हामी पनि पानी जहाज चलाउन सक्छौं होला नि हैन? सडकमा कुदाउने मान्छेले पानीमा पनि कुदाउन सक्ला नि?
बुझ्न गए। काम गरिरहेकाहरुका लागि तीन वर्ष लामो कोर्स रहेछ। तर, उनले ६ महिनामै सकाइदिए।
कसरी?
‘म जम्मा चार घण्टा सुत्थेँ,’ पानीजहाज चलाउँदै आफ्नो कथा सुनाइरहेका आकाशले भने, ‘बेलुका ६ बजेदेखि बिहान तीन बजेसम्म काम गर्थें। साढे तीन बजे सुतेर साढे सात बजे उठेर आठ बजे पढ्न पुग्थेँ। आठदेखि ६ बजेसम्म जहाज पाइलटिङ पढ्थेँ।’
त्यही मेहनतले बनेका हुन्, आकाश। जसले पाइलटिङका लागि करिब १० लाख रुपैयाँ राति काम गरेर तिरे। जो अहिले पानी जहाजको पाइलट मात्र होइनन्, आफूले चलाइरहेको जहाजको हिस्सेदारसमेत हुन्।
आकाश अहिलेका मात्र मेहनती होइनन्। सानोमा बाबु गुमाएपछि घरको आर्थिक अवस्था खस्क्यो। एक्ली आमाले उनलाई जसोतसो पढाइरहेकी थिइन्। दुःखको बेला रामदेव महतो सहयोगी बनेर आए। फिनल्याण्डको सहयोगमा खुलेको ‘युकोला’ नामक संस्थाले आकाशलाई एसएसलीसम्म निःशुल्क पढाइदियो। जहाँ महतोले ल्याइपु¥याएका थिए।
एसएसलसीपछि आकाशलाई डोजर चलाउन मन लाग्यो। तालिम लिएर डोजर चालक बने। र, १० वर्षअघि त्यही सिलसिलामा उनी कतार पुगेका हुन्। विदेश गएर डोजर चलाउने उनको धोको थियो। तर, भइदियो अर्कै।
`जीवन सोचेजस्तो नहुँदो रहेछ,’ उनी भन्छन्, ‘यदि कतारमा मैले डोजर चलाउन पाएको भए अहिलेसम्म त्यसमै रमाएर बस्थेँ हुँला। सोचेभन्दा अर्को काम भएकैले म नेपाल फर्किएँ र दुबईसम्म डोहोरिएँ।’
जहाँ उनी पानीजहाजको पाइलट बने। अहिलेलाई हिस्सेदार रहेका उनी त्यो जहाज पुरै निखन्न चाहन्छन्।
युएईको समुद्र हुँदै ओमन, कतार, बहराइनलगायत देशका समुद्रमा उनको जहाज तैरिँदै हिँड्छ।
आकाश आफ्नो कामदेखि सन्तुष्ट छन्। नेपालबाट आएकाहरुलाई जहाजमा घुमाउन पाउँदा साह्रै खुसी लाग्ने गरेको सुनाउँछन्। संयोगले, नेपालका उच्च तहका व्यक्तिहरु दुबई पुगेका बेला समुद्र घुम्दा उनकै जहाज चढ्न पुग्ने रहेछन्। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई घुमाउँदाको क्षण उनले कहिल्यै बिर्संदैनन् रे। केही समयअघि मात्र युएई पुगेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि उनैले समुद्र सयरको संयोजन गरेका थिए। यो क्षण पनि उनी कहिल्यै नभुल्ने बताउँछन्।
सडकमा गुड्न मज्जा कि पानीमा तैरिन?
‘दुवैमा,’ उनी भन्छन्, ‘दुवैमा चुनौति छ। दुवैमा मजा पनि। तर, पानीको संसार धेरै नेपालीहरुका लागि बेग्लै संसार हो। नेपालीहरुलाई आफूसँगै राखेर घुमाउन पाउँदा साह्रै आनन्द आउँछ।’
तै पनि उनी पानी जहाजलाई अलि विशेष ठान्छन्।
आकाशको अबको सपना हावाको संसारमा सयर गर्नेछ। उनी हवाईजहाज उडाउन चाहन्छन्।
‘जमिनमा गुडाएँ, पानीमा तैरिएँ, अब आकाशमा उडाउन चाहन्छु,’ उनी भन्छन्, ‘विदेशमा हैन, आफ्नै देशको आकाशमा उडाउन चाहन्छु। नेपालमा आमा हुनुहुन्छ। म उहाँलाई जहाज उडाएको देखाउन चाहन्छु।’