५ महिनाअघि झापाकी आस्मिया (नाम परिर्वतन)सहित चार युवती भारत हुँदै दुबई आइपुगे।
उनीहरूलाई दुबईमा राम्रो काम मिलाइदिने भन्दै झापा दकमका डम्बरे भन्नेले दिल्लीसम्म ल्याएका थिए।
दिल्लीबाट अर्कै एकजनाले उनीहरूलाई दुबई पुर्यायो। उनीहरू दुबई पुगे तर बस्न पाएनन्। नेपालबाट हिँडेको दुई सातापछि उनीहरू ओमान पुगे।
आस्मिया एक ओमानीको घरमा कामदार बनिन्। ४ महिना जसोतसो त्यही घरमा काम गरेर बसिन्।
त्यसपछि उनले काम गर्न सकिनन्। भागेर नेपाली दूतावास आइपुगिन्।
‘१३ जनाको परिवार थियो, बिहान ५ देखि राति १२ बजेसम्म उनीहरूको सेवा गर्नुपथ्यो, त्यही सेवा पुगेन भन्दै साहुनीले पिट्ने गर्थिन्,’ केहीदिनअघि दूतावासको सेफ हाउसमा सेतोपाटीसँग कुरा गर्दा उनी भक्कानिइन्, ‘घर त जान पाएकी छैन तर आफ्नै घर पुगेजस्तो भएको छ। राजदूत म्याडमले घर जान व्यवस्था मिलाउँदै छौं। पिर नगर्नु भन्नुभएको छ।’
आस्मियालाई आफूसँग आएका बाँकी ३ जना साथी कता गए अत्तोपत्तो छैन।
पहिला दुई वर्ष कुवेतमा काम गरेर फर्किएकी आस्मियालाई अब विदेश आउनुभन्दा बरू नेपालमै ज्याला मजदुरी गरी बस्नु राम्रो भन्ने लागेको छ।
‘मेरोजस्तो अरूको ब्यथा नहोस्, बिदेश आउनेहरूले एकपल्ट सोचौं, विचार गरौं,’ उनले भनिन्,‘म त अब आउँदिनँ बरू नेपालमै ज्याला मजदुरी गरेर बस्छु।’
आस्मिया उदाहरणमात्र हुन्। साहुको पीडा खप्न नसकेर दूतावासको शरणमा पुगेका उनीजस्ता १४ जना महिला अहिले घर जान पाइने दिनको पर्खाइमा छन्।
पछिल्लो एक वर्षमा ओमानस्थित नेपाल दूतावासले ११६ जना महिलाको उद्धार गरी नेपाल पठाएको छ।
दूतावासका अनुसार ओमानमा अहिले १८ हजार नेपाली कामदार छन्। तीमध्ये ५० प्रतिशत बढी महिला छन्। उनीहरू सबै घरेलु कामदार हुन्।
घरेलु कामदारलाई सबैभन्दा ठूलो समस्या भाषा बन्छ।
‘धेरै जना महिला पढेलेखेका हुँदैनन्,अरबी बोल्न नजान्दा झन् समस्या हुन्छ,’ राजदूत शर्मिला पराजुली ढकालले भनिन्, ‘दिदीबहीनी रुँदै कराउँदै आउनुहुन्छ, उनीहरू आउनु पहिले साहुले भागेको भन्दै प्रहरीमा उजुरी गर्छन्, केस अदालतसम्म पुग्छ।’
साहुले कामदार ल्याउन एजेन्टलाई रकम दिएका हुन्छन्, बिचैमा छाड्दा सो रकम फिर्ता माग्छन् नदिए जान मिल्दैन भन्छन्।
सरकारले खाडी मुलुकमा घरेलु कामदारका रूपमा जान महिलालाई प्रतिबन्ध लगाएकाले विभिन्न समस्याहरू आउन थालेका छन्।
‘राज्यले प्रतिबन्ध लगाएपछि बिचौलियामार्फत् ओमान आउने महिलाको सङ्ख्या बढ्न थाल्यो,’ राजदूत ढकालले भनिन्, ‘समस्या परेर आएकाहरू भन्छन्-दुबई भनेर ल्याएको हो तर यहाँ पुर्याइदियो।’
एजेन्टका कारण धेरै महिला समस्या परेकाले उनीहरूलाई घर फर्काउन ओमान सरकार लचिलो भएको उनले बताइन्।
‘हरेक उच्च भेटघाटमा धेरै एजेन्टले महिलालाई दुबई लिन्छु भन्दै ओमान ल्याएकाले विचार गरिदिन पर्यो भन्छु। उहाँहरू पनि लचिलो हुनुहुन्छ,’ राजदूत ढकालले भनिन्।