साउदी गएका १० नेपालीको बिचल्ली, नेपाल फर्काउन अपिल

साउदी गएका १० नेपालीको बिचल्ली, नेपाल फर्काउन अपिल


काठमाडौंको लक्की मेनपावर ओभरसिज मार्फत साउदी गएका १० जना नेपालीको बिचल्ली भएको छ। गत जुलाईमा साउदी स्थित सलमान हसन अल माथु कम्पनीमा कामकोलागी गएका नेपाली समस्यामा परेका हुन्। उनीहरुलाई कम्पनीले ७ महिनायता तलब नदिएको र तलब माग्दा कम्पनीका मानिसहरुले ज्यान पार्ने धम्की दिने गरेको पीडितहरुले बताए।

उनीहरुले साउदीमा जीवन सुरक्षित नभएकोेले जीवन रक्षा गरी नेपाल फिर्ता आउने वातावरण मिलाइदिन अपिल गरेका छन्। वैदेशिक रोजगार पीडितको उद्धारमा काम गर्दै आएको नेपाली साझा मञ्चका अध्यक्ष महेश श्रेष्ठले पिडितहरुसँग गरेको कुराकानीको भिडियो सार्वजनिक भएपछि यो घटना बाहिर आएको हो।

भिडियोमा पीडितले उद्धारको लागि गुहार मागेका छन्। उनीहरुलाई दैनिक १८ घण्टासम्म काममा लगाउने तर तलब नदिने उल्टै साहुले गाली गर्दै पिट्ने र ज्यान मार्ने धम्की दिने गरेको दाङ जिल्ला घर भएका लेख बहादुर बिकले बताए।

नेपालीलाई उद्धार गर्न माग गर्दैै साउदीको रियादस्थित नेपाली दूतावास, नेपाल स्थित बैदेशिक रोजगार बिभाग लगायत मानवअधिकारवादी संघसंस्थालाई मञ्चले अपिल गरेको मञ्चकी उपाध्यक्ष शारदा भुषाल झाले जानकारी दिइन्। सार्वजनिक भएको भिडियोमा नेपाली युवाहरुले आफुँहरुले निकै यातना भोगेको बताएका छन्। ट्वाइलेटको पानी पिएर जीवन धान्नुपरेको दैलेख घर भएका पिडित बम बहादुर बस्नेतले बताए। लामो समय पीडित भएर मेनपावर कम्पनीलाई जानकारी गराउँदा समेत उनीहरुले वास्ता नगरेको र धेरै फोन नगर्न भन्दै गाली गर्ने गरेको उनले बताए।

यसरी यातना पाउनेहरुमा जाजरकोटका जनकबहादुर खत्री, दैलेखका बमबहादुर बस्नेत र मानबहादुर कामी, बाँकेका मानसिंह कामी, दाङका लेखबहादुर विश्वकर्मा, मोरङका गोविन्द ताम्राकार र रुद्र माझी, तेह्रथुमका जितबहादुर जोगी, संखुवासभाका पूर्णबहादुर तामाङ र रुकुमका नविन विष्ट रहेका छन्।

लक्की मेनपावर ओभरसिज कम्पनीका निर्देशक ऋषि शर्माले भने साउदी स्थित नेपाली दुतावाससँग समन्वय गरेर पीडित युवाहरुलाई नेपाल पर्काउनको लागी मेनपावर प्रबन्ध निर्देशक साउदी गईसकेको जानकारी दिए। उनले गुनासो आएको स्वीकार गर्दै बिचमा इद र रमादान परेकोले केही पहल गर्न नसकिएको बताए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.