नेपालबाट अर्की कविताको चित्कार- ‘’सर मेरा लोग्ने पोर्चुगलमा हराए, खोजिदिनुपर्‍यो’


नेपाल गएर श्रीमानले कागजपत्र लुकाइदिएर अलपत्र परेकी कविता सिटौला बल्लतल्ल न्याय माग्न बेल्जियम आएको साता दिन नबित्दै पोचुर्गलमा बेखबर आफ्ना श्रीमानको खोजी गरिदिन अनुनयविनय गर्दै अर्की कविता खनालले विभिन्न संघसंस्था गुहारेकी छन्।

पाल्पा तानसेन माइत भएकी सुर्खेत वीरेन्द्रनगरकी कविता खनालका श्रीमान् तीर्थ खनाल गएको तीन वर्षदेखि श्रीमतीसँग बेखबर छन्। चार वर्षको छोरा आयूष खनाल मावलीको रेखदेखमा हुर्किएका छन्। उनी तानसेनकै उउटा निजी बोर्डिङमा पढाएर गुजारा गर्छिन्।

सेतोपाटीमा कविता सिटौलाको समाचार छापिएपछि हराएका लोग्ने भेट्छुकि भन्ने आशा रहेको बताउँदै उनले सेतोपाटी ग्लोबलसँग भनिन्, ‘’मेरा लोग्ने खराब हुनुहुन्न। सासू ससुराको कुरा सुनेर बरालिनुभयो। भेट्छु कि भन्ने आशा लागिरहेको छ।’

आफूले समेत ऋण खोजेर नर्वे जाने बेलामा सहयोग गरेको कविताले बताइन्। पोर्चुगल गएर कागज बनाएपछि ‘तेरो बाटो तैँ खोज् भनेर हप्कीदप्की गर्नुभयो। घरमा पनि बस्न नसक्ने वातावरण बनाइयो। सबैले छिछी र दूर्दूर गरे। म कहाँ जाउँ?’’ उनले प्रश्न गरिन्।

उनले एनआरएन पोर्चुगल र नारी समाज पोर्चुगल लगायतका संस्थामा उजुर गरेकी छिन्। नारी समाजकी अध्यक्ष सीता बरालले तीर्थलाई बोलाएर घरको समस्या समाधान गर्नुपर्छ भन्दा ससुराली पक्षले नचाहिने राजनीति गरेर छोरीको घर बिगारेको आरोप लगाए। बरालले सेतोपाटीसँग भनिन्,‘कविताका श्रीमान् साधारण खालका रहेछन्। उनलाई नेपाल पुगेर श्रीमती छोरालाई भेटेर समस्याको समाधान गर्न, श्रीमतीसँग नियमित सम्पर्कमा आउन र जीवन निर्वाह गर्न सहयोग गर्न आग्रह गरेँ। उनले सुनिमात्रै रहे।’

पोहोर साल तीर्थ नेपाल गएका थिए। नेपाल गएर उनले श्रीमती र छोरालाई पनि भेटेनन्। उल्टै वीरेन्द्रनगर नगरपालिकामा गएर छोराको जन्मदर्ता बदर गराउन उजुरी गरे। यो कुरा थाहा पाएर प्रशासन कार्यालय पुगेकी कवितासँग उनले भेट्नै चाहेनन्। यत्तिकै फर्किए ।

पटक पटक सेतोपाटीले उनलाई फोन गर्दा पनि उनले फोन उठाएनन्। बरू काटिरहे।

कविताले रुँदै भनिन्, ‘मलाई किन यसरी घर न घाटको बनाएको होला? कसैले चरित्रमा खोट देख्ने काम केही गरेकी भए बिख खाएर मर्छु। आफ्नो रगतको पनि माया मारेर कसरी पोर्चुगलमा बस्न सकेको होला?’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.