ग्लोबल नेपाली
मध्य तराईको बाराका शंकर सिम्खडाले वैदेशिक रोजगारीबाट फर्किएर पशुपालन र कृषिकर्म गरेको ६ वर्ष भयो।
उनी जितपुर उपमहानगरपालिका–४, औराहामा 'निम्तो एग्रो फार्म' चलाउँछन्। फार्ममा हाल १९ वटा गाई, पाँच वटा भैंसी र ११ वटा बाख्रा छन्। उनी 'निम्तो जनरल स्टोर' नामको पसल पनि चलाउँछन् जहाँ चौपायालाई चाहिने चोकर र दाना पाइन्छ।
त्यस्तै एक बिघा जमिन भाडामा लिएर घाँस रोपेका छन्। चौपायाबाट प्राप्त हुने मलखाद सदुपयोगका लागि खुर्सानी खेती गरेका छन्। बढी भएको मल बिक्री गर्छन्।
यो सबै कामबाट राम्रो आम्दानी भइरहेको शंकर बताउँछन्।
उनी हाल दैनिक कम्तीमा सय लिटर दूध बेच्दै छन्। राम्रो मौसममा १५० लिटरसम्म बेच्छन्। धेरै जसो दूध स्थानीय बजारमै बिक्री हुन्छ। बाँकी रह्यो भने पनिर र बटर बनाएर बेच्छन्।
उनले पाँच वटा गाई पालेर दुग्ध व्यवसाय सुरू गरेका थिए। उनका अनुसार त्यस बेला दूध बेच्न पनि कठिन थियो। कहिलेकाहीँ दूध खेर जान्थ्यो।
'त्यस बेला त कहिलेकाहीँ दूध नबिकेर खेर जान्थ्यो। पनिर र बटर पनि बिक्दैन थियो,' उनले भने, 'नबिकेको दूध कसैलाई बोलाएर सित्तैमा दिनुपर्थ्यो या गाईलाई खुवाउनुपर्थ्यो, कि फाल्नुपर्थ्यो।'
शंकरले गाईपालन सुरू गर्दा उनको गाउँभरिमा बढीमा २५० लिटर जति दूध उत्पादन हुन्थ्यो। अहिले गाउँका बासिन्दाको मुख्य आम्दानीको स्रोत दूध नै भएको छ।
उनको गाउँमा 'औराहा पशुपालन कृषि सहकारी संस्था' छ। सबै जसो किसानको दूध यही संस्थाले किन्छ र स्थानीय बजारमा बेच्छ। कतिपय व्यापारीले कृषकका गोठमै आएर दूध लैजाने बन्दोबस्त मिलाएका छन्। कोही पनि किसानले दूध बिकेन भन्नुपरेको छैन।
'अहिले त म एक्लै दैनिक १५० लिटरसम्म दूध बेच्छु। आजकाल हाम्रो गाउँबाट दैनिक १७ सय लिटरसम्म दूध बिक्री हुन्छ,' उनी भन्छन्, 'खुद्रा र थोक दुवै किसिमले बिक्री हुन्छ, कुनै समस्या छैन। सहकारीले लैजान्छ। व्यापारीहरू पनि आउँछन्।'

बजारको मागभन्दा बढी उत्पादन भएर बिक्री नभएको अवस्थामा कृषकहरू पनिर र बटर बनाएर बेच्छन्।
सुरूमा सिधै दूध बेच्ने गर्दा सबै बिक्री नहुने समस्या थियो। आजकाल दुग्ध उत्पादन विविधीकरणले सजिलो भएको छ। उपभोक्ताले पनिर र बटर पनि पाएका छन्।
शंकरका अनुसार कृषकहरूमा अनुभव पनि बढ्दै गएको छ। उत्पादन विविधीकरण र बजारीकरणमा पनि किसानहरू सिपालु भएका छन्।
चौपायामा कुनै रोग देखिँदा आत्तिने कृषकहरू आजकाल उपचार गराउनमा सचेत भएका छन्।
शंकरले पशुपालन सुरू गरेपछि सिटिइभिटी (प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद) बाट तालिम लिए। तालिम र अनुभव बढ्दै गएपछि काम सजिलो भयो।
उनले बिस्तारै लगानी बढाए। हाल पशुपालनमा उनको लगानी ३५ लाख रूपैयाँ नाघेको छ। लगानी र श्रम अनुसार आम्दानीबाट पनि सन्तुष्ट छन्। सबै खर्च कटाएर मासिक सरदर एक लाख रूपैयाँ बचत गर्छन्।
'विदेशको कमाइ एकमुस्ट देखिन्छ, यहाँ (स्वदेशमा) एकमुस्ट देखिँदैन। फरक त्यति मात्रै हो। यहाँ पनि राम्रो आम्दानी छ,' उनले भने, 'यहाँ आम्दानीको आधा खर्च हुन्छ, आधा बचत हुन्छ।'
उनी महिनामा कम्तीमा १० लाख रूपैयाँको चोकर–दाना बेच्छन् तर यसमा नाफा निकै कम छ।
शंकर सन् २००६ को एक दिन काम खोज्दै विदेश पुगेका थिए। मलेसिया र कतारमा गरी १० वर्ष बिताए। हाल उनले चार जनालाई नियमित रोजगारी दिएका छन्।
खुर्सानी खेतीमा दैनिक ज्यालादारीमा काम लगाउँछन्। कहिलेकाहीँ एक दिनमा १२ जनासम्म कामदार चाहिन्छ।
'म विदेशबाट केही पुँजी लिएर फर्केँ। विदेशमा हुँदै आफ्नो स्वदेशमै कुनै व्यवसाय गर्ने सोचेको थिएँ। त्यसैअनुसार अघि बढेको छु,' उनले भने।
शंकर मलेसियामा जापानी कम्पनीमा काम गर्थे। त्यो कम्पनी गाडीका सामान बनाउँथ्यो। सुरुमा उनी 'प्रोडक्सन अपरेटर' थिए। तीन वर्ष गुणस्तर जाँचको काम गरे। अतिरिक्त समयसमेत खट्दा महिनामा कम्तीमा १७ सय मलेसियन रिंगेट पारिश्रमिक पाउँथे।

मलेसियाबाट फर्केर सन् २०१२ मा कतार गए। त्यहाँ कतार एयरवेजमा काम गरे। कमाइ राम्रै थियो।
'केही पुँजी जम्मा गर्नु थियो। केही पैसा कमाएपछि आफ्नै देशमा काम गर्छु भन्ने सोचेको थिएँ। पारिवारिक पेसा कषि नै भएकाले मैले यसैलाई व्यावसायिक बनाएँ,' उनले भने।
उनको पशुपालन व्यवसाय राम्रै चलेको छ तर कृषिमा काम गर्ने मान्छे पाउन गाह्रो पर्ने उनले बताए। काम गर्न थालेको मान्छे धेरै दिन नटिक्ने समस्या छ।
चोकर–दानाको मूल्य छिटोछिटो बढ्ने गरेकाले खर्च बढ्दै गएको उनको भनाइ छ। यसमा सरकारका तर्फबाट कुनै किसिमको सहयोग छैन।
'सरकारले मूल्य अनुगमन गर्नुपर्ने हो। किसानलाई सहुलियत दिनुपर्ने हो। हामी प्रतिकेजी १८ रूपैयाँमा धान बेच्छौं। त्यसैको ढुटो किन्दा एक केजीको ४० रूपैयाँ तिर्नुपर्छ,' उनले भने।
सानातिना समस्या समाधान गर्दै मिहिनेतका साथ अघि बढ्ने हो भने सन्तोषजनक कमाइ हुने उनको विश्वास छ।
'वैदेशिक रोजगारीमा कमाएको पैसा व्यवसायमा लगाउँदा राम्रो हुन्छ,' शंकर भन्छन्।