गुल्मीका प्रकाश कुँवर सन् २००१ मा कोरिया गए। झण्डै १० वर्ष उतै बसे अनि नेपाल फर्किए।
त्यसयताका केही वर्ष बाहेक उनी निरन्तर कृषिमै सक्रिय छन्। काठमाडौंका विभिन्न ठाउँमा गोलभेँडा खेतीमा सक्रिय कुँवर सहित चारजना मिलेर भक्तपुरको सुडालमा १ सय ४४ रोपनीमा गोलभेँडा खेती गरेका छन्। सम्भवत, काठमाडौं उपत्यकामै यो ठूलो कृषि फार्म हो। किनिक काठमाडौंमा यति ठूलो क्षेत्रमा गोलभेँडा खेती कमै गरिएको छ।
'मैले कोरियामा गाडीको पाटपुर्जा बनाउने कम्पनीमा काम गरेको हो। त्यहाँको भाषा जानेपछि एउटा सेक्सनको नेतृत्व समेत गर्ने मौका पाएँ,' उनले भने, '५०/६० जनाको नेतृत्व गरेर काम गरिरहेको छु भने अब नेपालमै गएर केही किन नगर्ने भन्ने सोच आयो। त्यसपछि म नेपाल फर्किएको हो।'
सन् २०११ मा नेपाल फर्किएका कुँवरले केही समय लोट्टे चोकोपाईको डिलर समेत चलाएका थिए। तर त्यसबाट नाफा पनि नहुने अनि घाटा पनि नहुने स्थिति भयो अर्थात् उनको व्यवसाय जहाँको तहीँ रहेजस्तो भयो। त्यसपछि उनी गोलभेँडा खेतीमा लागेका हुन्।

'सुरूमा थानकोटमा ७/८ वर्ष काम गरेँ। त्यसपछि ललितपुरको सानागाउँमा खेती गरेँ। त्यहाँ ४/५ वर्ष गरेर हामी यता आएको छौं,' उनले भने, 'तीन जना साथीसँग मिलेर एनआरसी कृषि फार्ममा आबद्ध भएको छु। मैले अहिलेसम्म गरेकोमध्ये यो सबभन्दा ठूलो फार्म हो।'
१२/१३ वर्षदेखि गोलभेँडा खेतीमा लागेका कुँवरको कतिपय तीता अनुभव छन् भने कति रामाइला पनि। तीता अनुभव यस अर्थमा छन्, उनले आजसम्म सरकारी अनुदानका नाममा केही पाएका छैनन्।
खुसी यस अर्थमा छन्, उनी माटोसँग रमाइरहेका छन्।
'सुरूआती दिनमा मल, बिउ, मल्चिङ, थोपा सिँचाइ लगायतको अन्यौल हुन्थ्यो। कताबाट ल्याउने, के ल्याउने भन्नेसम्म थाहा हुन्थेन,' उनले भने, 'अब बानी परिसकेको छु। गोलभेँडा कसरी लगाउने, कसरी बेच्ने सबै थाहा भएको छ।'
गोलभेँडा सस्तो, महँगो जस्तो भए पनि बजारको भने अभाव नरहेको उनको अनुभव छ। एउटाले गोलभेँडा लगाएपछि सबैले त्यसको नक्कल गर्ने प्रवृत्ति भने उनलाई मन परेको छैन।
उनी भन्छन्, 'एउटाले जे लगायो, त्यही लगाउने बानी भयो। मैले गोलभेँडा लगाउँदा अरूले काँक्रो, काउली लगायत लगाउँदा राम्रो हुन्थ्यो भन्ने हो।'
दार्चुलाका देवसिंह महरा १२ वर्षअघिसम्म बस व्यवासायी थिए। तर उनलाई त्यो पेसा ठीक लागेन। अनि काठमाडौं अएर तरकारी खेती सुरू गरे।त्यसयता निरन्तर तरकारी खेतीमै छन्। यसले उनको परिवार चलेको छ। लामो समयसम्म चन्द्रागिरीमा तरकारी खेती गरेका महरा अहिले भक्तपुरको एनआरसी कृषि फार्ममा जोडिएका छन्।
'हामीले मंसिरदेखि यहाँ सुरू गरेका हौं। १ सय ५० रोपनी जग्गा भाडामा लिएका छौं। त्योमध्ये ५/६ रोपनीमा मात्र गोलभेँडा लगाएका छैनौं,' उनले भने, 'आधुनिक तरिकाले गरिएको गोलभेँडा खेतीका लागि हामीले १ लाख ४२ हजार बिरूवा लगाएका छौं। अब फल पनि आउन थालेको छ।बजारमा पठाउन सुरू गरिसक्यौं।'

महराका अनुसार यो कृषि फार्ममा झण्डै ४५ जनाले नियमित काम पाएका छन्।
यो फार्मका अर्का सञ्चालक राजकुमार लामिछाने हुन्। उनी २२/२३ वर्षदेखि तरकारी व्यवसायमा छन्। पछिल्लो १२ वर्षदेखि तरकारी खेतीमा समेत छन्।
'आफूले जे बेच्ने हो। त्यसको उत्पादन गर्यो भने थप सजिलो हुने रहेछ,' उनले भने, 'फार्ममा खेती गर्छु। त्यसलाई कालीमाटी लगेर आफैले बेच्न पाउँदा सन्तुष्ट छु।'