ग्लोबल नेपाली
गुल्मीका हरि भट्टराई सन् १९९८ मा अध्ययनका लागि मलेसिया गए। गएको केही समयमा आफ्नी आमाको निधन भएपछि उनी नेपाल फर्किए। नेपालबाट सन् १९९९ मा फेरि मलेसिया गए। त्यसयता उनी निरन्तर मलेसियामै छन्।
'मलेसियाको ओलम्पिया बिजनेस स्कुलमा अध्ययन सकेपछि मैले विभिन्न रेष्टुरेन्ट तथा कम्पनीहरूमा काम गरेँ। त्यो बेला मलेसियामा दूतावास नभएकाले कन्सुलर अफिस मात्र थियो,' उनले भने, 'मैले केही समय त्यहाँ पनि काम गरेँ। त्यो बेला गैरकानुनी रूपमा मलेसिया पुगेका नेपालीहरूका लागि हुने कानुनी प्रक्रियामा मैले दोभाषे भएर काम गरेको हो।'
सन् २००१ मै मलेसियाले नेपाली कामदारलाई कानुनी प्रक्रियाबाट लैजान सुरू गर्यो।
सन् २००५ देखि हरिले आफ्नै व्यवसाय सुरू गरे। सुरूमा एक जना पार्टनरसँग मिलेर आउट सोर्सिङ कम्पनी सुरू गरेका उनले त्यसपछि ग्रोसरीमा हात हाले।
कुनै समय मलेसियामा उनको २५ ओटासम्म ग्रोसरी थिए। तर कोभिडको केही अगाडि आफूले ती सबै ग्रोसरी बिक्री गरेको उनले बताए। अहिले आफू आउट सोर्सिङ कम्पनी, ट्राभल एजेन्सी र साइबर सेक्युरिटी कम्पनीमा धेरै केन्द्रित रहेको उनले बताए।
'आउट सोर्सिङ कम्पनी अन्तर्गत हामीले बैंकिङ क्षेत्र, रेमिट्यान्स कम्पनी, होटल, आइटी क्षेत्र र विभिन्न फ्याक्ट्रीका लागि कामदार दिन्छौं,' हरिले भने, 'हामीले दक्ष कामदार मात्र दिने भएकाले नेपालीभन्दा पनि भारत, बंगलादेश र फिलिपिन्सका धेरै छन्। अहिले हाम्रो कम्पनीमा ५ सयको हाराहारीमा कामदार छन्।'
मलेसियामा बौद्ध र हिन्दु धर्म मान्नेहरू छन्। उनीहरू कोही लुम्बिनी अनि कोही पशुपतिनाथको दर्शन गर्न चाहन्छन्। यस्ता मलेसियनलाई नेपाल ल्याउने अनि नेपालबाट सिंगापुर, बाली, कम्बोडिया लगायत घुम्न चाहनेहरूलाई आफ्नो ट्राभल एजेन्सीले सेवा दिँदै आएको उनले बताए।
पछिल्लो समय बेलायतमा रहेको साइबर सेक्युरिटीसम्बन्धी कम्पनीमा आफूले लगानी गरेको उनले बताए।
उनका अनुसार यसले बेलायतको स्थानीय सरकार, त्यहाँका बैंकहरू, मध्यपूर्वका विभिन्न कम्पनी, युरोप अफ्रिका लगायतका देशहरूमा काम गरिरहेको छ।
बेलायतलाई मुख्य कार्यक्षेत्र बनाएको सिम्लिफाइड सोलुसन नामको यो कम्पनीमा उनको लगानी छ।
साढे २ दशकभन्दा लामो समय मलेसिया बसेका हरिले मलेसियाका धेरै उतारचढाव देखेका छन्। सँगै नेपालीहरूले गरेको प्रगतिलाई उनले नजिकबाट नियालेका छन्। कुनै बेला गैरकानुनी बाटोबाट नेपाली जाने गन्तव्यको रूपमा रहेको मलेसियामा अहिले नेपालीहरूको राम्रो उपस्थिति छ।
'त्यहाँको तारे होटलको म्यानेजरदेखि ठूला ठूला मल्टिनेशनल कम्पनीमा नेपाली कार्यरत छन्। महिनामा १०/१५ लाख कमाउने नेपाली समेत छन्,' उनले भने, 'अहिले पहिलाको जस्तो मलेसिया छैन।मलेसियाको न्यनूतमको तलब पनि ४५ देखि ५० हजार तोकिएको छ। यसले पनि धेरै नेपालीलाई आकर्षण गरेको छ।'
मलेसियामा सेक्युरिटी, रेष्टुरेन्ट लगायतका विभन्न व्यवसायमा नेपालीको लगानी रहेको समेत उनले बताए।
यसो भन्दै गर्दा बिचौलियामार्फत गएका कतिपय नेपालीको बिचल्ली पनि भइरहेको छ। कतिपय एजेन्टहरूले लोभ देखाउने अनि कामदारले पनि थप केही नबुझी जाँदा समस्या पर्ने उनको भनाइ छ। यसका लागि सरकारले मेनपावर एजेन्सीको बलियो नियमन गर्न जरूरी छ।
विभिन्न प्रलोभनमा मलेसिया पुगेर ठगिएका नेपालीको उद्धारमा गैरआवासीय नेपाली संघ (एनआरएनए) र विभिन्न सामाजिक संघसंस्थाले काम गर्दै आएका छन्। हरि स्वयम् पनि अहिले एनआरएनएका एसिया प्यासिफिक संयोजक हुन्। उनी यसअघि एनआरएनए मलेसियाको अध्यक्ष र एसिया प्यासिफिकको सह-संयोजक भइसकेका छन्।
एनआरएनए एसिया प्यासिफिकका संयोजक भएकाले उनी यसका गतिविधिमा बढी सक्रिय छन्। मार्च १८ र १९ मा कम्बोडियामा हुने क्षेत्रीय सम्मेलनको आयोजक भएकाले आफू अझै सक्रिय रहेको उनले बताए। यो सम्मेलनलाई एनआरएनएको विवाद समाधाको लागि प्रयास गर्ने एउटा अवसर बनाउन खोजिएको उनको दाबी छ।
'कम्बोडियामा हुने सम्मेलनमा हामीले संस्थाको अहिलेको कार्यसमितिलाई बोलाउनु स्वाभाविकै भयो। उहाँहरूको उपस्थिति पनि रहन्छ। नेपालबाट परराष्ट्र मन्त्री आरजु राणा देउवा जाने तयारी छ,' हरिले भने, 'हामीले पूर्वअध्यक्ष लगायत यस संस्थाभन्दा बाहिर रहेर गतिविधि गरिरहनुभएका अभियन्तालाई समेत बोलाएका छौं। सबैको बीचमा सौहार्दता निर्माण गर्ने भनेर हामीले कार्यक्रमको नामलाई संगम भनेका छौं।'
असन्तुष्ट पक्षलाई समेत कम्बोडियामा बोलाइएको र उनीहरूको उपस्थिति रहने अपेक्षा आफूले गरेको हरिले बताए।
कम्बोडिया सम्मेलन एनआरएनको विवाद मिलाउने थलो बन्ने उनको अपेक्षा छ। संस्था जति ठूलो भयो, त्यति विवाद हुने भन्दै उनले आफूले मात्रै जित्नुपर्ने सोच हाबी हुँदा समस्या आएको तर्क गरे। चुनाव हार्नुको समीक्षा गर्न छोडेर विवाद मच्चाउने प्रवृत्ति हाबी भएको उनको आरोप छ।
'हामी टुट्न, फुट्न होइन कि हामी एक हुन यो संगठन बनाइएको हो। अक्टोबरमा हुने महाधिवेशनबाट सके सहमति नसके स्वस्थपूर्ण प्रतिस्पर्धाबाट नेतृत्व छान्नुपर्छ,' उनले भने,'हामी टुटफुट भयौं भने विदेशिएका नेपालीको पुँजी, ज्ञान र सीप भित्र्याउन सकिँदैन। अनि हाम्रा अधिकारका आवाज पनि कमजोर बन्छ।'
सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com