ग्लोबल नेपाली
अन्टार्कटिकामा रातको समय छिप्पिसकेको थियो। काम सकेपछि थकाइ भुलेर हामीसँग कुरा गर्न महेन्द्र घर्ती मगरले थोरै फुर्सद निकाले।
हामी फेसबुक मेसेन्जरको अडिओ कलमा कुरा गर्दै थियौं।
महेन्द्रले भने, 'यहाँ रात त पर्दैन तर समय चाहिँ रातको पौने एक भयो। बाहिर हेर्नुहुन्छ? भिडिओ अन गर्नुहोस्, हिमाल देखाउँछु।'
हामी भिडिओमा कुराकानीमा जोडियौं।
बाहिर सेताम्य हिमाल टल्किएका थिए। समुद्रमा पानी जमेर हिउँ तैरिएको थियो। पानीको थोपा झरेको देखिन्थ्यो।
महेन्द्र समुद्रमाथि पानीजहाज (क्रुजसिप) मा बसेका थिए।
भने, 'यो ठाउँ निकै रमाइलो छ।'
रोल्पाका महेन्द्र पानीजहाजमा 'बार टेन्डर' का रूपमा काम गर्छन्। समुद्रबाट विश्वका अनेक मुलुक घुम्ने पर्यटकका लागि पेय पदार्थ व्यवस्थापन उनको काम हो।
उनले यसरी काम गरेको एक वर्ष भयो। दिनको १० घण्टा काम गर्नुपर्छ। कहिलेकाहीँ बढी पनि खट्नुपर्ने हुन सक्छ।
अहिले अर्जेन्टिनाबाट अन्टार्कटिकासम्मको यात्रा चल्दै छ। यो यात्रा १२ दिनको हुनेछ। उनका अनुसार यो सिजनको चार महिना अर्जेन्टिनाबाट अन्टार्कटिका र अन्टार्कटिकाबाट अर्जेन्टिना रूटमा यात्रा चलिरहन्छ।
कतिपयले यो रूटको यात्रालाई 'एड्भेन्चर' मान्छन्। महेन्द्रलाई भने यो यात्राको बानी परेको छ, रमाइलो लाग्छ।
'बानी भइसकेको भएर हो कि मलाई त यो यात्रा एकदमै आरामदायी र ढुक्कको लाग्छ। डराउनुपर्ने र साहस गर्नैपर्ने केही पनि छैन,' उनले भने, 'कुनै कुनै ठाउँमा हाम्रो नेपालका गाउँतिरका कच्ची बाटामा गाडीले उफारेजसरी क्रुजसिपले पनि उफार्छ। यसै भएर कसैलाई एड्भेन्चर लाग्न सक्छ तर बानी परेपछि रमाइलो हुन्छ।'
तलको चिसो हावा र माथिको तातो हावाको मिलन हुने 'ट्रेक प्यासेज' पार गर्दा उबडखाबडमा गाडी जसरी नै पानीजहाज पनि हल्लिने महेन्द्रको अनुभव छ।
समुद्रमा ८०–९० वर्ष उमेरका मानिसले पनि सहजै यात्रा गर्न सक्छन्। अहिले चालु यात्रामा पनि यस्तो पाका उमेरका यात्रुहरू छन्। उनीहरूलाई देख्दा महेन्द्रको ज्यानमा ऊर्जा भरिन्छ।
उनले काम गर्ने कम्पनीको पानीजहाजमा विश्वका विभिन्न मुलुकका यात्रु हुन्छन्। तीमध्ये ८० प्रतिशत जति अमेरिकी हुन्छन्। त्यसपछि अधिकांश बेलायत र जर्मनीतिरका हुन्छन्। उनले समुद्र यात्रामा एसियालीहरू निकै कम भेटेका छन्।
एकपटक नेपाली यात्रु पनि भेटेका थिए।
'अस्ति नै एकपटक केही नेपाली दाइहरू भेटेको थिएँ तर उहाँहरू अस्ट्रेलिया बस्ने हुनुहुँदो रहेछ। त्यसपछि भेटेको छैन। भारतीय जोडी पनि भेटेको थिएँ,' उनले भने।
त्यहाँ भेटिने अधिकांश विदेशीहरू नेपाल घुमेका हुने रहेछन्। धेरैजसो नेपालको हिमाली भेगतिर ट्रेकिङ गएका हुँदा रहेछन्।
अहिलेको यात्रामा नेपाल घुमेका ६ जना बुढापाका यात्रु भेटेका छन् उनले। केही समयअघि एक जोडी पनि भेटेका थिए। उनीहरूले १५ पटक नेपाल गएको सुनाएका थिए। त्यस्ता यात्रुले महेन्द्रलाई नेपालको कुरा सुनाउँछन्। अन्टार्कटिकाको त्यो समुद्रमा आफ्नो देशको बयान सुन्दा उनी गौरवान्वित हुन्छन्।
पानीजहाज प्रायः जसो दिनभर बन्दरगाहमा राखिन्छ। यात्रुहरू बाहिर निस्किएर पर्यटकीय स्थल घुम्छन्। सांस्कृतिक र प्राकृतिक सम्पदाहरूमा रमाउँछन्।
साँझ हुन थालेपछि थालेपछि फर्किन्छन् र 'नाइट लाइफ' मा झुम्न थाल्छन्। खाँदै, पिउँदै, गाउँदै, बजाउँदै रमाउँछन्। रमाइलो गरिसकेर सबै यात्रु सुतेपछि कर्मचारीहरू पनि सुत्छन्।
यात्रुहरू सुत्न गएपछि नै महेन्द्रले हामीसँग कुरा गर्ने समय मिलाएका थिए। पानीजहाज बिस्तारै चल्दै थियो।
'अन्टार्कटिकामा क्रुजसिप पार्किङ गर्न मिल्दैन। अहिले पनि बिस्तारै हिँडिरहेको छ। बिस्तारै हिँड्दा हलचल हुँदैन। म कुनै सहरको तारे होटलमा छु जस्तै हुन्छ,' उनले भने।
अन्टार्कटिकामा पानीजहाजबाट बाहिर निस्किँदा पनि ख्याल गर्नुपर्छ। बाहिर निस्किँदा खुट्टा सफा हुनुपर्छ। जलवायु परिवर्तन र जीवजन्तुलाई परेको असर ध्यानमा राखेर कडा कडा नियम लागू छ।
जीवजन्तुलाई कुनै किसिमले असर पार्न पाइँदैन। आफूसँग रहेको कुनै वस्तु (फोहोर) बाहिर छोड्न पाइँदैन। उनले काम गर्ने पानीजहाज करिब दुई सय मिटर लामो, २५ मिटरसम्म चौडा छ र १२ तलाको छ। भित्र पाँचतारे होटलको जस्तो सुविधा छ। यात्रुको संख्या पनि निकै ठूलो हुन्छ।
'ठूलो पानीजहाजमा त पाँच हजारसम्म यात्रु हुन्छन्। तीन हजार जति कर्मचारी हुन्छन्। अहिले हाम्रोमा २५० जना यात्रु र १५० जना कर्मचारी छौं,' उनले भने।
सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, फुड एन्ड वेभरेज टिम लगायत आवश्यक सबै कर्मचारी हुन्छन्।
यात्रुको सुविधाका लागि इन्टरनेट, एसी, टेलिभिजन, खाना, बार, स्वीमिङ पुल सबै हुन्छ। तातो-चिसो पानी हुन्छ। कोठाहरू पाँचतारे होटलका भन्दा आकर्षक र आरामदायी हुन्छन्।
महेन्द्रले अझै केही वर्ष पानीजहाजमा काम गर्ने सोचेका छन्। चार महिनाजति काम भयो भने दुई महिनाजति बिदा हुन्छ। बिदाको समयमा उनी नेपाल आउँछन्, आफ्नो ठाउँ रोल्पा पुग्छन्। उनको परिवार रोल्पामै छ।
अन्टार्कटिकाको पानी जहाजमा पुग्नुअघि महेन्द्र संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित हिल्टन होटलमा काम गर्थे। त्यहाँ सन् २०१८ देखि २०२३ सम्म बसेर विभिन्न अन्तर्राष्ट्रिय चेन होटलहरूमा 'बार टेन्डर' का रूपमा काम गरे।
त्यहीँबाट उनी क्रुजसिपमा पुगे।
'मैले काम गर्ने होटलका दुई जना मेनेजर क्रुजसिपमा पनि काम गर्थे। उनीहरूको कुराबाट म आकर्षित भएँ। घुम्न पाइने, संसार देख्न पाइने, लामो समय बिदा पाइने जस्ता कुरा थाहा पाएपछि मलाई एकदमै रुचि जाग्यो,' उनले भनिन्।
क्रुजसिपमा उनको मासिक आम्दानी दुबईको होटलको भन्दा चार गुणा बढी छ। तर काम गरेको समयको मात्रै तलब पाइन्छ। यात्रा सकिएर बिदा भएको समयको तलब पाइँदैन।
यात्रा अवधि यात्राको दुरीमा भर पर्छ। सामान्यतया एक अवधि तीन महिनासम्मको हुन्छ। यसमा खण्ड खण्डमा निरन्तर सामुद्रिक यात्रा हुन्छ। युरोप, अमेरिकातिर हुँदा १२ देखि १४ दिनको एक खण्ड यात्रा हुन्छ। क्यारेबियन आइल्यान्डतिर तीन दिन र सात दिनको हुन्छ।
हामीसँग कुरा गरिरहँदा उनी अलि हतारमा थिए। भोलि बिहान सबेरै उठ्नु छ भन्थे। समुद्री जीवहरू हेर्ने अवसर उनलाई पनि जुरेको रहेछ। पर्यटकको चाप कम भएका बेला कतिपय पर्यटकीय गतिविधिमा महेन्द्र पनि सामेल हुन्छन्।
'आज सेड्युल (तालिका) भन्दा अलि छिटै काम सकियो। तपाईंसँग छिटो कुरा सकेर सुतिहाल्छु, बिहान छिटै उठ्नुछ,' उनले प्रसन्नतापूर्वक बिहानको कार्यक्रम सुनाए, 'बिहान पर्यटकका लागि समुद्रको १४५ मिटर गहिराइमा सबमरिन ड्राइभ छ। समुद्रको भुइँमा पुगेर जीव अवलोकन गर्न पर्यटकहरूले एक हजार अमेरिकी डलर तिर्नुपर्छ। सिट खाली हुँदा कर्मचारीलाई निःशुल्क अवसर मिल्छ। आज मेरो पालो छ।'
महेन्द्रले कामसँगै नेपालीहरू सितिमिति नपुग्ने ठाउँमा घुमफिर गर्न र नौला अनुभव हासिल गर्न पाएका छन्। यसमा उनी निकै खुसी छन्। नयाँ अनुभव लिने अवसर आइरहन्छ।
'एकपटक माथिबाट हिउँ जमेको माइनस दुई डिग्रीसम्म चिसो पानीमा हामफाल्ने अवसर पनि पाएको थिएँ। म त हेर्छु मात्रै भनेर गएको थिएँ तर ७० वर्षको मान्छे पनि हामफालेको देखेँ,' उनले भने, 'त्यसपछि त मलाई पनि हिम्मत आयो। जिन्दगीमा नयाँ अनुभव किन नलिने भनेर हामफालेँ।'
पानीजहाजमा बेलायतबाट काम सुरु गरेका महेन्द्र आइसल्यान्ड, ग्रीनल्यान्ड, क्यानडा अमेरिका लगायत विभिन्न मुलुक पुगेका छन्।
उनले भने, '४० देश जति पुगेँ होला। धरै घुम्न त पाइँदैन तर पाइला राखेको छु।'
हामी कुरा गरिरहँदा अन्टार्कटिकामा रातको साढे एक बजेको थियो। हामीले कुरा टुंग्यायौं।
'अब बिहान चाँडै उठेर समुद्रमा हामफाल्न जान्छु,' उनले भने।
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com