कोरियामा मृत्युलाई जितेको पल


साँझ छिप्पिएर रात पर्दै थियो। प्रायः कम्पनीहरुमा कामको सिफ्ट परिवर्तन भइसकेको हुनाले सडक खुल्ला नै थियो। सधैँझैँ हामी काम सकेर घर फर्किने बस चढ्यौं। बीस सिट क्षमताको बसमा दोब्बरभन्दा बढी मान्छे त उभिएकै थिए। बसमा निकै कोचाकोच थियो। बस यस्तो सलाइको बट्टा भएको थियो, जहाँ मान्छेरुपी काँटीहरु खाँदेर भरिएको छ।

अर्को स्टेशनमा बस रोकियो। कराउँदै र ठेल्दै एक हुल मान्छे चढे। पछाडिबाट दुईजना झरे। म अगाडिदेखि अलिकति निहुरिएर झोलाले सम्भावित ठोकिन सक्ने अंग छेलेर जबर्जस्ती पछाडितिर छिर्दै गएँ। बिस्तारै झोलाबाट कागज निकालेर  पछाडि अन्तिम सिटनेर दुई डन्डीकोबीच भुइँमा  बसे।

यो बस्नको लागि थिएन तर उभिन सक्ने स्थिति झन सोच्नै नसकिने थियो। बस फेरि रोकियो, पाँचसात जना उक्लिए।

संयोग मेरो छेउको सिटको मान्छेले मलाइ बस्न इशारा गर्दै झर्‍यो। अर्को मान्छे बस्नै लाग्दा मैले सिटमा झोला राखें। म बस्न मात्रै के लागेको थिएँ, बस अगाडि हुत्तियो। साधारणभन्दा अलिक बेस्सरी हल्लियो। म समाउने ठाउँ खोज्न लागें। मान्छेहरू कराउँदै यताउता तितरबितर भए । ‘बिस्तारै चलाउनुस बिस्तारै चलाउनुस, रोक्नुस रोक्नुस, मलाई झार्दिनुस्’ यस्तै के–के भन्न थाले। कोहि नानाभाँती असामाजिक शब्दहरू बोल्दै गाली गर्न थाले।

बस अनियन्त्रित भएको दुईतीन मिनेट भइसकेको थियो । हुत्तिएर सबै मान्छेहरु अगाडितिर पुगें। म अर्को सिटको पछाडि ठोकिँन पुगें। कोही बसेका कोही बाङ्गिएका कतै एकमाथि अर्को गरेर थुप्रिएका थिए।

अरुलाई के भइरहेको छ भनेर हेर्न सक्ने अवस्था नै थिएन। डर यति थियो कि जुन शब्दमा वर्णन गर्न सक्दिनँ।

बस साधारणभन्दा फरक बाटो लाग्दै थियो। मान्छे झनझन कराउँदै थिए। डर लाग्यो भने आँखा चिम्म गरी ठूलो आवाजले कराउनु भन्ने सुनेको थिएँ। आँखा चिम्म पारेर आमा……. भन्छु भनेको आवाज नै आएन। चिच्याउन खोजे घाँटी झन् अप्ठ्यारो भयो। कसैले थिचे जस्तो, अँठ्याए जस्तो भयो। सास रोकिए जस्तै लाग्यो। केही बेरमै मर्दैछु जस्तो लाग्यो।

मेरो हात र घाँटी तन्किएर अर्को दुइटा सिट पर पुगेछ। आत्तिएर झन बेस्सरी कराउन खोजेँ, घाँटी किक्लिककिक्लिक भयो। एक्कासी ! जोडसँग आवाज गर्दै रोकियो। अब बाँच्नको लागि झ्यालको सिसा फोड्नु भन्ने लाग्यो। कसोकसो बेस्सरी लात्तीले हानें।

खुट्टाखुट्टा बेस्सरी  ठोक्किए छ। म बिउँझिएँ।

खासमा छट्पटिन खोज्दा मेरो खुट्टाले भित्तामा रहेको दराजको ह्याण्डिलमा बेस्सरी ठोक्किएर बिउझेको रहेछु। यसरी मलाई करिब एक डेढ महिनाअघि सपनामा  ऐठन भएको हो। त्यसताका हप्तैपिच्छे जस्तो विविध कारणले कोरियामा नेपालीहरुको मृत्युको खबर आइरहेको थियो। त्यसमध्ये सुतेकै ठाउँमा मृत्यु भएका खबर धेरै थियो। आफ्नो दुःख पहाड भन्छन्, अरुको तराई। गीतले भने जस्तै ऐठन त सबैलाई हुन्छ होला। सबैले भोगेको होला तर त्यो दिन मलाई आफ्नो भोगाइ धेरै डरलाग्दो र भयानक  लाग्यो। साँच्चैभन्दा बाँच्नु ठूलो कुरा हो जस्तै लाग्यो। खेल खत्तम हुन त केही ठूलो दुर्घटना नचाहिने रहेछ भन्ने लाग्न थाल्यो। अहिले पनि साँझ बिहान बस चढ्दा, झर्दा डर लाग्न छाडेको छैन। त्यो रात देखि अझैसम्म मनोवैज्ञानिक हिसाबले बलियो हुन सकेकै छैन। बस अलिक छिटो कुदायो भने ढुकढुकी बढ्न थालिहाल्छ।

शुक्रबारको दिन थियो। साथी घर गएका कारण कम्पनीमा सधैँभन्दा डेढ-दुई घण्टा काम बढेको थियो।  कामको चापले  दिउँसो पानी उति पिइनछु। घर नपुग्दै निन्द्राले झपक्कै छोप्यो।  धेरै थाकेकोले खाना बनाउने जाँगर पनि चलेन। फेसबुक चलाउदै चाउचाउ तातो पानीमा भिजाएर खाएँ। शनिवार र आइतबार बिदा हुने भएकोले सुत्ने समयको ख्याल  नै भएन। अबेर  सुतेको थिए। सुतेर त्यस्तै एक डेढ घण्टामा नै ऐठन भएछ। ब्युँझेर तत्काल त मैले केही थाहा पाइनँ। कहाँ के गर्दै छु भेउ नै पाइनँ। अनुमानमा, त्यस्तै पाँचसात मिनेटमा मेरो होस खुलेछ। काम्दै रहेछु। बत्ति बाल्नु पर्‍यो भन्दा हात खुट्टै चलेनन्। झन् डर लाग्यो। हात काम्दाकाम्दै यताउता मोबाइल छामे। लागेको थियो कि मेरो चेतना गइसक्यो। फेरि मोबाइल, बत्ती सम्झिदैं छु भने केही भएको छैन भन्ने पनि भयो। ऐठन त पहिला पनि भएको हो। तर यति धेरै डर, छट्पटी पहिलो पटक भयो।

यो भोगाइ जस्ताकोतस्तै लेख्न नसक्नु मेरो कमजोरी हो। त्यस्तै दस पन्ध्र मिनेटपछि हुनसक्छ बत्ति बालें। उठेर ऐना हेरेँ। म त सुन्निएको पो रहेछु। झन् डर लाग्यो। ह्या, होईन होला भ्रम होला, जस्तै लाग्यो। बाथरुम गएर अनुहार धुँदा थाहा भयो, मुखबाट रगत पनि आएको रहेछ। सायद अघि बेस्सरी दाँत टोकेर छट्पटिएँ होला।  फेरि ऐना हेरें स्पष्ट भएँ केही सुन्निएको रहेछु। एक गिलास पानी खाएँ।

फेसबुकमा स्टाटस राखें। छुटफुटका म्यासेजहरु हेर्दाहेर्दै स्टाटसमा प्रतिक्रियाहरु आउन थाले। म त्यतै भुलिन थालें। म अझै काम्दै थिएँ।  नेपालमा साथिसँग पनि कुरा गरेँ। इनबक्समै  हङकङबाट माधव खतिवडाले डर भगाउने र ऐठनबाट छुटकारा पाउने केही टिप्स दिनुभयो। नाइट ड्युटी गर्ने साथीभाईले म्यासेज गर्नु भयो। यतिकैमा बिहानको पाँच बज्यो। नुहाएर फेरि सुतें।

त्यो घटना पछि हरेक दिन बिहान उठेर ओछ्यानमै केही मिनेट एक्सर्साइज गर्ने, दिउँसो सधैंभन्दा बढी पानी पिउने, भावनात्मक हिसाबले बलियो हुने खालका लेखहरु पढ्ने, रमाइला फिल्महरु हेर्ने, खुलेर कुरा गर्ने, सकारात्मक सोच्ने, फेसबुकमा आएका नकारात्मक पोस्टहरु नहेर्ने/नसुन्ने, राती सुत्ने बेला हास्ने खालका केही भिडियोहरु हेर्ने, सुत्नुभन्दा केही मिनेटअघि पानी पिउने ताकि रातिको बेला उठ्न परोस्, जसले गर्दा आफ्नो र छेउमा भएको साथीको पनि अवस्था बुझ्न सकियोस्।  सुत्दा झ्याल खोल्ने आदि गर्न थालें। हामी सबैको सन्दर्भमा बिशेष डिप्रेसनबाट बच्न सकारात्मक सोच नै काफी हुन्छ। नकारात्मक या आफूलाई मन नपर्ने कुरा पटकपटक नसम्झिने। कसैले दुःख दियो भने त्यसैलाई अघि बढ्ने उर्जाको रूपमा लिने। पारिवारिक समस्या भए पनि नजिकको साथी या आफूभन्दा ठुलासँग बाँड्ने र सुझाब लिने। समस्या सबैलाई हुन्छ भन्ने कुरा नबिर्सने। चाहना र आवश्यकता सबैसँग हुन्छन्, यी सकारात्मक कुरा हुन्। त्यसैले चाहना राख्ने ,आवश्यकता बिस्तारै पुर्ति हुन्छन् भनेर सोच्ने तर धेरै महत्वाकांक्षी नहुने। समस्या पर्‍यो भन्दैमा, आवश्यकता, चाहना पूरा भएनन् भन्दैमा आत्महत्या गर्ने हो भने आज संसारका कोही पनि मान्छे जिउँदा रहन्थेनन्। त्यसैले आत्महत्या समस्याको समाधान होइन झन् बिकराल सामाजिक समस्या हो। सामाजिक कार्यक्रममा भाग लिने। साथीहरूसँग घुलमिल हुने। समस्या भए खुलेर भन्ने। खानपानमा ध्यान दिने।

विदेशमा प्रायःले पाउने स्वतन्त्रतालाई अत्याधिक रक्सीसेवनमा प्रयोग गरेको पनि पाइन्छ। यसलाई बिस्तारै नियन्त्रण गर्दै जाने। एक्लै बसेर अल्कोहल कदापि नलिने। मासु हामी प्रायः सबैजसो खान्छौं नै, मासुजन्य खानेकुराको मात्रा कम गर्ने। अब त गर्मी धेरै भइसक्यो। पानीको मात्रा धेरै भएका फलफुलहरु खाने, पानी धेरै पिउने। सबैलाई भलो हुने एउटै कुरा सकारात्मक सोच्ने।

सोचौं  त, त्यो दिन म मरेको भए! फेसबुकमा केही समवेदनाका स्टाटस लेखिन्थे र एउटा काठको बाकस आमाको अगाडि झारिन्थ्यो  होला। खोक्दाखोक्दै दोहोरो सास रोकिने बुवा र मनभरी सन्ताप बोकेर पनि हाम्रै लागि हासिदिने बुढी आमाको मनमा चुक मिसिएर आँखाबाट बिना पानीको बाढी आउँथ्यो होला। अरुको मृत्युमाझैँ  विभिन्न टिकाटिप्पणी हुन्थे होलान्। सबैभन्दा बढी सामाजिक सञ्जालमा सरकारले गाली खान्थ्यो होला। यस्तो हुँदा सरकारले के गर्न सक्थ्यो र मलाई? विदेशमा जुनसुकै कारणले असामयिक मृत्युसँग सरकारले यसो गरेन उसो गरेन भनिएको हुन्छ। भलै सचेतनाका कार्यक्रम ल्याउँथ्यो, बिचरा उसैलाई सचेतना दिन सक्ने ज्ञान र बुद्धि भएका कुरा गर्छौं हामी। राम्रो कुरामा ध्यान दिदैनौं।अर्कालाई होच्याउने, घोचपेट गर्ने खालका स्टाटस अपडेट गर्छौं फेसबुकमा। प्रतिक्रिया झन् उस्तै बाठो र चलाख बनेर के–के लेख्छौं। धेरैजसो त दुईजना बसेर पढ्नै नमिल्नेसम्म हुन्छन्।

हामी कति अरुलाई दोष दिने? आफू पनि सचेत बन्यो भने अरुको भर उति पर्नु नपर्ला। खालि सरकारले यसो गरेन उसो गरेन भन्न पर्दैन थियो कि! जब बिरामीले माड खाइदिदैँन भने कुरुवाको केही लाग्दैन। आफ्नो लागि सकेसम्म आफैँले गर्नु पर्ने होइन र? लापरबाही आफ्नो, अर्कालाई किन दोष दिने? गर्दैन भनेपछि किन उसैको आश गर्ने? आर्थिक र सामाजिक रूपमा आत्मनिर्भर बन्नसक्ने मान्छे आत्मिक रूपमा किन आत्मनिर्भर बन्न नसक्ने? संसार जित्छु भन्ने मान्छे आफैंलाइ किन जित्न नसक्ने?

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.