कोरिया पुगेको २ महिनामै फेरि एक नेपाली युवकको मृत्यु, डेढ महिनामा ६ नेपालीले ज्यान गुमाए


रोजगार अनुमति प्रणाली इपिएस मार्फत कोरिया आएका एक नेपाली युवक बुधबार बिहान मृत भेटिएका छन्। कोरियाको जेजु टापुस्थित एक तबेलामा कार्यरत स्याङ्जा वालिङका रामचन्द्र पंगेनीको ज्यान गएको हो।

झण्डै दुई महिनाअघि कोरिया आएका अन्दाजी २६ वर्षीय पंगेनीको मृत्यु भएको जेजु प्रहरीले नेपाली दुतावासलाई जानकारी दिएको दूतावास स्रोतले सेतोपाटीलाई बतायो।

मृत्युका विषयमा थप जानकारी भोलि बिहिबार दूतावासका अधिकारी घटनास्थल पुगेपछि मात्र थाहा हुने दुतावासले जनाएको छ। पंगेनीको मृत्यु भएको जानकारी नेपालमा रहेका उनका परिवारलाई पनि दिइएको छ। कृषि क्षेत्र अन्तर्गतको सोही स्थानमा घोडा हेर्ने तबेलामा अन्य एक नेपाली पनि कार्यरत छन्।

कोरियामा पछिल्लो समय डिप्रेसनमा परेर आत्महत्या, कार्यस्थल दुर्घटना, सडक दुर्घटना, सुतेको अवस्थामा ज्यान गुमाउने नेपालीको संख्या बढिरहेको छ। सन् २००८ यता विभिन्न घटनामा परी १२० भन्दा बढीले ज्यान गुमाइसकेका छन्। यस्तै औद्योगिक दुर्घटनामा परी सयौंको अंगभंगसमेत  भएका छन्।

नेपालमा रोजगारीको प्रर्याप्त अवसर र आफ्नो योग्यता अनुसारको जागिर नपाउँदा दैनिक हजारौ नेपाली युवा विदेशिन बाध्य छन् भने दैनिक २-३ जनाको शव नेपालमा भित्रिने गरेको छ।

कोरियामा प्रायः नेपालबाट केन्द्रीय स्तरका राजनीति नेता विभिन्न कार्यक्रममा आउने गरेका छन्। राजधानी सोलमा आयोजना हुने कार्यक्रम सकेर नेपाल फर्किए पनि कोरियामा नेपाली कामदारको अवस्था कस्तो छ भनेर बुझ्न खासै चासो देखाएको छैन।

केही दिनअघि मात्र नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल तथा कांग्रेस नेत्री सुजाता कोइराला कोरिया आएर फर्किए पनि नेपाली कामदारको अवस्थाको बारेमा खासै चासो दिएनन्।

कोरियामा करिब डेढ महिनाकै अवधिमा ६ नेपालीले ज्यान गुमाएका छन्। कार्यस्थल दुर्घटना तथा अन्य कारणले ज्यान गुमाउनेको संख्या दिनानुदिन बढे पनि सरोकारवाला भने मौन देखिएको छ। करिब ३  साता अघि कोरिया आइ फर्किएका इपिएस प्रमुख बाबुराम खतिवडाले पनि कोरियाक नेपाली कामदारको वास्तविक अवस्थाको बारेमा बुझ्न कुनै चासो नदेखाएको यहाँ कार्यरत नेपाली कामदारको गुनासो गरेका छ्न्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.