जापानमा राजनीतिक स्वार्थ त्यागौं


रोजगार, शिक्षा तथा आर्थिक सम्पन्नताको सिलसिलामा विभिन्न प्रकृयाबाट सपनाको देशको रुपमा जापान प्रवेश गर्ने नेपाली बढ्दै गएका छन्। गरिबी, रोजगारको अभाव, व्यापार व्यवसायको अनिश्चिता, राजनीतिक द्वन्द्व र अस्थिरताले पिरोलिएका नेपालीहरु उर्जाशील उमेरमै पनि परदेशीने दर वर्षेनी बढेर गएको छ।

नेपालका अधिकांश स्थानहरु भौगोलिक रुपमा विकट छन्। अविकसित छन्। अभाव, अशिक्षा, न्युन आर्थिक उपार्जन र कष्टकर जीवन निर्वाह गरेका कारण नेपालीहरु विदेशमा पनि लगनशील भएर काम गर्छन्। अन्य देशका नागरिकहरुको तुलनामा बढी मेहनत, लगनशील र इमान्दारिताका साथ काम गर्ने भएका कारणले अर्काको देशमा पनि उनीहरुले राम्रो छबि बनाउन सफल भएका छन्।

राष्ट्रको प्रमुख उद्देश्य नागरिकको सर्वाङगीण विकास हुने गर्दछ। भौगोलिक अखण्डता रक्षापछिको राष्ट्रको प्रमुख कर्तव्य नागरिकलाई खाद्यान्न, पिउने पानी, स्वास्थ्य सेवा, शिक्षा र रोजगारीजस्ता अति आवश्यक कुराहरुलाई प्राथमिकता दिने हुनुपर्दछ। त्यसपछि विकास निर्माण लगायतका कार्य गर्ने गरिन्छ । तर, सत्तामोह र नेतृत्वमा देखापरेको नागरिकप्रतिको गैरजिम्मेवारी र राष्ट्र विकासका लागि दृढ नीति र संकल्प अभावका कारण नेपालको विकास जुन रुपमा हुनु पर्ने हो, त्यस रुपमा हुन सकेको छैन। नेतृत्वको गैरजिम्मेवारीपूर्ण कार्यको प्रभाव नागरिक स्तरमा पनि पर्न थालेको छ।

हामीले जापानबाट सिक्नुपर्ने कुराहरु धेरै छन । जापानले दोश्रो विश्वयुद्धपछि लिएको राष्ट्र समृद्ध बनाउने नीति र दृढ संकल्पका कारण छोटो समयमा नै विश्वका विकसित शक्तिशाली मुलुकहरुको पंक्तिमा स्थान बनाउन सफल भयो।

जापानको पहिलो कार्य जनता केन्द्रित थियो। नागरिकलाई नैतिक, शिक्षित र राष्ट्रप्रति जिम्मेवार बनाउन सकेमात्र विकास सम्भव भएको निष्कर्ष निकालेर देशको बजेटको ठूलो हिस्सा शिक्षामा छुट्याई अनिवार्य शिक्षा नीति लागु गरेको थियो।

जापानको शिक्षा प्राविधिक रुपमा सबल र नागरिकलाई कर्तव्यबोध गराउने खालको थियो। जसका कारण नागरिक स्तरमा राष्ट्रहितका लागि जिम्मेवार र नैतिकवान हुँदै स्वदेशमा नै रोजगार सिर्जना गरी उत्पादन मुलक कार्य गरी देशलाई समृद्ध बनाउने कार्यको थालनी भयो।

यो क्रम सँगै अन्य विकसित देशका नीति, विकास, प्रविधि, शिक्षा प्रणाली, नागरिकको जीवनशैली लगायतका कुराहरुको सुक्ष्म अध्ययन गरी राम्रा कुराहरुको अनुसरण गर्दै जापानले दिनानुदिन आफूलाई परिमार्जित, परिस्कृत र विकाशशील बनाउँदै गयो। यसको प्रभाव जनस्तरमा प्रत्यक्ष रुपमै प¥यो। त्यसैले आज जापान यो स्थानमा आइपुगेको छ। यहाँका नागरिक राष्ट्रप्रति जिम्मेवार, आदरर्थी, सहयोगी, मृदुभाषी र मेहनती छन्। जापानी नागरिकको स्वभाव सरल र प्रशंसायोग्य छन्। विश्वका कम मुलुकका नागरिकमा मात्रै जापानीहरुमा जस्तो शिष्टता पाउन सकिएला।

२०४६ सालमा प्रजातन्त्र स्थापित भएसँगै नागरिकले प्राप्त गरेका अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, दल तथा संघसंस्था निर्माण गरी संगठित हुन पाउने स्वतन्त्रता लगायतका हाम्रो जीवनसँग जोडिएका थुप्रै आधारभूत कुराहरु हामीले प्राप्त गरेका छौं। फलस्वरुप नेपालमा आवश्यकताभन्दा बढी पार्टी र संघसंगठनहरु खुलेका छन्। नेतृत्वको जुँगाको लडाई र निश्चित स्वार्थको होडबाजीमै संघसंस्था तथा संगठनहरु खुल्ने क्रम रोकिएको छैन। यसको प्रभाव विदेशमा बस्ने नेपालीहरुमा पनि परेको छ।

जापानमा करिब ६० हजार नेपालीहरु विभिन्न पेशा, नोकरी र व्यवसाय गरी बस्दछन्। निश्चित सपना बोकेर परदेशीएका नेपालीहरु जापानमा आएर पनि नेपालको राजनिति गर्न भने पछि परेका छैनन्। आमसमुदायभन्दा निश्चित समुदायको पक्षपोषण गर्ने र अवसर पाएको बखतमा तिनै समुदायको काँधमा उक्लेर उँचो बन्ने सपनामा लिप्त भएका छन्। जापानमा बसोबास गर्ने नेपालीले विभिन्न बहानामा एकसयभन्दा बढी स–साना तथा ठूला संस्थाहरु निर्माण गरेर विभाजित भएका छन्। सामाजिक हित तथा मानव परोपकार, नेपालमा विकास तथा आपसी भेटघाट तथा भलाकुसारी गर्ने कामहरु कतिपय संस्थाले गरिरहेका छन्। विभिन्न जिल्लाका नामका समाजहरुले बेलाबेलामा नेपाली कलाकारहरु, नेपाली चलचित्र, नेतागण, विभिन्न विषयका जानकारहरुलाई जापान ल्याएर नेपाली समुदायका बीच प्रिय बन्ने प्रयत्न गरिरहेका छन्। कतिपयले आफ्नो जिल्ला वा भेगको नाममा केही सीमित मान्छेहरु जम्मा गरेर समाज गठन गरेरै मख्ख परिरहेका छन्।

जापानमा रहेका अधिकांश संघसंस्थाहरुले भेग र क्षेत्रलाई मात्र आफ्नो ठान्ने तर समग्र देशको बारेमा कम मात्रै चिन्तित हुने गरेको पनि देख्न सकिन्छ। यस्तो चिन्तनले एउटा असल नेपाली नागरिकको कर्तव्यबाट टाढिएको हो कि भन्ने भान हुन्छ। जापानमा रहेका नेपालीहरुले राष्ट्र विकासका लागि सामूहिक अभियान चलाउने हो भने गर्व गर्नलायक कुनै ठूलो परियोजना नै सम्पन्न गर्न सकिन्थ्यो कि!

संगठित हुनु नराम्रो होइन। तर, प्रवासमा रहेर आफ्नो उद्देश्य र लगनशीलतालाई निरन्तरता दिनुपर्दछ। त्यसका साथसाथै राष्ट्रप्रतिको प्रेम र जिम्मेवारी पनि मनन गर्नुपर्दछ। हाम्रो गाउँघरका टोलैपिच्छे गठन गरिएका आमा समूहजस्ता स–साना संस्था बनाएर प्रवासमा रहेका हामी नेपालीहरु विभाजित हुनुको सट्टा एउटै संगठनमा आबद्ध हुनु जरुरी छ। यसले हामीबीच बन्धुत्व, भाईचारा र आपसी सम्बन्ध पनि प्रगाढ बनाउन मद्दत गर्नेछ। यसका लागि सबैले राजनीतिक स्वार्थभन्दा माथि उठ्न जरुरी छ। त्यस्तो संगठनले जापानी समुदायका बीच नेपालको कला, सौन्दर्य, संस्कृति र पर्यटकीय सम्भावनाका बारेमा जानकारी गराउन सके हाम्रो राष्ट्रको हितमा ठूलो योगदान पुग्नेछ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.