समृद्ध नेपाल निर्माणमा प्रवासी नेपालीको भूमिका

टोकियो सम्मेलनको सन्देश


प्रवासमा समृद्ध नेपालको परिकल्पना गर्दै विभिन्न किसिमका विचार विमर्श र कार्यक्रमहरुको आयोजना हुने गरेका धेरै उदाहरणहरु पाइन्छन्। यसले संसारको जुनसुकै कुनामा रहेर पनि आफ्नो देशप्रतिको कर्तव्यपरायणतालाई पूरा गर्न सकिने कुरालाई इंगित गर्दछ। पछिल्लो समयमा मुलुकको अर्थतन्त्रमा रेमिट्यान्समार्फत प्रवासी नेपालीले महत्वपूर्ण योगदान गरिरहेका छन्। त्यस्तै, देशमा विभिन्न प्रकारको विपत्ति आउँदा पनि प्रवासी नेपालीहरु सहयोग गर्नको लागि अघि सर्ने गरेका छन्। यद्यपि, रेमिट्यान्सले धानिएको अर्थतन्त्रको पिलर बलियो नहुने र दिर्घकालीन विकासको लागि रेमिट्यान्समा मात्रै भर पर्न नहुने कुरा प्रवासी नेपालीले महसुस गरिरहेका छन्।

पछिल्लो समय मुलुकको राजनीति विकास र अन्योलताका विषयमा पनि प्रवासका विभिन्न क्षेत्र र तप्कामा बहसहरु भएका छन्। विभिन्न मुलुकमा बेलाबलामा यसै विषयमा सम्मेलनहरु पनि हुने गरेका छन्। यसैक्रममा, जापानको राजधानी टोकियोमा गतहप्ता विकासविद, शिक्षाविद, राजनीतिज्ञ र पत्रकार सम्मिलित ‘समृद्ध नेपाल निर्माणमा प्रवासीको भूमिका’शीर्षकमा वृहत् टोकियो सम्मेलन सम्पन्न भएको छ। दिगो विकासका लागि पारस्परिक मैत्री समूह ९ क्ष्ल्ँक्म्० जापानले आयोजना गरेको उक्त सम्मेलनमा शिक्षाविद् डा। केदारभक्त माथेमा, विकासविद् डा। कमल लामिछाने, राजनीतिज्ञ रवीन्द्र मिश्र र पत्रकार प्रेम बानियाँ अथिति रहनुभएको थियो। सम्मेलन तथा अन्तक्रिया कार्यक्रममा लगभग ६०० जना नेपालीले सहभागिता जनाएका थिए। उक्त कार्यक्रममा सबैले समृद्ध देश निर्माणमा प्रवासीको भूमिकालाई प्रस्ट्याउन विभिन्न व्यक्तिगत सिद्धान्तहरु प्रस्तुत गरेका थिए ।

समृद्धिको सुरुवात आफूबाट
सम्मेलनको सुरुवातमा प्रवासी नेपालीले मुलुकको समृद्धिको सुरुवात आफैबाट सुरु गर्नुपर्छ भन्ने विषयवस्तुले प्रमुखता पाएको थियो। प्रवासमा बसोबास गर्ने प्रत्येक नेपालीको समृद्धि मुलुकसँग जोडिने हुँदा विभिन्न किसिमका सीप, व्यवसाय तथा शिक्षामार्फत नेपालले आफूलाई समृद्ध पार्न सक्छ भन्ने विषयवस्तुलाई गम्भीरतापूर्वक उठान गरियो। कुनै पनि मुलुकको विकासमा योगदान पुर्यालउनका लागि पहिले आफू पनि बलियो र समृद्ध हुनु पर्नेमा जोड दिइएको थियो। अहिले झन्डै ६०र७० लाखको हाराहारिमा विदेशिएका नेपालीले आफ्नो समृद्धिको केही अंश आफ्नो परिवार, गाउँ र समाजसँग जोड्ने हो भने देश विकासमा ठूलो योगदान पुग्ने कुरामा जोड दिइएको थियो।

राष्ट्रको वर्तमान स्थितिको अध्ययन
प्रवासमा रहेका नेपालीहरुले आफ्नो राष्ट्रमा खड्कीरहेका आवश्यकताहरुको पहिचान गर्न सके कुन क्षेत्रमा योगदान पुर्यानउँदा देशलाई समृद्ध बनाउन सकिन्छ भन्ने कुरालाई वक्ताहरुले प्राथमिकता दिएका थिए। विशेषगरी, मुलुकको अनुहार फेर्न आफ्नो क्षमताले भ्याएसम्म कस्ता योजनाहरु बनाउँदा दुवै पक्षलाई फाइदा हुन्छ भन्ने कुरामा अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। मुलुकको समृद्धिमा भाग लिन सबैभन्दा पहिला आफू जहाँ भए पनि मुलुकलाई बुझ्नु पर्नेमा विशेष जोड दिइएको थियो। पछिल्लो समयमा मुलुकमा उठेका धार्मिक र जातीय नारालाइ समयमा सम्बोधन गरिएन भने यसले मुलुकलाइ फाइदा नगर्ने कुरा पनि वक्ताहरुले उठाएका थिए।

प्रवासीको लगानी र सुरक्षा
प्रवासमा रहेर समृद्ध बनेका नेपालीले मुलुकको सम्बर्द्धन र प्रबर्द्धनको लागि आफ्नो योग्यता, शिक्षा र व्यवसायलाई लगानीको रुपमा मुलुकमा प्रवेश गराउनु पर्ने, सरकारले प्रवासी नेपालीलाई लक्षित गरी विभिन्न परियोजनाहरुमा लगानीको आह्वान गर्नुपर्ने, मुलुकमा भएका ठूला जलविद्युत परियोजनाहरुमा प्रवासी नेपालीमार्फत लगानी बढाउनुपर्ने र लगानी सुरक्षित गर्ने वातावरण बनाउन सरकारले अग्रसरता देखाउनु पर्नेमा वक्ताहरुको जोड थियो। सरकारले त्यसकानिम्ति विभिन्न नमुना परियोजनाको निर्माण गरी प्रवासीहरुलाई लगानीको वातावरण तयार गरी दिनुपर्ने समेत सम्मेलनमा आवाज उठाइएको थियो। जसका निम्ति राजनीतिक अस्थिरता बाधक हुनेहुँदा राजनीतिक स्थिरताको लागि युवाहरुलाई राजनीतिमा चासो राख्न आह्वान गरिएको थियो। साथै, त्यसका निम्ति सक्षम युवाहरु मुलुक फर्किनुपर्ने तर्क गरिएको थियो।

प्रवासको ज्ञान सीप स्वदेशमा प्रयोग
विकसित मुलुकमा रहेर आर्जन गरेका ज्ञान र सीपहरुलाई आफ्नो देशमा प्रयोग गर्नु पर्नेमा जोड दिदै हाल सम्म गरिएका दृष्टान्तहरु पनि प्रस्तुत गरिएका थिए। अमेरिकामा नेपालबाट निर्यात गरिने छुर्पीको प्रसंग, इजरायल र जापानबाट नेपालमा फर्केर गरिएको सफल व्यवसायको सफलताको कथा उल्लेख गर्दै वक्ताहरुले प्रवासको ज्ञान, सीप स्वदेशमा प्रयोग गर्नुपर्ने कुरा उल्लेख गरेका थिए। कार्यक्रममा शिक्षाविद्हरुले मुलुकको समृद्धिको निम्ति प्रवासमा रहेका विद्यार्थीहरुले प्राविधिक र भौतिक पूर्वाधारसम्बन्धि मात्र ज्ञान हासिल गर्ने हो भने पनि नेपालको विकासमा धेरै योगदान पुग्ने कुरा बताएका थिए। अन्ततोगत्वा प्रवासमा हासिल गर्ने ज्ञान र सीप नै मुलुकको समृद्धिका निम्ति कोशेढुंगा साबित हुने कुरालाई प्रमुखताका साथ प्रस्तुत गरिएको थियो।

प्रवासीको सफलताले मुलुकलाई स्पर्श
प्रवासमा रहेका नेपालीहरुलाई निश्चित उद्देश्य प्राप्तिपश्चात नेपाल फर्किन वक्ताहरुले अनुरोध समेत गरेका थिए। तर, कुनै कारणवश नेपाल फर्किन नसकेको अवस्थामा पनि आफू बसेको ठाउँमा आफ्ना सफलताका कथाहरुले नेपालको चिनारी र पहिचानमा टेवा पुग्नुपर्नेमा ध्यान दिन सुझाएका थिए। नेपालको गौरवमा पनि ईट्टा थप्नेतर्फ वक्ताहरुले ध्यानाकर्षण गराएका थिए। प्रवासी नेपालीका स(साना अथवा ठूला सफलताले मुलुकलाई स्पर्श गर्नुपर्ने कुरा सम्मेलनमा प्रस्तुत गरिएको थियो।

व्यक्तिगत दायित्वबोध र स्वाभिमान
कार्यक्रममा प्रवासी नेपालीको व्यक्तिगत दायित्वबोध र स्वाभिमानको बारेमा प्रत्येक वक्ताहरुले आफ्नो विचार राखेका थिए। आफैंप्रति इमान नहुनेले अरुसँग इमानदार बन्न नसक्ने बताउदै सबै नेपालीहरुले इमानदार भएर हरेक पेशा र कामलाई सम्मान गर्न अनुरोध गरे । मुलुकको समृद्धमा मुलुकवासीको व्यक्तिगत दायित्वबोधले ठूलो भूमिका खेलेको हुन्छ भन्ने प्रसंग उठेको थियो। सच्चा स्वाभिमान नेपाली नै देश विकासको दरिलो खब्बा हुने कुरा पनि उठेको थियो।

पछिल्लो समय जापानबाट नेपालमा गरिने लगानी उल्लेख्य रुपमा बढिरहेको छ। यो सम्मेलनले मुलुकमा पनि केही गर्न प्रेरणा दिने विश्वास गर्न सकिन्छ।

(लेखकद्वय टोकियो सम्मेलनको समिक्षक हुनु हुन्छ ।)

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.