जवाहरलाल नेहरू विश्वविद्यालय छात्रसंघका पूर्व अध्यक्ष तथा चर्चित युवा नेता कन्हैया कुमारले आसन्न लोकसभा निर्वाचनमा दल गठबन्धनतर्फबाट टिकट नपाउने भएका छन्। उनलाई गृहनगर बिहारमा राष्ट्रिय जनता दलको कोटाबाट टिकट दिने चर्चा थियो।
बिहारका लागि विपक्षी गठबन्धनले आफ्नो सिट बाँडफाँट घोषणा गरेको छ। राष्ट्रिय जनता दलले २० सिट, कंग्रेसले ९, उपेन्द्र कुशवाहाको पार्टी राष्ट्रिय लोक समता पार्टी ५, मुकेश सहनीको विकासशील इन्सान पार्टी ३, र पूर्व मुख्यमन्त्री जीतनराम माझीको हिस्दुस्तान आवाम मोर्चाले ३ सिटमा चुनाव लड्ने भएका छन्।
राष्ट्रिय जनता दलले आफ्नो कोटाबाट सिपिआई (माले)लाई एक सिट दिने भनेको थियो। त्यही एक सिटमा सिपिआईले कन्हैया कुमारलाई उठाउने चर्चा थियो। तर यो हुन सकेन।
कन्हैया कुमार र राष्ट्रिय जनता दलका नेता तेजस्वी यादवबीच केही महिनादेखि निकटता बढ्दो थियो। उनीहरू एकै मञ्चमा पनि देखिएका थिए।
तेजस्वी कन्हैयाका पक्षमा बोल्न थालेका थिए। उनले पटनामा मकर संक्रान्तिको अवसरमा आयोजित कार्यक्रममा कन्हैयाका निम्ति भनेका थिए, 'भाजपाका विरूद्ध जो बोल्छ, ऊविरूद्ध मुद्दा चलाइन्छ। हाम्रा मान्छेहरूमाथि यस्तै भइरहेको छ।
यो भाषणमा उनले 'हाम्रा मान्छे' भनेर कन्हैयालाई भनेका थिए। तेजस्वीको यो भाषणदेखि नै कन्हैया महागठबन्धनमा सहभागी हुने आकलन थियो।
तर कन्हैया जस्ता उदीयमान नेता किन सामेल हुन सकेनन्?
बिहारको राजनीतिबारे जानकारी राख्ने पत्रकार राजेन्द्र तिवारीले यसमा मुख्य दुई कारण हुन सक्ने देखेका छन्ः
पहिलो, बिहारमा विपक्षी गठबन्धनको नेतृत्व तेजस्वी यादवले गरिरहेका छन् र उनी जातिको गणितमा विश्वास गर्छन्।
दोस्रो, पछिल्लो समय कन्हैया कुमारको छवि सत्तापक्षले 'देशद्रोही' बनाइदिएको छ। उनीविरूद्ध मुद्दा पनि चलिरहेको छ। यस्तो अवस्थामा राष्ट्रवादी माहोलविपरीत पार्टी जान चाहँदैन।
पत्रकार तिवारीका अनुसार तेजस्वी 'सुरक्षित' भएर चल्न चाहन्छन्। कन्हैया कुमार बलियो आवाज भएका र आममान्छेको भाषा बुझ्ने र बुझाउने क्षमता भएका नेता हुन्। यस्तो अवस्थामा कन्हैयालाई गठबन्धनमा सामेल नगराउनु कुनै बाध्यता नै परेको हुनसक्ने तिवारीको अनुमान छ।
पटनाका पत्रकार अजय कुमार भने यसम अलग कारण देख्छन्। राजनीतिमा कुनै दलसँग गठबन्धन गरिँदैछ भने उसको जनाधार पनि हेरिन्छ। त्यसको फाइदा आफ्ना अरू सिटमा हुन्छ कि हुँदैन आकलन गरेर सिट बाँडफाँट हुने अजय कुमारको भनाइ छ।