‘फ्रान्स विश्वकै एक नम्बर प्रभावशाली देश’


सैनिक  शक्तिको प्रयोग नगरी कुनै शक्तिशाली  मुलुकले विश्वका अन्य मुलुकमा आफ्नो प्रभाव विस्तार गर्नुलाइ ‘सफ्ट पावर’ भनिन्छ। यसप्रकार गैरसैनिक  माध्यमद्वारा विश्वमा आफ्नो प्रभाव पार्न सक्नेमा फ्रान्स एक नम्बर देश बनेको छ। खेलकुदमा सहभागिता , पर्यटकीय आकर्षण, खानपिन, सूचना प्रविधिको प्रयोग, बाहिरी विश्वसँगको खुलापन, अन्तर्राष्ट्रिय  मामिलाहरुमा नेतृत्व लिन सक्ने क्षमता आदिको आधारमा कुनै पनि देशको सफ्ट पावरको सूचांक निर्धारण हुन्छ। हरेक वर्ष मापन गरिने सफ्ट पावर सूचांकमा यो वर्ष फ्रान्स एक नम्बरमा परेको छ। अघिल्लो वर्ष फ्रान्स पाचौं नम्बरमा थियो।

सूचीमा बेलायत दोश्रो  नम्बरमा छ। अमेरिका तेश्रो  नम्बरमा परेको छ। अघिल्लो वर्ष अमेरिका सूचीमा पहिलो स्थानमा थियो।

सफ्ट पावरको सूचांक निर्धारण बेलायतको एउटा सस्था  Le cabinet britannique de conseil stratégique en communication Portland ले गरेको थियो। सो संस्थाका अनुसार तीन प्रमुख देशको  सूचांकमा आएको परिवर्तनलाई यसप्रकार व्याख्या गरिएको छ:

फ्रान्स : अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरुप्रति फ्रान्सले देखाएको प्रतिबद्धता  र अन्तर्राष्ट्रिय राजनीतिमा फ्रान्सले देखाएको सुझबुझको कारण सफ्ट पावर सूचकमा फ्रान्सको स्थिति मजबुत बन्यो। अति दक्षिणपन्थी पार्टीका राष्ट्रपति उम्मेदवारले चुनावमा हार्नु र युरोपियन युनियनका कट्टर पक्षधर एमानुएल माक्रोंले जित्नु, संसारकै कम उमेरका निर्वाचित राष्ट्रपति देश र विदेशमा प्रसिद्ध हुनु आदिजस्ता कारणले पनि फ्रान्सको सफ्ट पावर सूचांकमा प्रगति हुन पुग्यो। आतंककारी आक्रमणका बाबजुद पनि फ्रान्सको पर्यटकीय गतिविधिमा खासै कमि आएन। नयाँ राष्ट्रपतिले सुचना प्रविधिको विकास र विस्तारलाई दिएको प्राथमिकताले पनि सकारात्मक सन्देश प्रवाह गर्यो। जसको कारण राष्ट्रपति माक्रोंलाई क्यानाडाका Justin Trudeau  र अर्जेन्टिनका Mauricio Macri सँग तुलना गर्न थालियो।

अमेरिका: अघिल्लो वर्ष प्रथम स्थानमा रहेको अमेरिका यस वर्ष तेश्रो स्थानमा पुगेको छ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका केही नीतिहरुले सफ्ट पावर सूचांकमा नकारात्मक प्रभाव पार्‍यो। अमेरिकन फस्ट नीति , अन्य मुलुकबाट विस्तारै टाढा रहने रणनीति, वातावरण सम्बन्धि पेरिस सम्झौताबाट अलग हुनु, सैनिक खर्चमा बृद्धि, वैदेशिक सहयोगका रकमहरुमा कटौती, कुटनीतिक क्षेत्रमा गरिने खर्चमा कटौती आदि त्यसकिसिमका नीतिहरु हुन्। यसका बाबजुद वैदेशिक प्रभाव विस्तारमा अमेरिकाको उच्च शिक्षाको योगदान अन्य राष्ट्रको तुलनामा धेरै अगाडि छ। किनकि, विश्वभर प्रतिष्ठित धेरै विश्वविद्यालयहरु अमेरिकामा छन्।  तिनीहरुले संसारभरिका  विद्यार्थीहरु आकर्षित गरिरहेका छन्।

बेलायत: तीन वर्ष अगाडि सफ्ट पावरको सूचीमा पहिलो स्थानमा रहेको बेलायत यस वर्ष तेस्रो स्थानमा परेको छ। यसका प्रमुख तीन कारणहरुः युरोपियन युनियनबाट बेलायत बाहिरिनु, अन्य देश  तथा क्षेत्रीय संगठनहरुसँगका वार्ताहरु अनिश्चित हुनु, बेलायतबाट प्रमुख अन्तर्राष्ट्रिय संगठनहरु बाहिरिनु आदि।

Le cabinet britannique de conseil stratégique en communication Portland ले दिएको निश्कर्ष अनुसार गैरसैनिक उपायद्वारा विश्वमा प्रभाव जमाउनको लागि सो  देशले अन्य देशहरुसँग तुलनात्मक रुपमा बढी खुल्ला रहनु, सहनशील रहनु र विवेकपूर्ण रुपमा सहकार्य गर्न सक्नु पर्ने देखिन्छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.