गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको काउन्सिल बैठक आगामी मार्च महिनाको पहिलो साता हुने निर्णय भएको छ। संघको 'काउन्सिल बैठक' आगामी मार्च २ तारिख तोकिएको हो।
उक्त काउन्सिल बैठकमा बेलायतका सम्पूर्ण संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहने छ। काउन्सिल बैठक आयोजना गर्न उपाध्यक्ष लिलाराम निउरेको संयोजकत्वमा एक उपसमिति गठन गरिएको छ।
एनआरएनएका केन्द्रीय उपाध्यक्ष रामशरण सिम्खडाले समन्वय परिषद् (एनसिसी)हरूलाई निर्बाध रूपमा आफ्ना गतिविधि चालु राख्न सक्ने बताए।
हाल केन्द्रमा देखिएको विवाद सर्वोच्चको पछिल्लो फैसलाले निरूपण गर्दै निर्वाचित कमिटीलाई निर्बाध काम गर्न र पूर्णकार्यकाल क्रियाशील हुँदै आवधिक निर्वाचनपछि नेतृत्व हस्तान्तरण गर्न बाटो खोलेको बताए।
एनआरएनए युकेको सदस्यता वितरण आगामी १५ जनवरी २०२५ देखि ३१ मेसम्म गर्ने निर्णय भएको समेत सिम्खडाले बताए। सदस्यता शुल्क १० पाउण्ड तोकिएको छ। नवीकरण प्रक्रियालाई सरलीकृत गर्न केन्द्रीय प्रणालीमा सुधारको लागि अनुरोध गर्ने समेत निर्णय गरेको छ।
त्यस्तै, एनआरएनए युकेको निर्वाचन आगामी १२ जुलाई २०२५ मा हुने भएको छ। अनलाइनमार्फत् सदस्यता वितरण र निर्वाचन गर्ने सर्वसम्मत निर्णय भइसकेको छ।
निर्वाचन समितिको संयोजक समेत सिम्खडालाई तोकिएको छ।