बाँसुरीवादकसहित कविता सुनाउन अष्ट्रेलिया पुगे नवराज पराजुली

बाँसुरीवादकसहित कविता सुनाउन अष्ट्रेलिया पुगे नवराज पराजुली


कवि नवराज पराजुली युवापुस्तामाझ परिचित नाम हो। हालै पहिलो कवितासंग्रह ‘सगरमाथाको गहिराइ’ सार्वजनिक गरेका उनी त्यसअघि नै आधा दर्जन कविताबाट चर्चित थिए। सगरमाथाको गहिराइ, हेब्बी बड्डे, सतिदेवीको गाण्डिवलगायत कविताबाट चर्चित कवि पराजुली कविता कन्सर्टमा पनि व्यस्त कवि हुन्। उनी महँगो पारिश्रमिक लिएर कविता सुनाउन ठाउँ–ठाउँ चाहार्छन्।

यसअघि भारतको मञ्चमा कविता सुनाइसकेका पराजुलीले दुई हप्ताअघि जर्मनीमा समेत कविता कन्सर्ट सकाएका थिए। थिएटर भिलेजको नाटक यात्राका क्रममा उनले जर्मनीमा कविता सुनाएका थिए भने हालै उनी तीन हप्ताका लागि अष्ट्रेलिया पुगेका छन्। विशुद्ध कविता कन्सर्टका लागि गएका पराजुली एक्लै मात्रै छैनन्, उनका साथमा बाँसुरीवादक सम्यक महर्जनसमेत छन्।

किशोरावस्थामै बाँसुरीवादनमा पहिचान बनाउँदै गरेका महर्जनको धुनमा पराजुलीले यसअघि दुई–तीन कन्सर्टमा कविता सुनाइसकेका थिए। पराजुलीले आफ्नो कवितासंग्रह सार्वजनिक गर्दासमेत महर्जनको साथ लिएका थिए।

भानु जयन्तीको अवसर पारेर पश्चिम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पर्थ च्याप्टर, अष्ट्रेलियाको निम्तोमा उता पुगेका पराजुलीको कवितावाचन शैली र महर्जनको बाँसुरी प्रस्तुतिले स्रोतालाई भावुक तुल्यायो। हेब्बी बड्डेजस्ता कविता सुन्दा अधिकांशका आँखा रसाएका देखिन्थे।

करिब ५५ मिनेट स्टेजमा अनवरत प्रस्तुति दिएका पराजुलीले ‘हेब्बी बड्डे’, ‘सगरमाथाको गहिराइ’, ‘खोया’, ‘मोक्ष’ लगायतका कविता सुनाएका थिए।

तीन हप्ताको बीचमा पराजुलीले अष्ट्रेलियाका अन्य सहरहरु सिड्नी, क्यान्बेरा, ब्रिस्बेन, एडिलेड र मेल्बर्नमा आयोजित कन्सर्टमा कविता सुनाउनेछन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.