सरकारलाई हुन्डी रोक्न निर्देशन – Setopati Nepal's Online Newspaper

सरकारलाई हुन्डी रोक्न निर्देशन

अस्ट्रेलियामा हुन्डी खुल्लमखुल्ला


संसदको अर्थ समितिले विदेशमा काम गर्ने नेपालीहरुले स्वदेश पठाउने रकम औपचारिकरुपमा बैंक मार्फत भित्र्याउने नीतिगत व्यवस्था गर्न सरकारलाई बिहीबार निर्देशन दिएको छ।

देशको अर्थतन्त्रको मेरुदण्ड बनिसकेको रेमीट्यान्सको ठूलो परिमाण गैरकानुनी हुण्डीमार्फत आउने हुँदा बार्षिक अर्बौं रुपियाँ बराबरको विदेशी मुद्रा देश भित्रिन नसकेको राष्ट्र बैंकले जनाएको छ। चालु आर्थिक वर्षको दश महिनामामात्रै झन्डै साढे पाँच खर्ब रुपैयाँ विप्रेषण आम्दानी भएको राष्ट्र बैंकको आँकडाले देखाउँछ।

यही कारण वैदेशिक रोजगारले देशको कूल गार्हस्थ उत्पादनको झण्डै एक तिहाई हिस्सा ओगटिसकेको छ।

तर सबै विप्रेषण आम्दानी बैंकिङ माध्यमबाट भित्रिन सकेको छैन। खाडी राष्ट्रबाट करिब ९० प्रतिशत कानुनी माध्यमबाट आउने भए पनि केही विकसित मुलुक जस्तै अस्ट्रेलिया, जापान, दक्षिण कोरियाबाट अझै पनि उल्लेख्य परिमाणमा गैरकानुनी हुण्डी मार्फत यस्ता रकम भित्रिन्छन्।

हुण्डी फस्टाएको सबैभन्दा टड्कारो उदाहरण दक्षिण कोरिया र अस्ट्रेलिया बनेको छ। त्यहाँबाट बार्षिक करिब ६० अर्ब रुपैयाँ नेपालीले आम्दानी गरे पनि त्यसको सात आठ प्रतिशत मात्र बैंकिङ प्रणालीबाट भित्रिने गरेको अर्थ समितिका सभापति प्रकाश ज्वालाले बताएका छन्।

दक्षिण कोरिया र अस्ट्रेलिया जस्तै अन्य मुलुकबाट पनि यसरी हुने हुण्डी कारोबारले विदेशी मुद्राको आयमा बार्षिक अर्बौंको नोक्सानी पुर्‍याइरहेकोले सरकारलाई आवश्यक नीति अपनाउन समितिले निर्देशन दिएको छ।

बैंक वा रेमिट्यान्स कम्पनीमार्फत पैसा घर पठाउनुको साटो  आफूले  कमाएको पैसा विदेशमै एजेन्टमार्फत स्वदेशमा आफन्तलाई नेपाली मुद्रा उपलब्ध गराइने कार्यलाई हुण्डी भनिन्छ।

यसो गर्दा देशमा विदेशी मुद्रा भित्रिदैन। आयातमा पूर्णत: निर्भर नेपालका लागि विदेशी मुद्रा अति नै महत्वपूर्ण मानिन्छ। त्यसमाथि कतिपय अवस्थामा त हुण्डी कारोबारमा ठगी भएका समेत घटनसमेत छन्।

विदेश जान उत्सुक नेपाली कामदारलाई पैसा पठाउने भरपर्दो, कानुनी र देशलाई फाइदाजनक उपायबारे पनि बताइनु पर्ने आवश्यकता औंल्याइएको छ।

खासमा हुण्डीमार्फत कुन देशबाट कति रकम आउँछ भन्ने यकिन आँकडा उपलब्ध छैन।

तर बिशेषगरी व्यापारिक सम्बन्ध भएका मुलुकहरुबाट चाहिँ व्यापारीहरुले विदेशी मुद्रा उतै लिएर सामान ल्याउने उपाय अपनाउँदा हुण्डी कारोबार ह्वात्तै बढेको छ । हंगकंग, सिंगापुर, चीनबाट त्यसरी व्यापारिक सामान आउने सरकारको आकलन रहेको छ।

अहिले देशको ढुकुटीमा ११ खर्ब रुपैयाँ बराबरको विदेशी मुद्राको सञ्चिती रहेको छ। हुण्डी न्यूनीकरण गर्न सके ढुकुटीमा त्यो रकम उल्लेखनीय रूपमा बढ्न सक्ने राष्ट्र बैंकको ठहर छ।

तर त्यसका निम्ति सरकारी नीति नियम मात्र नभइ काम गर्ने जाने नेपालीहरुलाई पनि यथेष्ट जानकारी गराउनु उत्तिकै महत्वपूर्ण हुने देखिन्छ। अस्ट्रेलियावाट मात्र दिनहुँ करिब दुई करोड नेपाली रुपैयाँ हुन्डी मार्फत नेपाल भित्रीन्छ।

दैनिक लाखौं आम्दानी हुने हुन्डीले नेपालमा समेत च्यानल फिट गरेर र निर्वाध धन्दा चलाइरहेका छन्। नेपालमा गैरकानूनी भए पनि अस्ट्रेलियामा भने मनी ट्रान्सफरका नाममा खुलमखुल्ला हुन्डी चल्दै आएको छ। अस्ट्रेलिया र अमेरिकाजस्ता देशमा हुन्डीवालाहरुको कमाई पनि निकै आकर्षक भएको बताइन्छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.