एनआरएन अस्ट्रेलियामा नायक कि वकिल?


गैरआवासीय नेपाली संघ, अस्ट्रेलियाको निर्वाचन यही आउँदो जुलाइ ८ लागि तय भएपछि चुनावी सरगर्मी झनै बढेको छ ।

यतिखेर एनआरएन अस्ट्रेलियाको विभिन्न महत्त्वपूर्ण पदमा करिब चार दर्जन प्रत्यासीहरु आफ्नो दाबेदारी पेश गरिरहेका छन् ।

विश्वभर फैलिएको गैरआवासीय नेपाली संघको सञ्जालभित्र महत्त्वपूर्ण उपस्थिति र भुमिका निर्वाह गरेको अस्ट्रेलिया चासोको केन्द्रमा पर्ने गरेको छ । गैरआवासीय नेपालीमाझ अष्ट्रेलिया केन्द्रीय अध्यक्ष शेष घलेको देशका रुपमा परिचित छ ।

अस्ट्रेलियाको निर्वाचनमा अध्यक्षका लागि चार जना मैदानमा देखिएका छन । जसमध्ये मेलवर्नका शैक्षिक परामर्शदाता तथा माइग्रेशन लयर टोनु घोताने तथा ब्रिसबेनका युवा व्यावसायी तथा सिनेमाका नायक स्वतन्त्र प्रताप शाहबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

अध्यक्षका अन्य प्रतिस्पर्धीहरुमा क्वीन्सल्यान्डका अभिमानसिंह बस्नेत र भिक्टोरियाका महेश भण्डारी रहेका छन् ।

राजनीतिक घुसपैठ नहुने भनिएता पनि हरेक देशको एनआरएनको निर्वाचनमा विभिन्न समूह र रङमा रहेर उम्मेदवारी पर्ने गरेको देखिन्छ । अस्ट्रेलियामा पनि यसपटक निलो र रातो रंगका पोष्टरहरु बजारमा आइसकेका छन । करिब एक महिना अघिदेखि नै तातेको माहौलले यतिखेर अन्तिम रुप लिँदै छ । यद्यपि, बैठक र टिमको प्रचार भने तीब्र गतिमै छ । फेसबुकमा भित्ताहरु उम्मेदवारी र चुनावी नारामा रंगिएका छन ।

वर्तमान महासचिव घोताने एनआरएनएलाई नयाँ आयामका साथ अगाडि बढाउन आफूले अध्यक्षमा उम्मेदवारी दिएको बताउँछन् । खेलकुद, भाषा, कला, संस्कृति, प्रवासी समाज तथा एनआरएनको भुमिकालाई बलियो बनाउने र सबैको साझा संस्थाका रुपमा अगाडि लाने सोच रहेको उनले बताए ।

यसअघि महासचिवका प्रत्यासी रहेका शाह यसपटक भने अध्यक्षकै दाबेदारका रुपमा देखिएका छन् । हाम्रो समाजलाई एकतामा बाँध्ने अनि प्रवासको मायालाई स्वदेशको उन्नतिमा गाभ्ने सोच बोकेर एनआरएनमा उम्मेदवारी दिएको उनी बताउँछन् ।

एनआरएन अस्ट्रेलियाको महासचिवमा पनि तीनजनाले उम्मेदवारी प्रस्तुत गरेका छन् । जसमा क्वीन्सल्यान्डका इन्जिनियर नारायण कोइराला, सिड्नीका प्राध्यापक राजु मानन्धर र सिड्नीकै ज्ञानेन्द्र रेग्मीको उम्मेदवारी परेको छ ।

क्वीन्सल्यान्डमा नेपाली समाजका अगुवाका रुपमा चिनिएका कोइराला पेशाले आइटी इन्जिनियर हुन् । ‘एनआरएनमा व्यवसायीक उम्मेदवारको खाँंचो र यसले जोड्छ मुलुकको विकासको साँंचो’ भन्ने नाराका साथ उनले उम्मेदवारी प्रस्तुत गरेको उनले बताए ।

राष्ट्रिय फुटबलमा समेत चिनिएका राजु मानन्धर नेपाली खेल क्षेत्रलाई अस्ट्रेलियासँंग जोडने र सबै नेपालीलाई एकतामा बाँध्ने उद्देश्यका साथ आफ्नो दाबेदारी प्रस्तुत भएको बताउछन् ।

संस्थाको सचिवमा विकास केसी र देव गुरुङ, कोषाध्यक्षमा कुशल केसी, अच्युत शर्मा तथा अनिल पोखरेलले उम्मेदवारी दिएका छन् ।

आठ हजार मतदाता रहेको एनआरएन अष्ट्रेलियामा यस पटक नायक चुनिन्छन् कि वकिल भन्ने कौतुहल बढेको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.