एनआरएनएको चुनाव र हामी एनआरएन


नन रेसिडेन्ट नेपाली एसोसिएसन (एनआरएनए) को विभिन्न देशहरूमा रहेका संगठन (एनसिसी)हरूमा चुनावी माहौल तातिरहेको छ । विभिन्न देशमा रहिआएका नेपालीहरूको हक, हित र संगठनलाई सुदृढ गर्ने उद्देश्यका साथ यो संस्थाको स्थापना भएको थियो । साथै, पर्यटन प्रवद्र्धन गर्ने तथा नेपालमा लगानी भित्र्याउने यसको अर्को प्रमुख उद्देश्य थियो ।

यो संस्थाले स्थापनाकालको करिब डेढ दशकमा विभिन्न उतारचढावको सामना गर्दै आइरहेको छ । साथै, यसको दायरा, उद्देश्य र सीमा पनि विस्तारित भएको छ ।

एनआरएनएलाई बुझ्नका लागि एनआरएनएको इतिहास बुझ्न जरुरी हुन्छ । एनआरएनएको आधिकारिक वेबसाइटमा एनआरएनको स्थापनाको उद्देश्यलाई हेर्ने हो भने पहिलो वाक्य यस्तो लेखिएको छ –

‘Non-Resident Nepali Association (NRNA) was established with the purpose of uniting and binding the Nepali Diaspora under one umbrella on 11 October, 2003.

यसको स्थापनाको उद्देश्यले मेरो पनि मन छोएको थियो । विदेशिन वाध्य नेपाली जमातलाई एउटा छातामुनि ल्याएर उनीहरूको हक र हितका लागि लड्नु सानो कुरा हुँदै होइन । यो एउटा पवित्र कार्य हो । यसमा दुईमत हुनै सक्दैन ।

एनआरएनएलाई बुझ्नका लागि एनआरएनको परिभाषा पनि बुझ्न उत्तिकै जरुरी हुन्छ । एनआरएनएको पछिल्लो विधानमा एनआरएनको परिभाषा यसरी उल्लेख गरिएको छ – ‘गैरआवासीय नेपाली भन्नाले नेपाली मूलको विदेशी नागरिक वा दुई वर्षभन्दा बढी नेपाल सरकारबाट खटिई विदेशस्थित नेपाली नियोगमा वहाल रहेको, विदेशस्थित शिक्षण संस्थामा अध्ययन गरिरहेको नेपाली नागरिक र दक्षिण एसियाली सहयोग संगठन अन्तर्गतका मुलुकहरू बाहेकका अन्य देशहरूमा पेशा, रोजगारी वा व्यवसाय गरी बसोबास गर्ने नेपाली नागरिकलाई जनाउँदछ ।’

यो परिभाषालाई आधार बनाउने हो भने अहिले विश्वका विभिन्न मुलुकमा रहेका धेरै नेपालीहरुमध्ये अधिकांशलाई एनआरएन भनेर मान्न सकिन्छ । साथै यो समूहको ठूलो हिस्सा मलेसिया र अरब राष्ट्रमा बस्छ भनेर बुझ्न त्यति कठिन होला जस्तो लाग्दैन । त्यसैले त यो संस्थाको गरिमा र दायरा एकदम फराकिलो बनेको छ । यी विभिन्न पृष्ठभूमिका नेपालीहरू जो मजदुर छन्, जो गरीव छन्, जो दुई छाक टार्नका लागि बाध्य भएर विदेशिएका छन्, के तिनीहरूको प्रतिनिधित्व आजको एनआरएनएले गरिरहेको छ त ? यसको उत्तर पाउन खासै गाह्रो लाग्दैन ।

नेपालमा साधारण जनताले पनि एनआरएन भनेका त विकसित मुलुकमा बस्ने, अरबपति, करोडपति वा सम्पन्नशाली हुन् भनेर बुझ्ने गरेका छन् । त्यति मात्र होइन, एनआरएनहरु भनेका नेपाली मूलका विदेशी नागरिक वा विकसित राष्ट्रका ग्रिनकार्ड वा पीआरधारी धनाढ्यहरू हुन् । जसलाई छोरी दिन पाउँदा एउटा परिवार खुशीले गद्गद् हुन्छ वा ज्वाइँ बनाइयो भने यही जुनीमा वैतरणी पार गर्न पाएसरहको आत्मसन्तुष्टि महसुस गर्न थालिएको छ ।

एनआरएनए अहिले यस्तो संस्थाका रूपमा पनि स्थापित भएको छ जसको नेतृत्वमा पुग्न सम्पन्न हुनैपर्छ । उद्योगी, व्यापारी, हुण्डीवाल, कन्सल्टेन्सी सञ्चालकहरू नै यसको नेतृत्वमा पुग्नुले यसको पुष्टि गरेको गर्छ । समस्या नेतृतवमा को पुगे वा पुगेन भन्ने पनि होइन । समस्या त त्यहाँ हुन्छ जब अल्पसंख्यकको प्रतिनिधिले बहुसंख्यकलाई नेतृत्व गर्न खोज्छ । अनि, समस्या बन्छन् मुख्य एजेण्डाहरू । उद्योगीका मुख्य एजेण्डा भनेको कसरी लगानी गर्ने, कसरी व्यापार गर्ने भन्ने प्रश्नमा केन्द्रित रहन्छ । यसकारण, सबभन्दा पीडित समूहरूका एजेण्डाहरू स्वतः छायाँमा पर्दै जान्छन् । ती पीडित वर्गका समस्याहरू सम्बोधन हुनका लागि तिनीहरू पनि नेतृत्व तहमा पुग्ने वातावरणको श्रृजना गर्नु अत्यन्त जरुरी छ । तर, अहिलेको एनआरएनएको सांगठनिक चित्रलाई बुझ्ने र हेर्ने हो भने त्यस्तो हुने कुनै सम्भावना देखिँदैन ।

हो, एउटा कुरा के मान्न सकिएला भने सफलतम् व्यापारी, उद्योगीसँग यो संस्थालाई दिने पैसा र समय दुवै होला जति विद्यार्थीलाई नहोला । हरेक दिन काम गरेर हातमुख जोर्ने एउटा मान्छेले म समाजसेवा गर्छु वा म नेतृत्व गर्छु भनेर भन्न नसुहाउला तर त्यसो भन्दैमा नेतृत्वलाई सामाजिक हिसावले समावेशी बनाउनै सकिन्न भन्नेचाहिँ होइन । सकल समाजलाई नेतृत्वदायी भूमिका खेल्ने संस्था हो भनेर यदि गर्व गर्ने हो भने नेतृत्वमा पनि सकल समाजलाई स्थापित गर्नसक्नुपर्छ । त्यसका लागि वातावरण बनाउने काम पनि हुनुपर्दछ ।

अस्ट्रेलियाको मामिलामा पनि सबभन्दा पीडित पक्ष विद्यार्थीलाई पनि अटाउन सक्ने वातावरण बनाउनु प्रमुख चुनौती रहेको छ । साथै, अन्य केही पेशाकर्मी, महिलाहरूलाई पनि यस संस्थाले आकर्षण गर्न नसकेको स्वीकारोक्ति वेलावेलामा नेतृत्व पक्षले गरेकै छन् ।

हालसालै एक एनआरएनएको उपल्लो तहका नेताले नेपालका एक मन्त्रीलाई भेट्दा भनेका थिए – ‘तपाईं लगानी गर्ने वातावरण बनाइदिनोस् हामी लगानी गर्न तयार छौं ।’ लगानी गर्नु नराम्रो कदापि होइन । तर, मलाई अचम्म कतिवेला लाग्छ भने बहुसंख्यक एनआरएनहरू जो अरबमा बस्छन्, तिनीहरुका पीडा, मर्का र दुःखले प्राथमिकता पाउन नसक्नु दुःखदायी कुरो हो । हो, केही काम भएका छन् तर प्राथमिकता छनौटमा समस्या छ । जब व्यापारीले नेतृत्व गर्छ, व्यापारले प्राथमिकता पाउँछ । यति भन्दाभन्दै पनि मलाई के लाग्छ भने एनआरएनएले भूकम्पपीडितका लागि लाप्राकमा गरिरहेको प्रोजेक्ट, वृद्धाश्रम निर्माण, महिलाहरूको स्वास्थ्यका कार्यक्रम, किरियापुत्री भवन निर्माणजस्ता धेरै राम्रा कामहरू पनि छन् ।

अब एनआरएनहरूलाई हर्ने दृष्टिकोणमा बदलाव ल्याउनु जरुरी छ । एनआरएनहरु धनी, सम्पन्न वा विश्वका सम्पन्न मुलुकबाट मात्र आएका हुँदैनन् भनेर बुझ्ने नेतृत्वको टड्कारो खाँचो देखिन्छ । अरब, मलेसिया वा कम विकसित मुलुकमा बसेर आफ्नो पसिना बगाउने बहुसंख्यक नेपाली वर्ग हो, त्यो वर्गलाई एनआरएनको परिभाषाको परिधिभित्र त ल्याउन सक्ला । तर, वास्तविक एनआरएनए बनाउन जुन सोंच, चेतना र एजेण्डाहरूको जरुरी छ, त्यस्ता एजेण्डा ल्याउने नेतृत्वको अभाव भइरहेको छ । ती समस्याको सम्बोधन हुनका लागि तिनै मानिसहरूबाट यस संगठनको नेतृत्वमा पहुँच पु¥याउनु जरुरी हुन्छ । तर, एनआरएनएका अहिलेको नेतृत्वपंक्ति श्री ३ र श्री ५ हरू जस्तै गजधम्म भएर मख्ख परेर बसिरहेछन् र भनिरहेछन् – ‘तिमीहरू पीडित वर्ग हौ, तिमी सधैं हाम्रै पैतालामुनि बस्नुपर्छ । तिमीहरूको हक, अधिकारका लागि हामी छँदैछम् नि !’

एनआरएनए अस्ट्रेलियाको पनि यही जुलाई ८ तारिखमा चुनाव हुँदैछ । एनआरएनए अस्ट्रेलिया एउटा यस्तो संस्था हो जहाँ ‘समाजसेवा’ गर्न चाहने मान्छेको कमी छैन । यसले ‘भोल्युन्टियर’ शब्दको परिभाषा नै बदल्ने काम गरेको छ । यो देख्दा साह्रै खुसी पनि लाग्छ तर खुसीभन्दा धेरै खुल्दुली लाग्छ । आखिर आफ्नो पूरै समय र पैसा खर्च गरीगरी मान्छेहरू यसरी किन ओइरिएका होलान् ? आखिर यसमा त्यस्तो चुम्बकीय तत्व के रहेछ ? चुनावमा उठ्नेको लर्को देख्दा एकथरि भन्ने गर्छन् –‘सानोतिनो नेपाल अस्ट्रेलियामा पनि बनिसकेछ ।’ राम्रो कुरा हो । विदेशमा समाजसेवाप्रति आकर्षण हुनु अत्यन्त तारिफयोग्य काम हो तर जब समाजसेवाको खोल ओढेर आफ्ना व्यापार प्रबद्र्धन गर्ने, राजनीतिक विचारधारा लाद्ने र तथाकथित ‘समाजसेवी’ को पगरी गुथाउने मात्र काम गरिन्छ, तब संस्थाको मात्र नभएर समाजसेवाको अर्थमा समेत आँच आउँछ ।

अहिलेसम्म एनआरएनए अस्ट्रेलियामा विद्यार्थीले उचित ठाउँ पाउन सकेका छैनन् किनकि विद्यार्थी पीडित हुन्छन् । तिनीसँग समय र पैसा हुँदैन । एनआरएनएमा समाजसेवा गर्न समय र पैसा दुवै चाहिन्छ । एनआरएनए अस्ट्रेलियाको सदस्यता विवाद अनि ‘फेन्का’को गठनमा पनि केही यही संस्थामा काम गरेका अग्रजहरू लागिपर्नुले यो संस्थामा कमजोरीहरू रहेको गन्ध पाउन सकिन्छ ।

समस्याहरु जहाँ पनि हुन्छन् । समस्याहरु छन् भनेर अहिलेको नेतृत्वले स्वीकार गर्नु पनि राम्रो पक्ष हो जस्तो लाग्छ । तर, समस्या समाधानका लागि सम्बोधन गरिएनन् भने यस्ता समस्याहरू अझै आउनेछन् । यस्ता समस्याहरूको समाधान बेलैमा गरिनुपर्छ र पथ्र्यो तर कसैले औंला ठड्याउने काम नगरेको भए यसको समाधानतर्फ कोही पनि अग्रसर नहुने रहेछन् भन्ने कुराको पनि पुष्टि गरेको छ । यतापट्टि पनि आउने नयाँ नेतृत्व सजग हुन जरुरी छ ।

आगामी चुनावमा धेरै उम्मेदवारहरू देखिएका छन् । उम्मेदवार धेरै हुनु नराम्रो पक्कै होइन तर गुट, उपगुटहरू देखिनुचाहिँ राम्रो संकेत होइन । विकसित राष्ट्रमा आएर बसेका हामी नेपालीले यहाँका राम्रा राजनीतिक, सामाजिक संस्कार सिक्नुको साटो फोहोरी क्रियाकलापलाई बढावा त दिइरहेका छैनौं ? यो अहिलेको विदेशिएको पहिलो पुस्तामाथि उठ्ने एउटा गम्भिर प्रश्न हो ।

एकपटक हरिवंश आचार्यले भनेको सम्झन्छु । केही वर्ष पहिले अमेरिकाको भ्रमण सकेर नेपाल फर्कदा उनले एउटा अन्तर्वार्तामा भनेका थिए – ‘नेपालमा राजनीति के हुन्छ र ? अमेरिकामा त्यति राजनीति हुँदोरहेछ ।’ अस्ट्रेलिया पनि यो मामिलामा अपवाद छैन । समाजसेवाको च्यादर ओढाएर राजनीति गर्ने जमात अस्ट्रेलियाभर र यो संस्थाभित्र पनि छ । ती चण्ड, मुण्डहरू आफ्ना पूजनीय नेताका अभिष्ट पूर्ति गर्नका लागि जता पनि लम्पसार पर्छन् । यस्तो प्रवृत्तिलाई रोक्न र राजनीतिबाट मुक्त, स्वच्छ समाजसेवाप्रति अग्रसर भएर लाग्न सक्ने नेतृत्वको आवश्यकता छ ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.