ग्लोबल नेपाली
हिजोआज विदेश पढ्न जाने सोच आउनु युवायुवतीहरूको लागि नौलो होइन। सकेसम्म आफ्नै देशमा पढेको राम्रो हो। किनकि घरपरिवारसँग बस्दाको मजा विदेश आएपछि मात्र थाहा हुन्छ।
जब हामीलाई कुनै कुरा उपलब्ध हुँदैन त्यसपछि मात्रै त्यसको महत्व थाहा हुन्छ। विदेश आएपछि घरपरिवारको महत्व अझै खड्किन्छ। यसो भन्दै गर्दा विदेश जानै नहुने भन्ने होइन। अध्ययनका लागि विदेश गइसकेपछि त्यसले थप बाटो देखाउँछ। विदेश गइसकेपछि सोचाइको दायरा अझै फराकिलो हुन्छ भने जिम्मेवारीपना पनि बढ्छ।
अधिकांश विद्यार्थीलाई १२ पास गरेपछि विदेश जान पाए हुन्थ्यो भन्ने लाग्छ। कतिलाई स्नातक पास गरेपछि विदेश जान मन लाग्ला, कतिलाई स्नातकोत्तर पास गरेपछि जान मन लाग्ला तर कुनै न कुनै उमेरमा हरेकलाई विदेश जान मन लाग्छ भन्दा फरक पर्दैन। यसमा केही अपवाद हुनसक्छन्।
विदेश जान मन गर्दैगर्दा हामीले केही कुरामा ख्याल गर्न अवश्य पर्छ। सबभन्दा पहिला कुन देश जाने भन्ने महत्वपूर्ण कुरा हो। अस्ट्रेलिया आएर यही पढेर विद्यार्थीहरूकै क्षेत्रमा काम गरेकाले मेरो सुझाव यतै आउनु भन्ने हुन्छ। तर अस्ट्रेलिया आउने तयारी गर्दैगर्दा हामीले केही तयारी भने पहिला नै गर्नुपर्छ।
पहिलो- अस्ट्रेलिया आउने सोच बनाउँदै हुनुहुन्छ भने सबभन्दा पहिला तपाईं पढेर फर्किने हो कि यता पनि भविष्य खोज्ने भन्ने हो। हुन त अस्ट्रेलिया मात्र होइन विदेश जाने तयारी गरेका सबैलाई केही समय पढेर कमाएर नेपाल फर्किन्छु भन्ने लाग्छ तर यथार्थमा त्यस्तो हुँदैन। विदेश गइसेकपछि विभिन्न कारणले नेपाल फर्किने सम्भावना कम हुँदै जान्छ। यदि अस्ट्रेलियामा दीर्घकालीन सोच बनाएर आउने हो भने तपाईंले पढ्ने विषयलाई पनि ख्याल गर्नुपर्छ। तपाईं १२ पास गरेर पढ्न आउन खोज्दै हुनुहुन्छ भने कुन विषय पढ्ने अनि स्नातक र स्नातकोत्तर पास गरेर आउँदै हुनुहुन्छ भने कुन विषय पढ्ने भन्ने हुन्छ।
दोस्रो- तपाईंको अंग्रेजी कस्तो छ भन्ने महत्वपूर्ण कुरा हो। अस्ट्रेलिया आउनका लागि अंग्रेजी भाषामा निश्चित स्तर चाहिन्छ। तपाईंको अंग्रेजीको स्तरका आधारमा कुन विषय पढ्न पाउने भन्ने हुन्छ।त्यसैले अंग्रेजी भाषाको स्तर जति सक्दो राम्रो बनाउनुहोस्।
तेस्रो- तपाईंको पढाइ राम्रो छ अंग्रेजी पनि उस्तै राम्रो छ तर तपाईंसँग आर्थिक स्रोत पर्याप्त छैन भने अस्ट्रेलिया आउन धेरै गाह्रो छ। तपाईं अस्ट्रेलिया आउने तयारी गर्दै हुनुहुन्छ भने तपाईंले आफ्नो आर्थिक अवस्थाबारे कन्सल्टेन्सीसँग सल्लाह र सुझाव लिनुपर्छ। कहिलेकाहीँ तपाईंको आर्थिक स्रोत देखाउन मिल्ने विभिन्न तरिकाहरू हुनसक्छन् तर तपाईंलाई थाहा नभएको हुनसक्छ। यसो भन्दै गर्दा असम्भव कुरालाई हुन्छ भनेर कसैले भन्यो भने त्यसको पछाडि नलाग्नु होला। विश्वासिलो आर्थिक स्रोत देखाउन सकिएन भने तपाईं जतिसुकै उत्कृष्ट भए पनी अस्ट्रेलियाको भिसा लाग्ने सम्भावना निकै कम हुन्छ। अस्ट्रेलियामा पूर्ण छात्रवृत्तिमा पढ्न पाउनु भनेको लगभग असम्भव जस्तै हो।
यदि तपाईं पूर्ण छात्रवृत्तिको बुझाइमा हुनुहुन्छ भने ब्याचलर तथा मास्टर्स लेबलमा पाउन एकदमै न्यून सम्भावना रहन्छ। तर हामीले २० देखि ३० प्रतिशतको छात्रवृत्ति मिलाउन सक्ने सम्भावना रहन्छ। जसमा तपाईंको एकेडेमिक र अंग्रेजीको क्षमता हेरेर मात्र दिइन्छ। तपाईंले नेपालमै मास्टर्स सक्नुभएको छ भने मास्टर्स अफ रिसर्च र पिएचडीको लागि पूर्ण छात्रवृत्तिको सम्भावना धेरै छ।यसका लागि एकेडेमिक र भाषामा धेरै राम्रो ज्ञान चाहिन्छ। त्यस्तै सम्बन्धित क्षेत्रमा काम गरेको छ भने पनि पूर्ण छात्रवृत्तिका लागि धेरै सहयोग गर्छ।
चौथो- अस्ट्रेलिया गएर कुन विषय पढ्दा यहाँको स्थायी बसोबासका लागि सहज हुन्छ भनेर समेत ख्याल गर्नुपर्छ। अस्ट्रेलियामा प्राविधिक विषय पढ्न सकियो भने काम पाउन र यहाँको स्थायी आवास अनुमतिपत्र (पिआर) पाउन सहज हुन्छ। प्राविधिक विषयमध्ये तपाईंको क्षमता र रोजाइमा कुन विषय छ त्यो रोज्नुहोला। यस बारेमा पहिला नै स्पष्ट हुनुभयो भने यहाँ आएर अलमल हुँदैन।
पाँचौं- अस्ट्रेलिया आउने प्रक्रियामा उचित डकुमेन्ट बुझाउनु धेरै महत्वपूर्ण छ। अस्ट्रेलियाले माग्ने सबै खालका डकुमेन्टलाई व्यवस्थित तरिकाले बुझाउन सकिएन भने भिसा लाग्दैन। यसका लागि कन्सल्टेन्सीले धेरै ध्यान दिनुपर्छ। कन्सल्टेन्सीको महत्वपूर्ण भूमिका हुने नै यसमा हो। कहिलेकाहीँ कन्सल्टेन्सीको लापरबाहीले तपाईंको लाग्ने भिसा पनि नलाग्न सक्छ। तपाईंको डकुमेन्ट बिगार्दिने चाहना कुनै पनि कन्सल्टेन्सीको हुँदैन। तर उनीहरू आफैले कति बुझेका छन् भन्ने महत्वपूर्ण कुरा हो। त्यसैले यो प्रक्रियामा तपाईंले पनि अलि धेरै चासो दिनुपर्छ। तपाईंलाई शंका लागेको कुरा कन्सल्टेन्सीसँग कुनै अप्ठ्यारो नमानी सोध्नुपर्छ।
छैठौं- तपाईं अस्ट्रेलिया आउन मनोवैज्ञानिक रूपमा तयार हो भने नेपालबाट केही काम सिकेर आएको राम्रो हो। यदि तपाईंले कुनै खालको काम सिकेर आउनुभएको छ भने यहाँ काम पाउन सजिलो हुन्छ। जस्तो: कफी बनाउने, कुक, बेकरी, कपाल काट्ने, गाडी चलाउने, मेकानिक, इलेक्ट्रोनिक्स, प्लम्वर लगायत कुनै पनि प्राविधिक कामको थोरै भए पनि ज्ञान भयो भने तपाईंलाई यहाँ आएर केही सहज हुन्छ। यसो भन्दै गर्दा तपाईंले सम्पूर्ण तयारी गर्नुभयो तर अस्ट्रेलियाको भिसा लागेन भने पनि तपाईं आत्तिनु हुँदैन। कहिलेकाहीँ एउटा काम भएन भने दस वटा कामका लागि बाटो खुल्न सक्छ। अरू धेरै उपाय निस्किन सक्छन्। त्यसैले एक पटकको प्रयास असफल भयो भन्दैमा नआत्तिनुहोला।
सातौं- तपाईंको भिसा लाग्यो भने अस्ट्रेलिया आएर तत्कालै काम पाइन्छ, पैसा कमाउन सकिन्छ भन्ने सोच नबनाउनुहोला। अस्ट्रेलियामा भन्नसाथ काम पाइन्छ भन्ने छैन। त्रिभुवन विमानस्थलबाट जहाज उड्नसाथ समस्या सकियो भन्ने होइन। त्यसपछि तपाईंको संघर्षका दिन सुरू हुन्छन्। यहाँ आएर अस्ट्रेलिया बुझ्न, कलेजको वातावरण बुझ्न केही समय लाग्छ। अस्ट्रेलिया आएकै भोलिपल्टबाट काम खोज्न दौडिनुभयो भने तपाईंलाई त्यसले अनावश्यक तनाव दिन सक्छ। त्यसैले अभिभावकले समेत के कुरामा ध्यान दिनुपर्छ भने अस्ट्रेलिया मेरो बच्चा कमाउन गएको होइन, उसको पहिलो काम पढ्ने हो। पढाइसँगै विस्तारै काम गर्दै जान्छ पहिला आफ्नो खर्च चलाउँछ अनि मात्रै घरमा पठाउन सक्छ भनेर बुझ्न जरूरी छ। अभिभावकले धेरै अपेक्षा राख्दा छोराछोरी मानसिक समस्यामा जान सक्छन्। त्यसैले पहिला अस्ट्रेलिया बुझ्ने, पढ्ने अनि बिस्तारै कामलाई पनि प्राथमिकतामा राख्ने हो भन्ने सोच बनाइयो भने निराश हुनु पर्दैन।
(प्रदिप मिश्र मेलवर्न र काठमाडौंमा रहेको स्टुडेन्ट डेस्टिनी एजुकेसन एण्ड भिसाका सञ्चालक हुन्।)