हाल अस्ट्रेलियाले स्थायी आवास अनुमतिपत्र (पिआर) को कोटा (निर्धारित संख्या) केही मात्रामा घटाएको छ। कुनै क्षेत्रमा अलिक धेरै घटाएको छ त कतै बढाएको पनि छ। तर समग्रमा कोटा घटेको छ।
दक्ष कामदारलाई दिने पिआर कोटा अलिक घटाइएको छ। प्रदेश सरकारले दिने र दुर्गम क्षेत्रका लागि दिइने भिसा अलिक बढाइएको छ। रोजगारीदाताले स्पोन्सर गर्ने भिसा केही मात्रामा बढाइएको छ।
कोटा अझै घटाउनुपर्छ भन्ने बहस पनि चलेको छ। अहिलेको सत्ताधारी लेबर पार्टीले अझै घटाउने कुरा गरेको पनि छ। यहाँको विपक्षी लिबरल पार्टी तुलनात्मक रूपमा लचिलो भए पनि अहिले उसैले पनि घटाउनुपर्छ भनिरहेको छ। यी कारणले गर्दा आप्रवासीका लागि हालको स्थिति त्यति उत्साहप्रद देखिएको छैन।
पिआरका लागि प्रतिस्पर्धीको संख्या कोटाभन्दा निकै बढी हुन्छ। दक्ष व्यक्तिका लागि पास (उत्तीर्ण) अंक ६५ हो तर अहिले यो अंकमा भिसा पाउने सम्भावना छैन। कतिपय पेसामा सय अंक नै पुग्नपर्ने भएको छ।
अस्ट्रेलियाको पिआरमा ग्लोबल (विश्वव्यापी) प्रतिस्पर्धा हुन्छ। यस कारण पनि जटिल हुँदै जानु स्वाभाविक नै मान्नुपर्ने हुन्छ।
अधिकांश अन्तर्राष्ट्रिय विद्यार्थीमा अस्ट्रेलियाको पिआर लिने चाहना देखिन्छ। विद्यार्थी आफ्नो रूचिअनुसारको विषय रोजेर उत्कृष्ट बन्न सक्यो भने अस्ट्रेलियामा मात्र होइन, विश्वको जुनसुकै देशमा पनि दक्ष व्यक्ति बन्न सक्छ। अस्ट्रेलियाले सबै विषयमा दक्ष जनशक्तिलाई प्राथमिकतामा राखेको हुँदैन। पर्याप्त जनशक्ति नभएकोमा मात्र प्राथमिकता हुन्छ।
यस्तो नीतिका कारण अस्ट्रेलियाको पिआर चाहने विद्यार्थीले त्यसैअनुसार तयारी गर्नुपर्छ।
अर्को कुरा, विद्यार्थीले पढ्दै काम गरेको छ भने आफ्नो विषय सम्बन्धी नै काम राम्रो हुन्छ। कुकरी पढ्दै छ भने होटलको किचनमै काम गर्नुपर्छ, सुपर मार्केटमा काम गरेर भएन। आफूले पढेको विषय अनुसारको काम गर्दा कामको पनि नम्बर (अंक) पाउन सकिन्छ।
यस्तो अवस्थामा रोजगारीदाताले स्पोन्सर गरिदिने सम्भावना रहन्छ।
अर्को महत्त्वपूर्ण कुरा, अंग्रेजी भाषामा जति दक्षता हुन्छ आफू त्यति नै धेरै बलियो भइन्छ।
सरकारले सिड्नी, मेलबर्न, ब्रिसबेन जस्ता सहरमा भन्दा दुर्गम क्षेत्रमा जानेलाई प्राथमिकतामा राखेको हुन्छ। त्यसतर्फ पनि ख्याल राख्नुपर्छ।
पिआरका लागि आवेदन दिएर स्वीकृत हुँदैमा प्राप्त हुन्छ भन्ने हुँदैन। पिआर प्राप्त नहुने केही कारण छन्।
पहिलो, कुनै व्यक्ति स्पोन्सरसिप भिसामा छ भने रोजगारीदाताको मापदण्ड नपुगेर पिआर अस्वीकृत हुन्छ।
दोस्रो, दक्ष कामदार भिसामा कहिलेकाहीँ नम्बरको गणना फरक पर्न सक्छ। माइग्रेसन एजेन्टको सहयोग नलिई आफै आवेदन गर्दा समस्या हुन सक्छ।
तेस्रो, नक्कली डकुमेन्ट (कागजपत्र) बुझाएर पिआर अस्वीकृत भएको पाइएको छ। गलत सूचना बुझाएर पिआर लिएको फेला पर्यो भने धेरै समयपछि पनि रद्द हुन सक्छ।
चौथो, गम्भीर स्वास्थ्य समस्या रहेको व्यक्तिको पनि पिआर अस्वीकृत हुन सक्छ।
पाँचौं, गम्भीर अपराधमा संलग्न रहेको जानकारी भएको अवस्थामा पनि आवेदन अस्वीकृत हुन सक्छ।
पिआरको आवेदन अस्वीकृत भएको अवस्थामा २८ दिनभित्र पुनरावेदन गर्न सकिन्छ।
अस्ट्रेलियामा पिआर लिन चाहना हुनेले सुरूदेखि नै तयारी गर्नुपर्छ। पछि गरौंला भन्दा धेरै अवसर गुम्न सक्छ। माइग्रेसन एजेन्टसँग परामर्श गरेर अघि बढ्दा सजिलो हुन्छ।
विद्यार्थीले सहज तरिकाले पिआर लिन ६ वटा तयारी गर्नुपर्छ।
१) आफूले पढ्दै गरेको विषय पिआर पाउने सूचीमा छ कि छैन भन्ने ख्याल गर्नुपर्छ। छैन भने अर्को उपाय अपनाउनुपर्छ।
२) पढाइमा उत्कृष्ट ग्रेड प्राप्त गरेको हुनुपर्छ। यसो हुँदा रोजागारीको राम्रो अवसर प्राप्त हुन सक्छ।
३) अंग्रेजी भाषामा दक्ष हुनुपर्छ। यसो भयो भने रोजगारीको अवसर छिटो प्राप्त हुन्छ, आफ्नो अंक पनि बढ्छ। रोजगारीदाताले अंग्रेजी बोल्न दक्ष व्यक्तिलाई प्राथमिकता दिन्छ।
४) अस्ट्रेलियामा पिआरको अवसर ससाना सहरमा बढी हुन्छ। ठूला सहरको साटो साना सहर रोज्दा चाँडो हुन सक्छ। डार्बिन, तास्मानिया जस्ता ठाउँ उपयुक्त हुन सक्छन्। यी सहरमा पाउने अवसर सिड्नी र मेलबर्नमा नहुन सक्छ।
५) विद्यार्थीले आफू कुन ठाउँमा उपयुक्त छु भन्ने पनि ख्याल गर्नुपर्छ। सरकारी मापदण्ड अनुसार आफ्नो स्तर आफैले विचार गर्नुपर्छ।
६) अघि भनेझैं आफूले पढेको विषय अनुसारको काम र इन्टर्न गर्नुपर्छ। आइटीको विद्यार्थीले आइटीमै इन्टर्न गर्नुपर्छ। यसरी इन्टर्न गर्दा त्यही कम्पनीले स्पोन्सर गर्न सक्छ। गरेन भने पनि आफ्नो क्षमताले अर्को कम्पनीमा काम पाउन सकिन्छ।
सबै विषयमा यही तरिका उत्तम हुन्छ।
दक्ष व्यक्तिले नेपालमै बसेर पनि अस्ट्रेलियाको पिआर लिन सक्छ। कामको दक्षताका आधारमा 'स्किल एसेसमेन्ट' गरेर पिआरको प्रकिया सुरू गर्न सकिन्छ।
नेपालबाटै पिआर लिने कुरामा ठगिने सम्भावना बढी हुन्छ। उमेर १८ वर्षदेखि ४५ वर्षसम्म, सामान्य लेखपढ गर्न जान्ने, महिनाको पाँच लाख (रूपैयाँ) तलब भनेर विज्ञापन गरेको देखिन्छ। कहिलेकाहीँ यस्तो विज्ञापन सक्कली हो कि होइन भनेर मलाई सोधिएको पनि हुन्छ। सक्कली र नक्कली चिन्ने उपाय पनि छ। नक्कली पो हो कि भन्ने शंका लाग्छ भने त्यो नक्कली नै हो भनेर बुझ्नुपर्छ।
कसैले अस्ट्रेलियाको पिआर मिलाइदिन्छु भनेर सजिलो तरिका बताउँछ भने होसियार भइहाल्नुपर्छ। अस्ट्रेलियाको पिआर फटाफट मिल्ने होइन।
(अस्ट्रेलियाको मण्डला लिगलमा कार्यरत अधिवक्ता सञ्जीव पाण्डेसँग सेतोपाटीका सन्जिब बगालेले गरेको भिडिओ कुराकानी।)
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com