गैरआवासीय नेपाली (एनआरएन) लाई नागरिकता दिने विषय संविधानमै उल्लेख गरिएको छ। नागरिकता पाउनु हाम्रो (गैरआवासीय नेपालीको) अधिकार हो। त्यस अनुरूप गैरआवासीय नेपाली नागरिकता दिन सुरू भएको पनि हो। अहिलेसम्म १० हजारभन्दा धेरैले यस्तो नागरिकता पाएका छन्।
नागरिकता पाएर पनि यसले जे काम गर्नुपर्ने हो त्यो गर्न सकेको छैन। नागरिकता सार्थक हुन १२ वटा ऐन एकैचोटि संशोधन गर्नुपर्छ। गृह मन्त्रालयले आउँदो हिउँदे अधिवेशनमा ती ऐन संशोधन गर्ने सहमति भएको कुरा साथीहरूले भन्नुभएको छ।
अहिले गैरआवासीय नेपाली नागरिक नागरिकता पाएर पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गर्न भिसा लगाउनै पर्छ। यो नागरिकता २०६५ सालदेखि सञ्चालनमा आएको गैरआवासीय नेपाली परिचयपत्रभन्दा फरक छैन।
विदेशबाट आफ्नै देशमा आउन पनि नागरिकले भिसा लगाउनुपर्ने देश भएको छ नेपाल।
गैरआवासीय नेपाली नागरिकता ट्रोल बन्ने स्थिति छ। यस्तो हुनुमा सरकारको नियत खराब नहोला तर व्यावहारिक कठिनाइ परेको छ। यसको समाधान चाहिएको छ। गैरआवासीय नेपाली नागरिकता बोकेर मालपोत कार्यालय जाँदा काम हुँदैन। यो नागरिकता कर्मचारीले चिन्दैन। यसको आधिकारिकताबारे कर्मचारीलाई निर्देशन छैन।
संविधानको मूल मर्म आर्थिक र सामाजिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकता हो। संविधान जारी गर्ने बेलामा गैरआवासीय नेपालीले राजनीतिकबाहेक सबै अधिकार पाउने सहमति भएको थियो।
सम्पत्तिको हक, लगानी, अध्यागमन लगायतका विभिन्न ऐन र नियमावली संशोधन गर्न बाँकी रहेकाले गैरआवासीय नेपाली नागरिकता पूर्ण रूपमा प्रयोग हुन नसकेको हो।
अहिले हाम्रो दुइटा पुस्ता विदेशमा छ। एउटा पुस्ता बुढ्यौलीमा गइसक्यो। छोराछोरी पुस्ता युवा छ। अहिले संसार नै एउटा परिवारजस्तो भइसकेको छ। बाबुआमा आफैले छोराछोरी विदेश पठाइरहेका छन्।
युवाहरू विदेश नगए नेपालले थेग्न सक्ने अवस्था पनि छैन। अहिले विदेशको नागरिकता लिने नेपालीको संख्या धेरै भइसकेको छ।
विदेशमा रहेका नेपालीका लागि आर्थिक कारोबारको बाटो फुकाइएन भने कालो अर्थतन्त्र मौलाउनेछ। यसो हुन नदिन आर्थिक ढोका खोल्नुपर्छ। देशभित्र आउने र देशबाट बाहिर जाने पैसा व्यवस्थित गर्न जरूरी छ। यसो गर्दा राज्यलाई नै फाइदा हुन्छ।
गलत तरिकाले पैसा आउने र त्यसरी नै जाने हुन थाल्यो भने शान्तिसुरक्षा र अर्थतन्त्र खतरा पर्छ। यहाँ ठूला लगानीको मात्र गणना हुन्छ तर साना लगानीको शक्ति निकै ठूलो हुन्छ। त्यसलाई राज्यले बेवास्ता गर्न मिल्दैन।
अस्ट्रेलियाजस्ता देशमा समेत साना लगानीकर्ताको ठूलो भूमिका हुने गरेको छ।
गैरआवासीय नेपाली नागरिकता व्यवस्थित गर्ने सवालमा सबैको एकमत छ तर कार्यान्वयनमा समस्या आएको छ। यसलाई गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनको संक्रमणकाल मान्नुपर्छ। संक्रमणकालमा केही जटिलताहरू देखिन्छन् तर समाधान गर्दै अघि बढ्नुपर्छ।
विदेशबाट सम्पत्ति ल्याउन पाएजस्तै नेपालबाट पनि लैजान पाउनुपर्छ भन्ने हाम्रो माग हो। एकथरी साथीहरूको माग आफ्नो पैतृक सम्पति बेचेर पैसा लैजान पाउनुपर्छ भन्ने छ।
अन्ततः नेपालले यो अधिकार नदिई सुखै छैन। विदेशमा बस्ने नेपालीले नेपालबाट पैसा लैजान पाउने व्यवस्था भएन भने गैरकानुनी धन्दा चल्छ। यस्तो धन्दाले देशको अर्थतन्त्र बर्बाद बनाउँछ।
पैसा बाहिर लैजान चाहनेले जसरी पनि लैजान्छ, अहिले पनि गइरहेकै छ, सरकारले रोक्न सकेको छैन। बरू वैधानिक तरिकाले लैजान दिए त्यसबाट राज्यलाई फाइदा हुन्छ।
एकातिर गैरआवासीय नेपाली नागरिकता पाएर पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन सकेको छैन। अर्कोतिर दोहोरो नागरिकताको कुरा चलिरहेको छ। कसैले नागरिकताको निरन्तरता भनेका छन् त कसैले वंशजको नागरिकता खोस्न पाइँदैन भनेका छन्। कोही राजनीतिक अधिकारसहितको नागरिकता समेत भन्दै छन्।
यस्तो अवस्थामा संविधानको मर्मअनुसार गैरआवासीय नेपाली नागरिकता दिन जति ढिलो हुन्छ उति नै राज्यलाई घाटा हुन्छ।
आगामी १०-१२ वर्षमा नेपाली राज्यले नै गैरआवासीय नेपालीलाई नागरिकता लिइदेऊ भन्दै रेड कार्पेट ओछ्याएर बोलाउनुपर्नेछ।
जनसंख्याको अवस्थाले नेपाललाई यस्तो बाध्यता आइलाग्नेछ। अहिलेको जनसंख्या तीन करोड भनिए पनि दुई करोड हाराहारी मानिस मात्र नेपालमा छन्। यसरी जनसंख्या घटेपछि अन्तिममा बोलाउने भनेको गैरआवासीय नेपालीलाई नै हो।
गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारसहितको नागरिकता दिँदा राज्यलाई केही पनि घाटा हुँदैन। म अस्ट्रेलिया गएको २८ वर्ष भयो। मभन्दा अगाडि अस्ट्रेलिया लगायत अन्य विकसित देशमा पुग्ने नेपाली धेरै छन्।
धेरै नेपाली विकसित देशका उच्च तहमा कार्यरत छन्। उनीहरूलाई राजनीतिक अधिकारसहितको नागरिकता दिने हो भने नेपालाई धेरै फाइदा हुनेछ। नेपालले सित्तैमा उनीहरूको विज्ञता उपयोग गर्न पाउनेछ। आर्थिक रूपमा समेत फाइदा लिन सक्नेछ।
(मन खत्री एनआरएनए अस्ट्रेलियाका संस्थापक अध्यक्ष तथा एनआरएनएका पूर्वउपाध्यक्ष हुन्। ‘साउदर्न एकेडेमी अफ बिजनेस एन्ड टेक्नोलोजी, अस्ट्रेलिया’ का सञ्चालक खत्रीसँग सेतोपाटीका सन्जिब बगालेले गरेको भिडिओ कुराकानीमा आधारित।)
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com