अस्ट्रेलिया अध्ययन, रोजगार र बसाइँसराइका लागि नेपाली नागरिकहरूबीच लोकप्रिय गन्तव्य बन्दै गएको छ। यहाँ आउँदा यात्रु कार्ड भर्ने प्रक्रियादेखि अस्ट्रेलियाको जीवनशैलीसँग अभ्यस्त हुनसम्मका कुरामा सजग हुनु आवश्यक छ। तल उल्लेख गरिएका बुँदाहरूले तपाईंलाई सहज यात्रा र बसाइँ सुनिश्चित गर्न मद्दत गर्नेछ।
१.यात्रु कार्डको महत्त्व बुझ्नुहोस्
इनकमिङ प्यासेन्जर कार्ड अस्ट्रेलिया प्रवेश गर्ने सबै यात्रुले अनिवार्य रूपमा भर्नुपर्ने दस्तावेज हो। यात्रु कार्ड पूरा गर्ने सम्बन्धी अस्ट्रेलियन कानुन (माइग्रेसन ऐन) र माइग्रेसन नियमावलीमा उल्लेख गरिएको छ।
यसमा तपाईंको यात्राको महत्त्वपूर्ण जानकारी उल्लेख गर्नुपर्ने हुन्छ। यात्रु कार्ड भर्दा सही र स्पष्ट जानकारी दिनुपर्छ। किनभने, गलत विवरणले आगमन जाँचमा समस्या निम्त्याउन सक्छ।
अस्ट्रेलिया प्रवेश गर्ने यात्रुहरूले निम्न जानकारी सही रूपमा प्रदान गर्नुपर्छ।
-सामने (फ्रन्ट साइड)
-परिवारको थर र उपनाम
-आफ्नो नाम र राहदानी नम्बर
-उडान नम्बर वा जहाजको नाम
-अस्ट्रेलियामा बस्ने अपेक्षति ठेगाना
- १२ महिनासम्म अस्ट्रेलियामा बस्ने योजना छ कि छैन भन्ने कुरा
-भन्सार र क्वारेन्टाइनसँग सम्बन्धति घोषणाहरू
-पछाडिको भाग (ब्याक साइड)
-जहाज चढेको/उडान भएको देश
-जन्म मिति र नियमित पेसा
-राहदानीमा उल्लेख गरिएको राष्ट्रियता
-अस्ट्रेलियाको सम्पर्क विवरण र आपतकालीन सम्पर्क जानकारी/सही जानकारी अनिवार्य
यात्रुहरूले सही मिति राखी हस्ताक्षर गर्नुपर्छ। यसका साथै, उनीहरूले आप्रवासन स्थिति, स्वास्थ्य स्थिति र कुनै पनि पहिलेको आपराधिक मुद्दासम्बन्धी प्रश्नहरूको सही उत्तर दिनुपर्नेछ। विशेषगरी गैरअस्ट्रेलियाली नागरिकहरूको हकमा, झूटो जानकारी प्रदान गर्दा उनीहरूको भिसा स्थिति प्रभावित हुन सक्छ। त्यसैले, फर्म भरिरहँदा इमानदारी र सावधानी आवश्यक छ।
अर्को यात्रुको तर्फबाट यात्रु कार्ड पूरा गर्ने कुरा
कुनै यात्रुको जिम्मा लिएका व्यक्तिले उनको तर्फबाट पूरा गर्न सक्छन्। यसमा निम्न व्यक्तिहरू समावेश हुन सक्छन्।
-नाबालिग यात्रुका अभिभावक/संरक्षक
-विशेष आवश्यकताहरू भएका यात्रुका हेरचाहकर्ता
-गैरअस्ट्रेलियाली नागरिकले, आफ्नो तर्फबाट कसैले आइपिसी (इनकमिङ प्यासेन्जर कार्ड) पूरा गरेमा, कानुनत: त्यो यात्रु कार्ड उनीहरूले पूरा गरेको मानिन्छ।
२. भिसाको आवश्यकता र सर्तहरू
अस्ट्रेलिया आउनुअघि तपाईंले उपयुक्त भिसा लिनुहोस् र यसको सर्तहरू बुझ्नुहोस्। नेपाली नागरिकहरूका लागि सामान्यतः विद्यार्थी भिसा, काम गर्ने भिसा र भ्रमण भिसा प्रचलित छन्।
-भिसाको अविध र नविकरण प्रक्रिया
-काम गर्ने सीमाहरू (यदि लागु हुन्छ भने)
-स्वास्थ्य बीमाको आवश्यकता (विशेष गरी विद्यार्थी भिसाको लागि)
३.स्वास्थ्य बीमा
अस्ट्रेलियामा केही भिसा लिएकाहरूलाई अनिवार्य रूपमा स्वास्थ्य बीमा लिनुपर्ने हुन्छ। आफ्नो भिसा प्रकार अनुसार आवश्यक प्रकारको स्वास्थ्य बीमा सुनिश्चित गर्नुहोस्। विद्यार्थीहरूका लागि ओभरसिज स्टुडेन्ट हेल्थ कभर (ओएसएचसी) अनिवार्य छ। अन्य भिसा प्रकारका लागि व्यक्तिगत स्वास्थ्य बीमा लिनु उपयुक्त हुन्छ।
४.सांस्कृतिक अनुकूलन
नयाँ संस्कृतिसँग अभ्यस्त हुनु चुनौतीपूर्ण हुन सक्छ। अस्ट्रेलियाका लागि केही सामान्य नियम र संस्कृतिबारे जानकारी लिनुहोस्।
-सडक नियमहरू: अस्ट्रेलियामा गाडी बायाँपट्टि चलाइन्छ र मापसेसम्बन्धी कडा कानुन लागू गरिन्छ।
-कार्यस्थलको संस्कृतिः समयपालन, स्पष्ट संवाद, र व्यावसायिकता महत्त्वपूर्ण मानिन्छ।
-समानताः सबैप्रति सम्मान गर्नुहोस्, किनभने अस्ट्रेलियाले सांस्कृतिक विविधता र लैंगिक समानतालाई अंगाल्छ।
५.वित्तीय व्यवस्थापन
नयाँ देशमा वित्तीय व्यवस्थापन महत्त्वपूर्ण छ। अस्ट्रेलिया पुगेपछि बैंक खाता खोल्नुहोस् र आधारभूत बैंकिङ सेवाहरू बुझ्नुहोस्। विद्यार्थीहरूका लागि बजेट व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ। साथै, अन्तर्राष्ट्रिय विद्यार्थी र आप्रवासीलाई लक्षित ठगीबाट सचेत रहनुहोस्।
६.बसोबास र यातायात
अस्ट्रेलिया आउनुअघि नै बसोबासका विकल्पहरूबारे जानकारी लिनुहोस्। छोटो अवधिका लागि होस्टेल या एयरबन्ब उपयुक्त हुन सक्छ, जसले दीर्घकालीन भाडाको खोजी गर्न मद्दत गर्छ। सहरहरूमा सार्वजनिक यातायात सजिलै उपलब्ध छ। मेलवर्नका लागि पिटिभी र सिड्नीका लागि ओपल ट्राभल जस्ता एप प्रयोग गर्न सकिन्छ।
७.सामुदायिक समर्थन
अस्ट्रेलियाभरी नेपाली समुदाय सक्रिय छन्। नेपाली विद्यार्थी संघ, सांस्कृतिक समूह, वा सामाजिक सञ्जालका समूहहरूमा जोडिनुहोस्। यसले घरको झल्को दिलाउन र नयाँ ठाउँमा बसोबास सहज बनाउन मद्दत गर्छ।
८.रोजगारीका अवसरहरू
यदि तपाईंको भिसाले काम गर्न अनुमति दिन्छ भने, रोजगारदातासँग आफ्नो अधिकार र जिम्मेवारी बुझ्नुहोस्। अस्ट्रेलियामा श्रमिक सुरक्षाका लागि कडा कानुनहरू छन्। जसमा न्यूनतम तलब, कार्यस्थल सुरक्षा र भेदभाव विरूद्धका नीतिहरू समावेश छन्। रोजगारीका लागि 'सिक', 'इन्डिड' वा समुदायका विज्ञापन बोर्डहरूको प्रयोग गर्नुहोस्।
९.जैविक सुरक्षा कानुनहरू
अस्ट्रेलियाको जैविक सुरक्षा नियम आफ्नो वनस्पति जनावरहरूको संरक्षणका लागि कडा छ। प्याक गर्दा यी वस्तुहरू नराख्नुस्।
-ताजा फलफूल र तरकारी।
-लेबल नभएका मसला वा जडीबुटी।
-काठ वा बाँसका वस्तुहरू।
कुनै समानमा आफूलाई शंका लागेमा यात्रु कार्डमा घोषणा गर्नुपर्छ।
१०.आपतकालीन सम्पर्कहरू
महत्त्वपूर्ण नम्बरहरू सधैं हातमा राख्नुहोस्, जस्तै
-000 प्रहरी, दमकल, र एम्बुलेन्सको लागि
-आफ्नो देशको दूतावास वा वाणिज्य दूतावास।
-स्थानीय समुदाय सहयोग समूहहरू।
(कानुन व्यवसायी माधव खरेल 'इमिग्रेन्ट लयर्स' नामक कानुनी फर्मका संस्थापक हुन्। अधिवक्ता खरेल भिक्टोरियाको सर्वोच्च अदालत, अस्ट्रेलिया उच्च अदालतका साथै अस्ट्रेलियाका सबै संघीय अदालतहरूमा उपस्थित हुन पाउँछन्)