ग्लोबल नेपाली
जब भिक्टोरियामा नेपाली समाज फैलिँदै गयो, समस्या पनि आउन थाले। जसमध्ये पारिवारिक समस्या नै धेरै थियो। त्यसमा महिला पीडित हुने गरेका घटना बढ्न थाले।
सन् २००६ मा भिक्टोरिया आएकी जमुना पराजुलीलाई सन् २०१० देखि महिलाका समस्यालाई लिएर फोन आउन थालेको थियो।
महिलाका विषयमा चासो राख्ने अनि महिला स्वास्थ्यमा स्नातकोत्तर गरेकी (अहिले विद्यावारिधि) जमुनालाई संगठित भएर महिलाका विषयमा केही गर्न सकिन्छ कि भन्ने सोच आयो।
एक्लैले यो काम गर्न सम्भव पनि थिएन। त्यो बेलाका एनआरएन भिक्टोरियाका संयोजक द्रोण पन्तसँग धेरै पटक परामर्श गरिन्। अनि अन्य महिलाहरूसँग समेत छलफल गरेर सन् २०१२ मा दिदी-बहिनी समाज भिक्टोरियाको गठन भयो।
‘हामी सात जना दिदी-बहिनी मिलेर सन् २०१२ मा यो समाज गठन गरेको हो। यसको मुख्य उद्देश्य भनेको दिदी-बहिनीहरूलाई साझा सुरक्षित ठाउँ प्रदान गर्नु थियो,’ उनले भनिन्, ‘जब दिदी-बहिनी एक आपसमा संगठित हुन्छन्। अनि त्यसले उनीहरूको दैनिक जीवनको गुणस्तरीय पक्षलाई बढाउनेछ भन्ने सोचले यो संस्थाको स्थापना गरेको हो।’
यसको मुख्य उद्देश्य भनेको लैंगिक समानता, महिला सशक्तीकरण अनि पारिवारिक हिंसा रोक्नु रहेको जमुनाले बताइन्।
सुरूमा दिदीबहिनी समाजको लागि धेरै संघर्ष गर्नुपर्यो। किनकि नेपाली समुदायमा पुरूषहरूको वर्चस्व थियो। यस्तो अवस्थामा ७ जना दिदीबहिनीको आवाज कसले सुन्ने भन्ने चुनौती थियो। समय क्रमसँगै यो संस्थाको विस्तार भयो। अहिले यसका १६ वटा त उपसमिति छन्, जसमा २ सय दिदी बहिनीको सक्रियता छ। दिदीबहिनी समाजले स्थानीय काउन्सिलहरूसँग मिलेर काम गरेको छ अनि धेरै थोरै डोनेसन समेत पाउँदै आएको छ।
दिदीबहिनी समाजले कर्णालीका महिला सशक्तीकरणको लागि सानो प्रयास गर्दै आएको छ।
‘हरेक वर्ष हामीले तीज कार्यक्रम विशेष गर्छौं। त्यो कार्यक्रममा आउनेका लागि २० डलर शुल्क राख्छौं। त्यहाँ उठेको सबै पैसा कर्णालीका महिला सहयोगमा खर्च हुन्छ,’ जमुनाले भनिन्, ‘हिंसामा परेका महिलाको पुन:स्थापनाको लागि तीन महिनाको खर्च पठाउँछौं। अहिलेसम्म १ सय ३५ जनालाई सहयोग गरेका छौं।’
यसका लागि दिदीबहिनी समाजले आवाज नामक संस्थासँग मिलेर काम गरेको छ। गत वर्ष ६ हजार ५ सय डलर पठाइएको थियो। यो वर्ष अझै बढ्न सक्ने उनको अनुमान छ।
‘हामीले समुदायमा महिलाकै हकहितमा काम गरेका छौं। दिदी बहिनीको आवश्यकतालाई ध्यानमा राखेर काम गर्छौं। हरेक वर्ष दिदीबहिनीको लागि रिट्रिट कार्यक्रम समेत राख्छौं,’ उनले भने।
भिक्टोरियामा नेपाली समुदाय विस्तार भएसँगै आमा/बाहरूको ओहोरदोहोर पनि बढ्न थाल्यो। आमाहरूको स्वास्थ्यलाई ख्याल राख्दै दिदीबहिनी समाजले स्तन क्यान्सर परीक्षणको लागि निःशुल्क स्तन स्क्रिनिङको सेवा दिएको छ। त्यसका लागि उसले ब्रेस्ट स्क्रिनिङ भिक्टोरियासँग सहकार्य गरेको छ। सन् २०१९ मा ४४, सन् २०२२ मा ८३ जनाको ब्रेस्ट स्क्रिनिङ गरिएको थियो। यो वर्ष १ सय ५९ जनाले नाम टिपाएको उनले बताइन्।
यहाँको गैरसरकारी संस्थाहरूसँग मिलेर महिला सशक्तीकरणका विभिन्न कार्यक्रम हुने गरेको छ। दिदीबहिनी समाजकै सक्रियतामा काउन्सिलको सहयोगमा नेपाली पार्क समेत बनेको छ।
भिक्टोरियामा मिनी नेपाल भनेर चिनिने ग्लेनरोयमा नेपाली शैली झल्किने पार्क बनेको छ। जहाँ धेरै समय नेपालीहरूकै चहलपहल हुन्छ। विशेष गरेर नेपाली आमा/बाहरूको सजिलोको लागि यो पार्क निर्माण गरिएको हो।
भिक्टोरियामा दिदीबहिनी समाजको जबरजस्त उपस्थिति छ। कुनै पनि नेपाली कार्यक्रममा उनीहरूको सहभागितालाई कसैले नकार्न सक्दैन। यो स्थितिमा दिदीबहिनी समाज यसै आइपुगेको भने होइन। यसका लागि दिदीबहिनीले धेरै संघर्ष गर्नु परेको थियो।
‘जब हामीले दिदीबहिनी समाजको स्थापना गर्यौं, त्यो बेला आफ्नै समाजबाट चुनौती भोग्न पर्यो। महिलाको संगठन किन चाहियो भनेर आलोचना भयो,’ उनले भनिन्, ‘कतिपय कार्यक्रममा दिदीबहिनी समाजको नाम नलिने अनि देखेर पनि नदेखेजस्तो गरिन्थ्यो। त्यो बेला नमज्जा लाग्थ्यो। त्यही संघर्षले अहिलेको अवस्थामा पुर्याउन पाएकोमा गर्व लाग्छ।’
दिदीबहिनी समाजलाई महिलाहरूले आफ्नो पीडा बिसाउने चौतारी बनाएको उनको दाबी छ। हुन त हिंसामा परेका सबै महिलाले आफ्नो पीडा भन्छन् भन्ने छैन तर भन्नै पर्दा आफूहरूलाई भन्ने गरेको अनि यो क्रम क्रमश: बढ्दै गएको उनले बताइन्।
‘हामी यो देशमा माइग्रेट भएर आयौं। योसँगै हाम्रा संस्कार पनि माइग्रेट भएर आए। हाम्रो समाजको पुरूष प्रधान सोच यता पनि आइपुग्यो,’ उनले भनिन्,‘यहाँ महिला र पुरूषसँगै काम गर्छन्। तर महिलाहरू काम पनि गर्ने अनि बच्चा हुर्काउने तथा घरको काममा समेत लाग्न पर्यो।’
बच्चा हुर्काउने क्रममा, घरको काममा पुरूषको भूमिका भए पनि महिलाहरूलाई अझै चुनौती रहेको उनले बताइन्।
घरेलु हिंसाको घटनालाई लिएर औषतमा एक सातामा एउटा गुनासो आउने गरे पनि यो अझै धेरै भएको उनले बताइन्।
‘यो कुरा कसैलाई नभन्नु,के गर्ने होला मलाई सहयोग गर्नु भनेर फोन आउँछन्। यो किन भइरहेको छ भन्दा कामको सन्तुलन नमिलेको हो कि जस्तो लाग्छ,’ उनले भनिन्, ‘जब सानो कुरामा झगडा पर्छ अनि समाजले तिमी त छोरा मान्छे हो नि डराएर हुन्छ भन्दिन्छ। हाम्रै बाआमाबाट समेत त्यस्ता कुरा आएको पाइन्छ। अर्थात् नेपालको असमानता यता पनि आइपुगेको छ।’
समस्या लिएर आएका महिलाहरूलाई काउन्सिलिङ गर्ने लगायतका सहयोग गर्दै आएको उनले बताइन्। महिलाहरू आर्थिक रूपमा बलियो भएसँगै कामको भार पनि बढेको उनको अनुभव छ।
धेरै दाजुभाइले काममा सहयोग गरे पनि यो पर्याप्त नभएको उनको तर्क छ।
‘कसैले मलाई समस्या पर्यो भनेर फोन गर्छ भने त्यो अति भएर हो। किनकि यत्तिकै कसैले फोन गर्दैन भन्ने हो,’ उनले भनिन्।
२१ वर्षअघि अस्ट्रेलिया आएकी जमुनाले २०१२ देखि २०२२ सम्म दिदीबहिनी समाजको अध्यक्ष भएर काम गरिन्। अहिले यो संस्थाको अध्यक्ष रोशनी श्रेष्ठ छन्। जमुनाले सल्लाहकारको रूपमा काम गरेकी छन्। नर्सिङ पेसामा आबद्ध जमुनाका तीन सन्तान छन्। उनका श्रीमान बद्री पन्त पनि स्वास्थ्य क्षेत्रमै कार्यरत छन्। काम, घर परिवार अनि समाज सेवालाई उनले सँगै अगाडि बढाएकी छन्।
‘मेरा दुई छोरा र एक छोरी छन्। श्रीमानको पनि सहयोग छ। यति हुँदा पनि समाज सेवामा लाग्न सजिलो छैन। तर यो एउटा नसाजस्तै रहेछ। गर्छु भनेपछि जसरी पनि समय निस्किन्छ,’ उनले भनिन्।
दिदीबहिनीका लागि काम गरिरहेकी जमुनाले दाजुभाइको सहयोगबिना आफूहरू सफल हुन नसक्ने बताइन्।
‘दाजुभाइलाई म के भन्न चाहन्छु भने तपाईंले घरमा श्रीमतीलाई हरेक कुरामा सहयोग गर्नुभयो अनि घरको जिम्मेवारी मेरो पनि हो भन्ने ठान्नुभयो भने धेरै समस्या समाधान हुन्छ,’ उनले भनिन्, ‘दिदीबहिनीले आफ्ना समस्या छन् भने नलुकाइकन भन्नु होला, हामीले गोप्य राख्छौं। तपाईं भर्खर आएको भए पनि यो संस्था तपाईंको पनि हो भनेर सोच्नुपर्छ।’