किर्तिमानी बैकुण्ठ मानन्धरको सिड्नी यात्रा


कीर्तिमानहरू तोडिनका लागि बनिन्छन्। नयाँ प्रतिभाको आगमनसँगै कयैन पुराना पुस्ताको इतिहास तोडिएको छ। तर, नेपाली खेलक्षेत्रमा एउटा पुराण पात्र जसले ३२ वर्ष अगाडि बनाएको किर्तिमान अझैसम्म कसैले पनि तोड्न सकेको छैन।

यिनै पुराणपात्र हुन् म्याराथन धावक बैकुण्ठ मानन्धर जसले तेस्रो साफ खेलकुदमा दौडमा एउटा कीर्तिमान जोडे जुन अहिलेसम्म तोडिन सकेको छैन।

नेपाली खेलक्षेत्रमा उनको योगदानलाई सबैले मुक्तकण्ठले प्रशंसा गर्छन्। तर, मानन्धरको कदर र लगानीको सोचेझैं सम्मान हुन सकेको छैन। उनका नाममा धेरैले खेलक्षेत्रमा पासो थापे होलान् या कतीले नासो जोडे होलान्। तर, बैकुण्ठ मानन्धर भने आफूलाई खेलकुदकै ट्रयाकमै जमाइरहे।

देखेको कुरा भ्याट्टै बोली हाल्ने अनि चित्त नबुझेछि छोडी हाल्ने बानीले बैकुण्ठ दाइको हक्की स्वभावलाई सहजै उजागर गर्छ।

यतिखेर चितवन समाजको निम्तो मानेर श्रीमती शुभद्रा मानन्धरसहित अस्ट्रेलियाको सिड्नीमा रहेका बैकुण्ठ प्रवासी समाजले नेपाली खेलक्षेत्रप्रति देखाएको मान सम्मानप्रति आभारी छन्। ‘सरकारले खेलुकद र खेलाडीलाई सम्मान गर्न जानेन। अस्ट्रेलियामा रहेको चितवन समाज र केही साथीहरूले जुन सम्मान गर्नुभयो, त्यसले खेलक्षेत्रमा टिकिरहन झन हौसला थपिएको छ,’ ६७ वर्षको नजिक पुगेका बैकुण्ठ मानन्धरले भने।

मानन्धरको सम्मानमा सिड्नीको ओलम्पिक पार्कमा शान्ति दौडसमेत आयोजना गरिएको थियो। सिड्नीका सयौ खेलप्रेमीको उपस्थिति रहेको कार्यक्रममा मानन्धरले स्वास्थका लागि खेलुकद र राष्ट्रका लागि खेलकुद भन्दै यसको महत्व प्रकाश पारेका थिए।

दक्षिण एशियामा विकास र विस्तारका इतिहासले कोल्टे फेरे पनि तीन दशकको अन्तरालमा बैकुण्ठ मानन्धरको कीर्तिमान कसैले तोड्न सकेका छैनन्। उनले तेस्रो साफमा दुई घन्टा १५ मिनेट लगाएर म्याराथन पुरा गर्दै दक्षिण एशियाली कीर्तिमान बनाएका थिए।

‘कीर्तिमान ठूलो विषय होइन नेपालकै खेलाडीले तोड्न सक्छन्, हाम्रो प्रशीक्षण राम्रो छैन,’ मानन्धरले सेतोपाटीसँग भने, ‘राजेन्द्र भण्डारीजस्ता प्रतिभाशाली धावक देशमै थिए तर राम्रो बिधिबिज्ञान नजान्दा उनी पछि परे। यसका लागि दिन र महिना होइन कम्तीमा दुई तीन वर्षको लामो र निरन्तर प्रशीक्षणको ब्यवस्था हुनुपर्छ।’

सरकारले खेलकुदको महत्व नबुझेको बैकुण्ठ मानन्धरले बताए। ‘खेलकुदमा केही गर्न खोज्दा राज्यले दिँदैन। नीति निर्माण तहमा खेलकुद बुझेको मान्छे आउन जरूरी छ। एउटा खेलाडीले देश चिनाएको हुन्छ अहिलको विश्वमा,’ हेले गेब्रेसेलासीले म्याराथन दौडिदै गर्दा इथियोपीया संसारमा चिनिएको चर्चा गर्दै मानन्धरले भने, ‘हाम्रा नेतामा त्यो सोच आउनु जरूरी छ।’

राज्यले खेलकुदमा ध्यान नदिँदा युवा प्रतिभाहरु पलायन भएको भन्दै उनले यो डरलाग्दो रोग भएको टिप्पणी गरे। ‘एथलेटिक्समा केशरी चौधरीजस्ता प्रतिभाहरु रोजगारीको खाजीमा बिदेशीएका छन्, कराँतेमा भर्खरै अस्ट्रेलियामै पलायन भएका छन रे। राज्यले यसलाई रोक्न सक्नुपर्छ,’ मानन्धरले सुनाए।

खेल जिवनमै पहिलो पटक ६६ वर्षको उमेरमा श्रीमती शुभद्रा मानन्धरलाई सँगै लिएर बिदेश आएका बैकुण्ठ भन्छन्, ‘उनी दंग परेकी छिन्। सयौं पटक बिदेश घुमे होला तर श्रीमती शुभद्रालाई लिएर जाने मौकानै पाएको थिएन,’ उनले भने,‘सधै एक्लै खेल्न जाने हाम्रो परिस्थिति र घर ब्यबहार धान्ने परिवार बिचको तालमेल मिलाउन कठिन हुन्थ्यो। यस पटक चितवन समाजले शुभद्रासहितको निम्ता दिएपछि म पनि निकै खुसी भएँ। मेरो खेल जिवनलाई सधै मलजल गर्ने मेरी श्रीमतीलाई पनि घुमाउन पाइयो।’

अझै दिनहुँ आठदेखि १२ किलोमिटर सम्म कुद्छन मानन्धर, पछिल्लो पटक एभरेष्ट म्याराथन कुद्न सगरमाथाको आधार शिविर पनि पुगेको थिए तर, आयोजकले स्वास्थका विषयलाई लिएर मानेनन्। ‘दौडनु मेरो दिनचर्या हो,’ सिडनीमा मानन्धरले सुनाए।

मानन्धरको यो भ्रमणलाई सिड्नीका दौडप्रेमी सन्जिव पाण्डे र केशव सापकोटाको पहलमा चितवन समाजले सफलीभूत पारेको थियो।

यी नेपाली एथ्लेटिक्सका नायक बैकुन्ठ मानन्धर विसं २००९ सालमा काठमाडौंको कालिमाटीमा जन्मेका हुन्। पाँच फिट पाँच इन्च अग्ला मानन्धरलाई नेपाली एथ्लेटिक्समा पुराण पात्रका रुपमा लिइन्छ। २०२७ सालदेखि दौड्न शुरू गरेका मानन्धरले परिवारले थाहा पाउलान् भनेर कहिले विद्यालय जाने बहानामा त कहिले सिनेमा हेर्ने बहानामा  भागीभागी दौडने गरेका बताए।

मानन्धरले सन् १९७६ मा क्यानडाको मोन्ट्रियलमा सम्पन्न २२ औं ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरे भने त्यसपछि पनि लगातार चारपटकसम्म ओलम्पिकमा सहभागि भई नेपाली खेलकुदमा धरैपटक ओलम्पिकमा भाग लिने खलाडी समेत बनेका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.