नेपालको पत्रकारिता प्रवासमा नगरौं: राजदूत शेर्पा


अस्ट्रेलियाको सिड्नीबाट प्रकाशित हुँदै आएको मासिक पत्रिका नेपाल न्युज अस्ट्रेलियाले पाँचौ वार्षिकोत्सव मनाएको छ।

प्रवासमा चल्ने पत्रिकालाई लामो समयसम्म टिकाउन निकै मुस्किल हुने सन्दर्भमा नेपाल न्युज अस्ट्रेलियाले आफ्नो पाँचौ वर्ष पुरा गर्दै समाजिक दायीत्व समेत पुरा गरेको छ।

प्रवासमा रहेको नेपाली समुदायलाई जोड्ने र स्थानीय गतिविधीलाई एक अर्काको पहुँचमा पुर्‍याउने काममा यस्ता प्रवासी पत्रकारिताले महत्वपूर्ण भूमिका निर्वाह गरेको अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले बताइन्।

उनले सिमित श्रोत र साधनका बावजुद दूतावासको ठूलो जिम्मेबारी रहने हुँदा यसलाई समाजका सबै तह र तप्कासँग मिलेर अगाडि बढेमा मात्र सफल हुने अनुभव सुनाइन्। राजदूत शेर्पाले सन्चारकर्मीले पत्रकारितालाई जिम्मेवार बनाउन नेपालको पत्रकारिता नभइ अस्ट्रेलियन पत्रकारिता गर्न सुझाब दिइन्।

कार्यक्रममा एनएसडब्लुका महाबाणिज्यदूत दिपक खड्काले अस्ट्रेलियामा रहेका सन्चारकर्मीले समाजलाई जोड्ने र आपसी हितमा कार्य गरेकोमा खुसी प्रकट गर्दै नेपाल न्युजले पाँच वर्षको यात्रा पुरा गरेकोमा बधाई दिए।

यस्तै कार्यक्रममा एनआरएन ओसेनियाका संयोजक धर्म अधिकारीले प्रवासमा समाजसेवाका रुपमा गरिने पत्रकारिता र नियमीत प्रकाशन भैरहेका पत्रिका समुदायका अंगका रुपमा रहेको बताए। अधिकारीले गाह्रो साह्रोकाबीच समय निकालेर फलको आशा नगरिकन गरिने प्रवासको पत्रकारितालाई सबैले सहयोग गर्नुपर्ने बताए।

अधिकारीले समाज जोड्न र खबर बाढ्न गरिने पत्रकारितालाई निरन्तरता दिदै पाँच वर्ष पुरा गरेकोमा नेपाल न्युज अस्ट्रेलियालाई धन्यबाद दिए।

कार्यक्रममा कानुन ब्यवसायी शम्सेरसिंह थापाले प्रवासमा फस्टाउँदै गएको पत्रकारिता भित्र विकृति र बिसंगती नभित्र्याउन भन्दै पत्रिकाको सफलताको कामना गरे। वार्षिकोत्सव समारोहमा नेपाली समाजका अग्रज इन्द्रा वन , पत्रिकाका पूर्वप्रकाशक प्रदीप ढकाल, एनआरएनका पूर्वअध्यक्ष मन केसीलगायतले पत्रिका ब्यवशायीक यात्रामा सफल होस भनेर शुभकामना ब्यक्त गरेका थिए।

यस्तै कार्यक्रममा पूर्व प्रकाशक डिल्ली ढकाल, एनआरएन आइसीसी सदस्य दिनेशराज जोशी, दीपक भट्टराई, उषा पोखरेल, अन्तर्राष्ट्रिय झापाली समाजका केन्द्रीय अध्यक्ष दिनेश पोखरेल, एनएडीएफका अध्यक्ष बिवेक थापा, एनआरएनका उपाध्यक्ष नन्द गुरुङ, एकाका अध्यक्ष निरज श्रेष्ठ, एनआरएनका पूर्व अध्यक्षहरु सुरेन्द्र सिग्देल, गोवा कटुवाललगायतको उपस्थिति थियो।

कार्यक्रममा नेपालबाट आएका रेडियो नेपालका समाचार शाखाका प्रमुख खगेन्द्र खत्री र कान्तिपुर टेलिभिजनका वरिष्ठ समाचारदाता विजय अधिकारीलाई सम्मानसमेत गरिएको थियो। रेडियोका पुराना पत्रकार खत्रीले कार्यक्रममा बोल्दै प्रवासमा पत्रकारिता आफैंमा चुनौतीपूर्ण रहेको अवस्थामा स्थापित पत्रकारहरुको टिमले समय निकालेर पत्रिका सन्चालन गर्नु समाजको लागि महत्वपूर्ण उपलब्धिका रुपमा रहेको बताए।

अर्का कान्तिपुरका पत्रकार अधिकारीले भने प्रवासको नेपाली समाज बलियो बन्दै जाँदा मुलुकको विकास निमार्णमा पनि महत्वपूर्ण टेवा पुगेको सन्दर्भमा पत्रकारिताका आयामहरु थपिनु सबैका लागि खुसीको कुरा रहेको बताए।

कार्यक्रममा पत्रिकाका मेनिजिङ डाइरेक्टर हेमन्त काफलेले समाजमा देखिएका गलत प्रवृत्तिका विरुद्ध कलम चलाउनु पनि पत्रकार धर्म रहेको बताए।

यस्तै कार्यक्रममा पत्रिकालाई सहयोग गर्ने सम्पूर्ण संघ संस्थालाई मायाको चिनो समेत प्रदान गरिएको थियो।

कार्यक्रममा पत्रिकाका सम्पादक कृष्ण तिवारीले निम्तालुलाई स्वागत गरेका थिए भने प्रधान सम्पादक माधव गैरेले पाँच वर्षको यात्रामा सहयोग र सदभाव राख्नेलाई धन्यवाद दिएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.