पश्चिम अस्ट्रेलियाको पर्थमा ‘दोस्रो नेपाल फेष्टिभल २०१८’ सकिएको छ। गैर आवसीय नेपाली संघ अस्ट्रेलियाको आयोजनामा शनिबार पर्थको एलिजावेथ क्वेमा सम्पन्न महोत्सवमा हजारौं नेपाली तथा अस्ट्रेलियनले अवलोकन गरेका थिए।
सांस्कृतिक झाँकीले पर्थ शहर परिक्रमा गरेर सुरू भएको महोत्सवमा नेपाली कला संस्कृति झल्किने गीत संगीत, खानाको परिकारहरू, नेपाली हस्तकलाका सामानहरू र नेपाली व्यवासायलाई प्रवर्धन गर्ने बिभिन्न स्टलहरु राखिएका थिए।
कार्यक्रममलाई अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा तथा गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले पानसमा बत्ति बालेर महोत्सवको उदघाटन गरेका थिए।
समारोहमा बोल्दै राजदूत शेर्पाले नेपालबारे प्रचार प्रसार गर्न यस्ता कार्यक्रम उपयोगी रहँने बताउँदै पर्थबाट नेपाल भ्रमण जाने पर्यटकको संख्या बढाउन स्थानीय ब्यवसायीसँग सहकार्य गर्न नेपाली समुदायलाई आग्रह गरिन्।
त्यस्तै कार्यक्रममा विशेष अतिथि एवम् पश्चिम अस्ट्रेलिया सरकारका प्रिमियर मार्क म्याकग्वानको प्रतिनिधि एवम् संसद लिशा बेकरले पर्थमा नेपाली समुदायको संख्या दुई सय प्रतिशतले बढेको तथ्य स्मरण गर्दै स्थानीय अर्थतन्त्रमा पुर्याएको योगदानको प्रशंसा गरिन्।
कार्यक्रममा गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले अतिथि सत्कारका लागि नेपाल विश्वकै उत्कृष्ट देशको रूपमा चिनिएको भन्दै नेपाल गएर त्यसको अनुभव गर्न कार्यक्रममा उपस्थित अस्ट्रेलियनलाई आग्रह गरे।
एनआरएन ओसिनिया संयोजक धर्मराज अधिकारीले नेपालीपन जोगाउन र दोस्रो पुस्तालाई आफ्नो कला र संस्कृतिका बारेमा जानकारी दिन यस्ता महोत्सव निकै महत्वपूर्ण रहेको बताए।
एनआरएनए अस्ट्रेलिया अध्यक्ष टोनु घोतानेले यो वर्ष अस्ट्रेलियाका आठै वटा राज्यमा नेपाल महोत्सव हुने जानकारी दिए। घोतानेले ‘एक देश अनेक कथाहरू’ नाराका साथ अस्ट्रेलियामा नेपाल प्रवर्धन गर्ने बताए।
एनआरएनए अस्ट्रेलिया महासचिव नारायण कोइरालाको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रममा एनआरएनए पश्चिम अस्ट्रेलियाका संयोजक दीपक शर्माले कार्यक्रमको सफलताका लागि हरेक क्षेत्रबाट सहयोग पुर्याउने सबैलाई धन्यवाद् दिए।
नेपालको प्रसिद्ध सांगीतिक समूह कुटुम्ब प्रमुख आकर्षणको रूपमा रहेको कार्यक्रममा १० हजार दर्शक उपस्थित रहेको नेपाल महोत्सव पर्थ संयोजक शर्माले जानकारी दिए।
पर्थमा मादल घन्किँदा यहाँका स्थानीय अस्ट्रेलीयनहरू दंग परेका थिए। कार्यक्रममा आईसीसी सदस्य राज थपलिया, केदार रिजाल, एनआरएनका उपाध्यक्ष नन्द गुरुड, केशब कँडेल, युवा अभियन्ता बिजय पोखरेललगायतको उपस्थिति थियो।