नयाँको क्रुज पार्टी अर्को साता


नेपाल अस्ट्रेलियन युथ एशोसिएशन(नया)ले हरेक वर्ष सामाजिक कार्यको लागि आयोजना गर्दै आएको नया क्रुज पार्टी यस पटक पनि यहीँ आउँदो मार्च ३१ का दिन शनिबार आयोजना गर्ने भएको छ । अस्ट्रेलियाका युवा जमातलाई नेतृत्व गर्दै अगाडि बढेको नयाले यस पटक खेलकुदलाई मुल नारा बनाउँदै क्रुज अभियानलाई निरन्तरता दिएको हो ।

खेलकुद प्रवासमा आपसी भाइचारा कायम गर्ने मात्र नभई मुलुक चिनाउने माध्यम पनि भएकोले खेलकुद र खेलाडीलाई सहयोग गर्ने उद्देश्यका साथ यस पटकको क्रुज पार्टी आयोजना गरिएको नयाका अध्यक्ष प्रकाश खरेलले बताए ।

खरेलले २१ औँ शताब्दीको खेलकुद पर्यटनको आधार पनि बनिसकेको अवस्थामा यस पटक हाम्रो खेलकुद र खेलाडीलाई सहयोग पुर्‍याउने उद्देश्य बोकेको बताए । यसअघि नयाले नेपालको शिक्षा र स्वास्थ्यमा सहयोग गर्न क्रुज पार्टीबाट उठेको रकम खर्चेको थियो ।

यस पटक नयाको यस अभियानलाई सिड्नीको कानून  व्यवसायी भरत पोखरेलको बन्ड लिगलले मुख्य प्रायोजकको रूपमा आफूलाई उभ्याएको छ भने एक्सपर्ट र मल्टी डाइनामिक अनि रे हवाइट सहयोगीको भूमिकामा देखिएका छन ।

सिड्नीमा रहेका युवाहरूको लोकप्रिय संस्था नयाले यसअघि नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कालाई अस्ट्रेलिया बोलाएर सहयोग र सम्मान समेत गरेको थियो ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.