ट्रम्पका छोराद्वारा चुनावका बेला रुसी अधिकारीसँग गरेका इमेल सार्वजनिक


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोराले रुससँग सन् २०१६ को निर्वाचनका समयमा गरेका इमेल श्रृंखलाहरु सार्वजनिक गरेका छन्।

मंगलबार सार्वजनिक गरिएका ती इमेलमा एकजना रुसी वकिलसँग उक्त निर्वाचनमा आफूहरुले हिलारी क्लिन्टनका विपक्षमा सूचना दिन चाहेको र जुनियर ट्रम्पले त्यसलाई स्वागत गरेको कुरा उल्लेख छ।

उक्त इमेलको जवाफमा जुनियर ट्रम्पले यदि त्यस्तो सूचना दिने हो भने त्यो आफ्नो लागि निकै खुसीको कुरा हुने पनि बताएका छन्।

त्यसपछि ती रुसी अधिकारीले ती इमेल ट्रम्पका छोरालाई लेखेको जानकारी गराएका छन्। ती इमेल उनले मंगलबार सार्वजनिक गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो छोराले राम्रो र पारदर्शी काम गरेको बताएका छन्।

गत वर्षको राष्ट्रपतीय चुनावमा रुसले सहयोग गरेको कुरालाई जुनियर ट्रम्पले स्वागत गरेका कुरा सो मेलमा लेखिएको छ । रुसी वकिलले आफूले निर्वाचनका सम्बन्धमा सम्वेदनशील सूचना दिने बताएपछि जुनियर ट्रम्पले यदि त्यसो हो भने त्यो असाध्यै मन पर्नेछ भनेर जवाफ लेखेका छन्।
इमेल प्रकरण केही दिनसम्म बढ्दै जाँदा क्रेमलिन सम्बद्ध भनिएका रुसी कानुन व्यवसायीसँग भेटवार्ता गरिएको पनि जुनियर ट्रम्पले स्वीकारेका छन् ।

उनी हाल घरजग्गा किनबेच गर्ने व्यवसायी हुन् र उनले बुबा राष्ट्रपति भएपछि उनको समेत व्यापार सम्हालेर बसेका भनी यसअघि नै बताइएको थियो ।

यति बेला यो इमेल प्रकरणको खुलासालाई अमेरिकामा विभिन्न पक्षबाट मिश्रित प्रतिक्रिया दिइएको छ । कतिपयले यसलाई पारदर्शीताको उदाहरण भनेका छन् भने कतिले दुःखको र बाहिर ल्याउन नमिल्ने सम्वेदनशील भएको बताएका छन् ।

इमेलबाट रुसी सरकारले ट्रम्पको चुनावी अभियानलाई सूचना उपलब्ध गराउन चाहेको र उनलाई बिजयी गराउन सहयोग पुग्नेगरी काम गरिएको देखिएको कतिपयको विश्लेषण छ ।

यो प्रकरणको खुलासासँगै अमेरिकी अधिकारीहरुले चुनावमा रुसी हस्तक्षेप भएनभएको भन्ने बारेमा अनुसन्धान गरिरहेको बताएका छन ।

साथै यसबाट यसअघि अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रुसी हस्तक्षेपको चर्चा निकै चलेकोमा फेरि एकपटक सतहमा आएको विश्लेषकहरुको भनाई छ ।

यसअघि सो अभियानका बारेमा गरिएका प्रश्नमा राष्ट्रपति ट्रम्पले स्वीकार नगर्ने गरेकोमा अहिले यो वास्तविकता बाहिर आएको पनि बताइएको छ । रासस/एएफपी

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.