रक्तदान संसारतिर!

नेपाली डायस्पोराका एक सदस्य अर्जुन प्रसाद मैनाली जो थोमसको देशबाट संसारतिर फैलिदै


टेलिफोन संवादमा उनी करिब तीन दशक अघिको समयमा फर्किए। उनी अर्थात् अर्जुन प्रसाद मैनाली।

उमेरले करिब पाँच दशक छेउछाउ पुग्दै गर्दा उनीको जोस र जाँगर भने दोस्रो दशकका युवाहरूको जस्तै देखिन्छ। लगातार आफ्नै मिसनमा लागेको पनि तीन दशक भइसकेको छ । उनलाई थाहा छैन, यो मिसन कहिले रोकिन्छ ।
प्रसिद्ध साहित्यकार रमेश विकलद्वारा लिखित ‘मधु मालती’को कथामा बाल पात्रहरू शंकर र गौरीको प्रेममा तगारोको रूपमा वर्गीय विभेद, जातीय असमानता देखिदा उनिहरूको रोल मोडेल लोक कथाका पात्रहरू मधु र मालती थिए । कथामा वाल मस्तिष्कमा परेको प्रभावलाई जीवन्तरूपमा चित्रण गरिएको छ। तर यिनीेलाई मधु र मालतीले शंकर र गौरीलाई प्रभाव होइन, समग्र कथाबाटै प्रभावित भए । अनि, आफै रोल मोडल बन्न पुगे ।

यद्यपि, यिनको जीवनलाई सधैँका लागि बदलिदिने रोल मोडेल हुन्– थोमस। जो त्यतिबेला त्रिभुवन विश्वविघालयको प्रमाणपत्र तहको अंग्रेजी पाठ्यपुस्तक ‘द ब्लड डोनर’ भन्ने पाठका मुख्य नायक हुन्। सन् १९८५ ताका कलेजमा उनले पढेको यो पाठमा अमेरिकन रक्तदाता थोमसले रक्तदान गरेर धेरै बिरामीहरुलाई बचाएको प्रसङ्ग छ । कथाबाट उनी निकै प्रभावित भए। कक्षामा गुरूबाट थोमसका बयान सुनिरहँदा पनि उनकै काल्पनिक आकृतिहरू मस्तिष्क घुमाइरहन्थे।

अहिले त उनी आफैलाई लाग्छ, पृथ्वीमा जन्म लिएकै रक्तदान गर्नको लागि हो।

काभ्रेपलाञ्चोक जिल्ला, सिपाली चिलाउनेको कोर्थुम्कामा सन् १९६८ जुन २० तारिखमा जन्मेका मैनाली जिन्दगीमा दुःखका पहाडहरू छिचोल्दै अहिले अमेरिकाको न्युयोर्कमा कर्म थलो बनाइरहेका छन्। तन र मन भने जन्म थलोतिरै डुलाइरहेका छन् ।

कुराकानी कै क्रममा उनले सम्झे सन् १९८७ अगष्ट २० को दिन । त्यसदिन उनले पहिलोपटक रक्तदान गरेका थिए। घुम्दाघुम्दै काठमाडौंको बिशालबजार पुगेको थिए, उनी। त्यहाँ लायन्स क्लबको रक्तदान कार्यक्रम चलिरहेको दृश्यले उनलाई पाठ्यपुस्तकको ‘द ब्लड डोनर’ क्लिक गरिदियो। उनले थोमसलाई सम्झे। र, रक्तदान गर्न अघि सरे।

रमाइलो त के छ भने, रक्तदान गर्ने समयसम्म उनलाई आफ्नो रगतको ग्रुप कुन हो भन्ने सम्म थाहा थिएन। तर, रहरले अन्य सबै प्रश्नलाई उछिन्यो। त्यही रहरले सुरू गरेको यात्रा आजसम्म नियमित चलिरहेको छ।

रक्तदान गरिसकेपछि उनले महसुस गरे, मानिसहरुमा रक्तदानबारे चेतनास्तर निकै कमजोर छ। उनलाई यो यात्रा पहाड चढेजस्तो लाग्यो । एउटा ठूलो पहाड चढेपछि बल्ल थाहा हुन्छ कि चढ्नका लागि अझ थुप्रै पहाडहरू बाँकी छन् । उनले यो पनि महसुस गरे ।

पैसा तिरेर पनि नपाइने, पसल पनि नबेचिने र बेलैमा नपाएमा मान्छेको जीवन जोखिममा पर्ने चिज थियो रगत । त्यही रगत उनले दिल खोलेर दान गर्न थाले। र, अरूलाई पनि दान गर्नकोलागी जनचेतना फैलाउन तथा प्रोत्साहन गर्न थाले। यसरी सन् १९८८ फेब्रुअरी १९ मा दोश्रो पटक,, सन् १९८८ जुलाई ३० मा तेश्रो पटक, सन् १९८८ अगस्ट २० मा चौथो पटक गर्दै सन् २०१३ आइपुग्दा उनले १ सय ८ पटक रक्तदान गरिसकेका थिए ।
२०१४ मा मात्र १९ पटकसम्म रक्तदान गरेको बताए।

उनले जुन २५, २०१६ मा अफ्रिकाको देश मलावीका राष्ट्रपति पिटर मुथारिकाले आफ्ना जनतालाई गरेको अपील सुने। खान नपाएर भोकाएका जनतालाई मुसा र फट्यांग्रा खान आदेश दिएका थिए मुथारिकाले । देशमा खाद्यसंकट भएपछि आपतकाल घोषणा गरिएको थियो । अझ देश भरिमा दुई तिहाइ बिरामीहरुलाई रगत उपलब्ध रहेनछ । यो थाहा पाएपछि उनलाई असह्य भयो । छटपटी बढ्यो । विश्वको त्यो अनकन्टार ठाउँका आफ्नै रगत दिएर एक जना बिरामीलाई भए पनि बचाउने योजना बनाए ।

न्युयोर्कबाट करिब २० घण्टा लामो दिक्क लाग्दो हवाइयात्रा गर्दै मलावी पुगे । भोलिपल्ट राजधानीको लिलोंगवे स्थित मलावी रक्त सञ्चार सेवामा आफ्नो १५६ औं रक्तदान गरे ।

उनले मलावीमा आफूले मात्रै रक्तदान गरेनन्, त्यहाँका स्थानीयलाई पनि हौसला बढाउन, जनचेतना फैलाउन एक हजार अमेरिकी डलर पनि सहयोग गरे । त्यो रकम त्यहाँको मुद्रा अनुसार करिब ७ लाख ५० हजार जति हुँदो रहेछ ।
७ फेब्रुअरी २०१७ सम्म १५८ पटक अफ्रिकी मुलुक हैटीमा रक्तदान गरेका थिए । त्यसपछि अमेरीकामा भने एक बर्षसम्म रगत दिन नपाइने रहेछ। खासमा मलेरिया भएको देशबाट आउदा एक बर्ष सम्म रगत दिन नपाउने नियमको कारणले त्यस्तो भएको हो। रक्तदानको प्यास मेटाउन आफ्नो जन्मदिनका दिन यही जुन २० तारिखका दिनमा क्यानाडामा १५९ औं रक्तदान गरे ।

रगत हाम्रो शरीरका लागि नभइ नहुने पदार्थ हो। यसको कुनै देश, जाति, राज्य र धर्म हुँदैन। एउटा नेपालीको ज्यान अमेरिकनको रगतले बचाउन सक्ने, अन्य देशका नागरिकलाई नेपालीको रगतले बचाउन सक्छ। एउटा बाहुनको ज्यान दलितको रगतले बचाउन सक्ने। अनि एउटा हिन्दूको ज्यान मुसलमानको रगतले बचाउन सक्ने। त्यसैले मानिसलाई रगतको आवश्यकता पर्दा कुन जातिको हो, कुन वर्गको हो भनेर नहेरीने। सायद यहि भएर नै यी ५ महादेशका १० देश र अमेरिकाको १४ राज्यहरुमा उपस्थित भएर स्वयं रक्तदान गर्दै स्थानीय समुदायलाई पनि हौसला र सहयोग गरिसकेका छन्।

मैनालीकै भनाइलाई सापट लिँदा यिनले रक्तदान गरेको परिणाम अनुसार करिब ४७४ जनाको ज्यान बचाउन सकिन्छ।

नेपालको विकट गाँउदेखि अफ्रिकाको संकटग्रस्त देशहरूसम्म आफ्नै खर्चमा यात्रा गरेका उनले आममानिसमा रक्तदान गर्न उत्प्रेरणा गराउन नेपालमा मेची महाकाली साइकल यात्रा पनि गरे। सन् १९९० मे महिनामा सुरू गरिएको साइकल यात्रा पटकपटक गरेर सन् १९९१ फेब्रुअरीमा सकिएको थियो। अहिले अरूलाई उत्प्रेरणा जगाउन आफ्नो कारको दुवै पट्टि साइडमा ‘म प्रत्येक वर्ष तीनदेखि छ पटकसम्म रक्तदान गर्छु’ भनेर पनि लेखाएका छन्। फेरि, सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई जन्मदिनहरुमा शुभकामना प्रदान गर्दै अर्को वर्षको जन्मदिन चाहिँ रक्तदान गरेर मनाउन अनुरोध गर्छन्।

रक्तदान गर्ने र रक्तदान कार्यक्रम आयोजना गर्ने संस्थाहरूको सामूहिक प्रयासमा सन् १९८९मा ‘ब्लड डोनर्स’ क्लबको स्थापना गर्दा मैनाली सक्रिय भएर लागेका थिए। अहिले यो संस्थालाई ‘ब्लड डोनर्स एसोसिएसन अफ नेपाल’ नामले चिनिन्छ । अमेरिकामा ‘ब्लड डोनर्स अफ अमेरिका’को स्थापना गरेर रक्तदान गर्ने विश्वव्यापी अभियानमा जुटेका छन्। अहिले अभियानबाटै दशौं हजार नयाँ रक्तदाता थपिएका छन्। यो उनको दृढ अभियानको परिणाम पनि हो।

यसरी स्थानीय समुदायलाई हौसला र सहयोग गर्न पाउँदा धेरै आनन्दित महसुस गर्छन्।

नेपालीहरूले बसोबास गरिरहेका देश, शहरमा रक्तदान गरुन् भन्ने चाहन्छन्, उनी । उहाँहरूको रगतले स्थानीय मानिसहरूलाई बचाउन सहयोग पुगोस् भन्ने ठुलो चाहना छ । त्यसैले, आफ्नो नेटवर्कमार्फत संसारका नेपालीहरूलाई घचघचाउने गरेको छन ।

त्यसो त, रक्तदानलाई नै सँस्कृति बनाएका उनी रक्तदाता मात्र होइनन्, अरूलाई रक्तदान गर्न प्रेरणा दिने मानिस पनि हुन्। अरूलाई हौसला दिने मात्र होइनन्, परोपकारी मन भएका मानिस पनि हुन्। उनले धेरै नै परोपकारी कार्यहरु गरिसकेका छन्।

मान्छेले जन्म लिन्छ, ऊसित सास त हुन्छ तर कुनै नाम हुदैन र जब मान्छेको मृत्यु हुन्छ तब उसित नाम त हुन्छ तर सास हुदैन । यही सास र नामको बिचको यात्रालाई जीवन मान्छन् उनी। उनले समाजका लागि केही गरौं भन्नेहरूका लागि समर्पित गर्दै ‘दि गिफ्ट अफ लाईफ’ आत्मवृतान्त प्रकाशित गरेका छन्। रक्तदान र यसको महत्त्व, रक्तदान तथा समाज सेवाका लागि उहाँवाट गरिएका प्रयासहरु समेटिएको छ, आत्मवृतान्तमा ।

रक्तदान गरेकै कारणले पनि एउटा आमाबुवाले आफ्ना बच्चा फिर्ता पाउँन सक्छन्। एउटा परिवारले आफ्नो प्रिय सदस्यको जीवन पाउँन सक्छ। र, समाजले अकालमै कोही सदस्य गुमाउन नपर्ने वातावरण बन्न सक्छ।

रक्तदान गर्नाले हाम्रो शरीरमा कुनै हानी गर्दैन बरू एक हिसाबको ताजगी र आत्मसन्तुष्टि प्रदान गर्दछ। कसैको ज्यान जोगाउन डाक्टर नै हुनपर्दछ भन्ने पनि छैन, रक्तदाताहरु वास्तवमै भगवानका प्रतिरुपहरु हुन्। उनीहरुले पनि मान्छेका ज्यान बचाउन सक्छन्। आज उनी जोबाट प्रभावित भएर यस क्षेत्रमा लागे, उनै थोमसभन्दा पनि माथि पुगेर संसारतिर फैलिरहेका छन्।

संसार निकै स्वार्थी हुँदै जाँदा गर्दा अरुलाई बचाउनु पर्छ भनेर जीवनभरी मरिमेट्ने अर्जुन प्रसाद मैनालीलाई हाम्रो पनि सलुट।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.