ट्रम्पद्वारा एफबीआई निर्देशक बर्खास्त, अमेरिकामा नयाँ राजनीतिक तरंग


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शक्तिशाली संघीय जाँच ब्युरो (एफबीआई)का निर्देशक जेम्स कोमेलाई अप्रत्यासित ढंगले बर्खास्त गरेका छन्। ट्रम्पको यो निर्णयले अमेरिकामा राजनीतिक भूकम्प गएको छ।

ट्रम्प वा उनका सहयोगीले गत वर्ष सम्पन्न राष्ट्रपतीय चुनावको नतिजा प्रभावित गर्न रसियाको सहयोग लिए वा लिन सक्ने भन्ने बारे अनुसन्धान गर्ने उच्च अधिकारी थिए।   ट्रम्पको निर्णयले देशको शक्तिशाली अनुसन्धान तथा कानुन कार्यान्वयन निकायमा राष्ट्रपतिले ठाडो हस्तक्षेप गरेको सन्देश दिएको छ।

ट्रम्पले चुनाव जित्न रसियाको सहयोग लिएको आरोप प्रतिपक्षी डेमोक्राटिक पार्टीले लगाउँदै आएको छ। चुनावको मुखमा रसियाका ‘कम्प्युटर ह्याकर्स’ले डेमोक्राटिक पार्टी तथा उमेद्वार हिलारी क्लिन्टन र उनका सहयोगीका इमेलहरु विकिलिक्समार्फत सार्वजनिक गरेका थिए। पूर्वराष्ट्रपति रिचार्ड िनक्सनले अाफूविरुद्धको वाटरगेट कान्ड छानबिन गरिरहेको प्रमुख अनुसन्धानकर्तालाई यसैगरी बर्खास्त गरेका थिए।

कोमेलाई बर्खास्त गर्ने निर्णयसँग ट्रम्पको रसियासँगको सम्बन्धका विषयमा विशेष आयोग गठन गर्नुपर्ने प्रतिपक्षीले माग गरेका छन्। उक्त माग गर्नेमा जोन मक्केन लगायत सत्तारुढ रिपब्लिकन पार्टीका शक्तिशाली सिनेटरसमेत रहेका छन्।

यदि चुनावको नतिजा प्रभावित गर्न ट्रम्पले रसियाको सहयोग लिएको प्रमाणित भए त्यसले ट्रम्प विरुद्ध महाअभियोग लगाउन सकिने आधार तयार हुनेछ। कोमेलाई बर्खास्त गर्नुका पछाडि उनले हिलारी क्लिन्टनको इमेल काण्डमा राम्रो छानविन नगरेको आरोप लगाइएको छ

विदेशमन्त्री हुँदा क्लिन्टनले सरकारी कामकाजका लागि इमेल आदान-प्रदान गर्दा सरकारी नभई निजी ‘सर्भर’ प्रयोग गरेर राष्ट्रिय सुरक्षाका गोप्य सूचनालाई जोखिममा पारेको आरोप लागेको थियो। त्यसको अनुसन्धान गरेका कोमेले हिलारीको कामले राष्ट्रिय सुरक्षालाई नजरअन्दाज गरेपनि आपराधिक मुद्धा चलाउन नपर्ने प्रतिवेदन तयार गरेका थिए।

वास्तवमा कोमेको अनुसन्धानले ट्रम्पलाई नै चुनावमा फाइदा पुगेको थियो। हिलारी क्लिन्टनले समेत आफ्नो हारको एक प्रमुख कारण कोमेले गरेको अनुसन्धानलाई ठहर्याएकी थिइन। चुनावको मुखमा क्लिन्टनविरुद्ध थप अनुसन्धान गर्ने कुरा खुलाएपछि कोमेले साहसिक काम गरेको भन्दै ट्रम्पले कोमेको प्रशंसा गरेका थिए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.