अलविदा श्याम भाई …


जिवनभरि झण्डै तीन दशक विरामीहरूको उपचारमा जीवन विताएका श्यामभाई गौतम एक दिन आफै निको नहुने रोगको शिकार हुनुपर्छ भनेर सायदै सोचेका थिए। न त संख्वासभा जिल्लामा विसं २०१० सालमा जन्मेका उनले सात समुद्रपारी गएर प्राण त्यागिन्छ भनेर  नै सोचेका थिए।

तर सोचेको र कल्पेको भन्दा फरक भोग्नु पर्यो उनले। गत शुक्रबार अर्थात अक्टुवर १३  मा क्यान्सर डरलाग्दो रोगले उनको ज्यान लियो। त्यो पनि सातसमुद्रपारीको देश अमेरिकामा। टेक्सास राज्यको लबक शहरमा उपचारको क्रममा ज्यान गुमाएका उनै श्याम भाईको आज आईतबारको दिन हिन्दु परम्परा अनुसार पारिवारिक सदस्यहरूले दाह संस्कार गरे। दाहसंस्कारका लागी तयार श्यामभाईको पार्थिव शरीर राखिएको वाकसलाई जोडले समातेर उनकी उनकी जीवनसंगिनी  रूक्मिणी गौतम चिच्याईरहेकी थिईन।

आफुलाई छोडेर नजानका लागी सकेसम्मको आवाज निकालिरहेकी थिईन। तर एउटा लॉसको रूपमा परिणत भैसकेका श्याम भाईले न उनको करुणा सुन्न सक्थे न त कुनै जादुको सहयोगलिएर एकपटक मात्र नवोलेपनि चिम्लिएका  आँखा उघार्दै परेलीमार्फत संकेत अलंकार वुझाउनसक्थे। यसले त केवल उनका दुई सम्पत्ति छोरीहरू टेरेसा र कविता र त्यहॉ जम्मा भएका आफन्त अनि समुदायलाई भावव्हिल वनाईरह्यो। त्यसो त आफ्नो बुवालाई बचाउन उनका दुई सन्तानहरूले के नै पो गरेनन।

अघिल्लो दशैतिहारमा आफ्ना छोरीहरू वसिसरहेको यो ठाउमा भेट्न आएका श्यामभाईसँग भेट भएको थियो। कपाल पुरै सेतो फुलेका ६४ बर्षिय श्यामभाई सेतो कपाल जस्तै देखिन्थे मन बचन र कर्मले। उनले मेकअप जिवन विताएको भए कपालमा कालों रंग भर्थे सायद। जीवनभर आफु जन्मेको ठाउमा बसेर अरूकै उपचारमा दशकहरू कटाए। ग्रामीण क्षेत्रमा बसेर लामो समय विरामीको उपचारमा सहयोगी श्यामभाईको राजनीतिमा पनि निकै जानकार देखिन्थे। तर राजनीतिको सम्पूर्ण तस्विर वर्णन भने साहित्यको माध्यामबाट गर्दथे। साहित्यमा उनको दखल रहेको उनका कविताहरूले बोल्छन।

उनको विषमा परिवारकै सदस्य नाताले भाउज्यु शोभा गौतमले श्रद्धान्जलीस्वरूप बोल्दै गर्दा श्यामभाईको विषयमा केहि जानकारी प्राप्त गर्ने अवसर मिल्यो। पछिल्लो समय हामी छिमेकी वनेका थियौं। छोरीहरू टेरेसा र कविताहरू दाई भन्थे मलाई। टरेसाको श्रीमाण प्रविन शुरूमा साथी हुदै भाई वनेका थिए। हामी निकट हुदै थियौं। यसमा निकटता थपिदिएका थिए उनीहरूका अभिभावक श्यामभाई र रूकमिणी गौतमले।

अघिल्लो दशैतिहार हामीले सँगै मनाएका थियौं। पछि नेपाल फर्केको केहि महिनामै क्यानसर रोगको उपचारमा श्यामभाई यहॉ आएपछि हामी स्तव्ध थियौं। यस पटकको टिका लगाउन भनेर पठाईदिए जस्तै भएको थियो टिकाते दिन घरमा डिस्चार्ज भएका श्यामभाईको हातबाट टिका लगायौं उनी सुतेको बेडमै गएर।

सन्चो भएर तिहार मनाउने हाम्रो योजना सपना मात्रै भयो। छोटो समयमा म उनको विचारलै छिटै प्रभावित थिए र छु। हो उनी सॉच्चिकै अरूको लागी सोच्ने र हिड्ने व्यक्ति रहेछन। नेपालको स्वास्थ्य सेवालाई सवैको पहुँचमा पुर्याउनुपर्छ भनेर लागेका अगुवा रहेछन। पछिल्लो समय नेपालको  ईटहरिमा मेडिकल सन्चालन गरेर बसिरहेका उनलाई अव उनका परिवारिक सदस्यहरूले मात्र होईन धेरैले सोध्नेछन,  विशेषगरि विरामीहरूले।

भावव्हिल मुद्रा रहेको वेला उनकी जीवनसंगिनीले गरेको अन्तिम याचनाले भने मलाई जवाफविहिन वनाएको छ। जीवनसंगिनी रूक्मिणीका अनुसार श्यामभाई नेपालमा प्राण त्याग्न चाहन्थे। यससँगै अन्तिमसम्म उपचार गरेर उनलाई बचाउन  चाहन्थे। तर  परिवारको लागी मात्र होईन नेपालका बिरामीहरूको लागी पनि श्यामभाई बॉच्नुपर्थ्यो।  त्यसो हुनसकेन। यो अन्याय भयो। अलविदा श्यामभाई…।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.