रवीन्द्र मिश्रका नाममा…


बिबिसी नेपाली सेवामा रहँदा र हेल्प नेपाल नेटवर्क नामक सामाजिक संस्थामार्फत सामाजिक अभियानमा लाग्दा देखिएको/सुनिएको‘चार्म’ राजनीतिमा होमिएपछि रवीन्द्र मिश्रमा किन नदेखिएको होला? भन्ने जिज्ञासा मेरो जस्तै अरु धरैको हुनुपर्छ। झन् आगामी संसदीय निर्वाचनमा काठमाडौंबाट मिश्र आफैँ उम्मेदवार हुने जानकारी पाएदेखि नै मलाई चाहीं  उनको राजनीतिक भविष्यलाई लिएर चिन्ता लागिरहेछ।

उनका पुस्तकहरू किनेर चितवनका चेपांगहरूलाई गरिएको सहयोग होस् या हेल्प नेपाल नेटवर्कको अक्षयकोष अभियानमाआर्थिक सहयोग  गरेर वा उनको कविता वाचनमा सहभागी भएर मानवीय सहयोग अभियानमा संलग्नता जनाएर होस्, मिश्रको उच्च नैतिकता र इमान सहितको सामाजिक अभियानको एउटा सहयोगी हुँ भन्दा मलाई जस्तै धेरैलाई खुसी नै लाग्दो हो।

हालैको स्थानीय चुनावमा काठमाडौंमा साझा पार्टीको तर्फबाट स्वतन्त्र हैसियतका उम्मेदवार किशोर थापाको ‘पर्फरमेन्स’ सम्झन लायक नै थियो र, धेरैको शुभकामना थियो कि उनैले जितुन् र अस्तव्यस्त राजधानी शहरले एउटा कुशल नेतृत्व पाओस्। राजधानी शहर हो भनेर भन्न मन लाग्ने काठमाडौं शहर भैदिओस्। तर चुनावी नतिजाले त्यस्तो भनेन, साझा पार्टीले चौंथो स्थानमै चित्त बुझाउनु पर्‍यो।

एउटा सामाजिक अभियन्ता र कुशल पत्रकारका रुपमा मिश्रका विचार र शैली मन परेपनि उनीहरूको संगठनको स्वरुप/आकारले चुनाव नै जित्छ जस्तो लाग्दैन। सामाजिक संजाल विचारलाई प्रशारण गर्न र शिक्षित र इन्टरनेटको पहुँच भएकाहरूसम्म आफूलाई फैलाउन मात्र उपयोगी छ, चुनाव जित्नलाई त हुँदै होइन। खोइ संगठन? खोइ जनाधार?

अनि खोइ ‘एग्रेसिभ’ कार्यक्रम र साधारण भोटरलाई आकर्षित गर्ने योजना र जनपरिचालन? तपाईंहरूलाई मन नपर्ला र चुनावको मुखमा गरिएको निराशाजनक प्रतिक्रिया जस्तो पनि लाग्ला, तर सत्य के हो भने अहिलेको अवस्थामा अलि आक्रामक चुनावी नारा र बृहत् जनपरिचालन बिना तपाईंहरू एक सिट पनि जित्न सक्नुहुन्न।

सामाजिक कामका लागि कविता वाचन गरेरै ३५ लाख रुपैयाँ संकलन गराउन सक्ने यही परिस्थितिमा हुने चुनावमा भने रवीन्द्र मिश्र पराजित हुने लगभग निश्चित नै हो! मिश्र जत्तिको विश्लेषक र ज्ञानी मान्छेले यति त बुझ्नै पर्ने हो कि हाम्रै जीवनकालमा देशमा चाहेजस्तो परिवर्तन गर्नका लागि तपाईंहरूको तरिकाको हस्तक्षेपले मात्र पुग्दैन।

दशकौं लामो इतिहास बोकेका पुराना पार्टीहरूको राजनीतिक धरातल तपाईंका साह्रै राम्रा सुनिने चुनावी नाराले मात्र डगमगाउन सक्दैन। सांच्चिकै देश बदल्न अलि ठूलै स्तरको धक्का दिन सक्नुपर्छ। त्यसको लागि रवीन्द्र मिश्र, किशोर थापा, उज्जवल थापा, रन्जु दर्शना र सूर्यराज आचार्यका अनुहारहरूलाई देखाएर मात्र पुग्दैन, जनताले वर्षौंदेखि चिन्दै आएकाहरूको विश्वसनीयजमात र हिमाल, पहाड र तराईका साधारण भोटरलाई आकर्षित गर्न सक्ने र कार्यान्वयन गर्न सकिने चुनावी कार्यक्रम/योजना पनि हुनु अनिवार्य छ।

हालै सम्पन्न स्थानीय निकायको चुनावकै नतिजालाई हेरौं न— ७५३ मध्ये ५६०(७४%) प्रमुख पद त दुई ठूला दल एमाले (३९%) र काँग्रेस(३५%) ले मात्र जितेका छन् भने तेश्रो ठूलो दल माओवादीले १०६ (१४%) जितेको छ। यो तथ्याँकलाई मंसिरमा हुन लागेको संघीय र प्रदेश संसदको चुनावमा बदल्न त्यति सजिलो छैन।

र, मान्छेहरू रातारात विवेकशील साझा पार्टीलाई भोट हाल्न तत्पर भैहाल्छन् भनेर त पटक्कै विश्वास गर्न सकिन्न। तसर्थ देशको भाग्य बदलेर सम्बृद्धितर्फ लैजाने योजना बोकेको विवेकशील साझा पार्टीले हालैको स्थानीय चुनावमा काठमाडौंलाई छोडेर कहीं कतै सम्झन लायक नतिजा ल्याउन नसकेको धरातलीय यथार्थलाई नसम्झी अगाडिको बाटो तय गर्न सकिन्छ जस्तो लाग्दैन।

कायापलट नै गर्न नसके पनि निर्णय गर्ने स्थानमा पुगेको खण्डमा सिंगो पार्टी र त्यसको मुल नेतृत्व खराब वा कम प्रभावित भए पनि गर्ने आँट, जागर र जनउत्तरदायी चिन्तन भएकाहरूले केही गर्न सक्दा रहेछन् भन्ने कुराको उदाहरण गगन थापा, लालबाबु पण्डित, गोकर्ण विष्ट र जनार्दन शर्माहरूले देखाइसकेका छन्। निर्णय गर्ने ठाउँमा पुगेपछि काम गर्ने इच्छाशक्ति र निष्ठा भएकाले केही देखिने परिवर्तन गर्न सक्दा रहेछन् भन्ने कुराको सबभन्दा गहकिलो उदाहरण कुलमान घिसिङ हुन्।

त्यसैले समग्र परिस्थितिलाई आँकलन गरेर आफ्नै जीवनकालमा देश बदलिएको  देख्न चाहने हो भने निर्णय गर्ने स्थानमा पुग्ने राजनीतिक बाटो समात्नु पर्छ। विकासवाद र सामाजिक उदारवादको विचारलाई अंगिकार गरेको र सिद्धान्त र विचारको दृष्टिले ‘सेन्टर-लेफ्ट’ तपाईंहरूको पार्टीको देश बनाउने अब्बल र पूरा हुनैपर्ने सपना साकार हुन चुनाव जित्नु अनिवार्य सर्त हुँदै हो।

वर्तमान परिस्थितिको विश्लेषण गर्नु र चुनाव जित्ने परिस्थितिको निर्माण गर्नु राजनीतिक नेताको पहिलो प्राथमिकता हो। अब सामाजिक संजालमा वाह-वाही बटुल्ने मात्र होइन, आम मतदाताको मन जित्ने अभियानसहितको चुनावी रणनीति बनाउनतिर लाग्नु बुद्धिमानी हुन्छ।

देश बदल्ने अभियानमा लागेकाहरूले तत्कालीन उपलव्धी नगुमोस् भन्ने पनि सोच्नु पर्छ। हाम्रो जस्तो सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक र साँस्कृतिक संरचनाअन्तर्गत हुने चुनाव उत्कृष्ट विचार, सिद्धान्त र इमानले मात्र जित्न सकिन्न भन्ने जान्न कुनै अनुसन्धान गरिरहनु पर्दैन।देशभर ‘प्रि-पोल एलायन्स’को मौसममा चलिरहेछ, चुनाव जित्नु छ र जनताका पक्षमा थोरै भएपनि काम गर्नु छ भने मौसमअनुसार आफूलाई समायोजन गर्नेतर्फ अग्रसरता देखाउनु नै ‘अनिकालमा बीउ जोगाउनु’ भनेजस्तो हुन सक्छ।

यसो भनेर इमानलाई बन्धकी राखेर चुनावमा होमिनुपर्छ भनेको होइन, बरु जनउत्तरदायी शासनको पक्षपातीका हैसियतले केही तात्कालीक सम्झौता गर्नपनि पछि हट्नुहुन्न मात्र भनेको हो। दुई पाइला अगाडि जान चाहनेले परिस्थिति अनुकूल नहुँदा एक पाइला पछाडि हट्न पनि सक्नु पर्दछ।

फेसबुकमा ६ लाख ७० हजार र ट्वीटरमा पनि करीब त्यति नै ‘फलोवर’ भएर मात्र तपाईंको राजनीतिक सिद्धान्तले असली भोटरहरूलाई प्रभावित पार्दो रहेनछ भन्ने बुझ्न हालैको चुनावी नतिजा काफी छ। प्रणाली (सिस्टम), पारदर्शिता (ट्रान्सपरेन्सी), ईमान्दारिता/उच्च नैतिकता(इन्टीग्रिटी) र अब्बलता (मेरिटोक्रेसी) जस्ता साह्रै राम्रो सुनिने र यथार्थमा प्राय सबै राजनीतिक दलले भन्न चाहने खालकै तपाईंहरूका‘चार-खम्बे सिद्धान्त’ कसलाई मन नपर्ला र? तर तपाईंहरूले कहिल्यै जनतासम्म र खासगरी दूर-दराजका साधारण मतदातासम्म पुगेर यस्ता सुन्दा मज्जा लाग्ने र ‘साँच्चै यथार्थमा भैदिए हुन्थ्यो’ जस्ता लाग्ने राजनीतिक योजना बुझाउन भ्याउनु होला र उनीहरूले पनि बुझ्लान्?

अधिकांश मतदाता अहिले पनि खानेपानीको धारा, बच्चा-बच्ची पढ्ने राम्रो स्कुल, ज्वरो आउँदा/टाउको दुख्दा सिटामोलको चक्की, घर/गाउँसम्म मोटरबाटो जस्ता कुरामा ध्यान दिन्छन्। त्यतिकुरा कसरी गर्ने हो भन्ने बुझाउन सकियो भने मात्र मत जितिएला नत्र हामी जस्ता सामाजिक संजालमा तपाईंलाई पछ्याउनेहरूको मन त जितिएला, जनताको मन जित्न सकिन्न।

तपाईंलाई धेरै शुभकामना छ रवीन्द्रजी, तर यति भन्दै गर्दा मलाई निकै चिन्ता पनि लागिरहेछ कि एउटा होनहार उत्साह र सकारात्मक चिन्तनका साथ देशलाई उँभो लगाउन भनेर लागेको निष्कपट व्यक्तिको राजनीतिक भविष्य निकै धूमिल देखिरहेछु। म चाहन्छु मेरा यी सबैसोच मिथ्या सावित हुन् र तपाईं र तपाईंको अभियानले जितोस् र हामीजस्ता लाखौं नेपालीहरूको मनमा एउटा उत्साहको ज्योति बलोस् कि अब नेपालमा केही हुन्छ र त्यो पनि हाम्रै जीवनकालमा हुन्छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.