हिरोसिमा र नागासाकीमा खसालिएको एटमबमका निर्माता ‘भागवत गीता’वाट प्रभावित थिए


जोन हर्शिले आफ्नो पुस्तक ‘हिरोसिमाम’ नामक पुस्तकमा लेख्छन ‘बम प्रहार पछि हिरोसिमा र नागासाकिको दृश्य नरक जस्तो थियो।’ यो पुस्तक उनले बम आक्रमण बाट बाँच्न सफल भएका जापानीहरुको अनुभवको आधारमा तयार पारेका थिए। सन् १९४६ अगस्तमा प्रकासित उक्त पुस्तक हिरोसिमा र नागासाकिमा गरिएको एटम बम आक्रमणको जीवन्त पुस्तक मानिन्छ।

दोश्रो बिश्व युद्धको बेला अमेरिकाले जापानको हिरोसिमा र नागासाकिमा एटम बम प्रहार गरेर जापानलाई आफ्नो सामु घुडा मात्र टेकाएन, युद्धको अमिट छाप छोडेर गयो। हिरोसिमामा अणुबम खसेको बेला कस्तो अवस्था थियो र पछि कस्तो असर ह्यो भन्ने जिवन्त बर्णन गरेका छन् पुलित्जर पुरस्कार बिजेता जोन हर्शिले आफ्नो पुस्तकमा।

सन् १९४५ अगस्त ६ तारिखको बिहान करिब ७:१५ बजे  तिर जापानी सुरक्षा राडारले केही अमेरिकन बिमानहरु जापानको दक्षिण भागतिर अगाडी बढिरहेको पूर्ब साबधान गरायो। ८ बजेतिर हिरोसिमामा रहेको राडर अपरेटरले प्लेनको संख्या सानो भएको र उच्च खतरा टरेको सुचना दियो। तर नागरिकहरुलाई अझै सर्तक हुन आग्रह गरियो।

बिहान ८ बजेर १५ मिनेट जाँदा जापानको हिरोसिमा सहरमा मानीसहरु सधै जस्तो बिहानको कामकाजमा व्यस्त थिए। अचानक हिरोसिमाको आकाशमा अन्धकार छायो, हावा बेजोडले चल्न थाल्यो, केहि पड्केको आवाज आयो, बिष्फोटको आवाज केही माइल सम्म सुनियो। लगतै भवनहरु लड्न थाले। क्षण भरमा एक्कासी गर्मि बढ्यो र सहरभरी अन्धकार फैलीयो। कोहि रुन थाले, कोहि भाग्न थाले। कोहि बचाऊ, पानि देउ भन्दै कराउन थाले। के हुँदैछ भन्ने कुराको मेसो कसैलाइ थिएन।

त्यो बिहान अमेरिकाले जापानमा एटम बम खसालेको थियो। त्यसैको असरले हिरोसिमा बिहानै अन्धकार  भएको थियो। उक्त आक्रमणमा करिव डेढलाख मानिसको मृत्यु भयो। लाखौं नागरिकहरु घाइते भए। हिरोसिमामा सन १९४५ सम्म बनेका लगभग सबै संरचनाहरु ध्वस्त भए।

हिरोसिमा आक्रमण पश्चात तत्कालीन अमेरिकी राष्ट्रपति ह्यारी ट्रुमनले जापानलाई युद्ध रोक्न आदेश दिदै भनेका थिए ‘अब पनि जापानले हाम्रो आदेशलाइ नमाने कयौं शहरमा हिरोसिमा जस्तै बर्बादीको बर्षा हुने छ।’ नभन्दै अमेरिकाले जापानको अर्को शहर नागासाकीमा सन् १९४५ अगस्त ९ तारिखमा अर्को एटमबम खसाल्यो। फेरी ८० हजारको जापानी नागरिकको ज्यान गयो। दोश्रो एटमबम प्रहारले पनि लाखौं जापानिज परिवारलाइ घरबार बिहिन बनायो। घाइतेको सँख्या उत्तिकै थपिए र अन्तमा तत्कालीन जापानी सम्राट हिरोहितोले आत्मसर्मपणको घोषणा गरे।

भनिन्छ एटमबमबाट निस्केको विकिरणले अहिले पनि हिरोसिमा र नागासाकीमा मानिसहरुलाई असर पारिरहेको छ। बिषशेज्ञहरु भन्छन ‘एटमबमको बिकिरणले मानिसहरुको छाला, रगत र आँखा सम्बन्धि क्यान्सरको समस्या देखिएको छ’

दोस्रो विश्व युद्धताका जापानको अत्याचार एशिया प्रसान्त क्षेत्रमा निकै उग्र थियो। यसै बीच जापानले सन् १९४१ डिसेम्बरमा प्रशान्त महासागरको पर्ल हार्बर स्थित अमेरिकन् नौसैनिक अखडामा व्यापक आक्रमण गरि क्षती पुर्यायो। तत्कालीन अमेरिकी राष्ट्रपति फ्राङ्कलिन रुजभेल्टले जापान बिरुद्द युद्धको घोषणा गरे। जापान र जापानको सहयोगीहरुको शक्ति अझै बढिरहेको थियो। सन् १९४५ अप्रिलमा अमेरिककमा नयाँ राष्ट्रपति ह्यारी ट्रुमन आए। उनका सल्लाहकारले जापानलाई अब छिटै नरोके अमेरिकाले ठूलो क्षति ब्यहोर्ने छ, जसकालागी छिटै अएटमबमको प्रयोग गर्नु पर्ने सल्लाह दिए र राष्ट्रपति ह्यारी ट्रुमनले एटमबम प्रयोग गर्नकालागि आदेश दिए। अनी अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा एटमबम आक्रमण गर्यो र जापानलाई दोस्रो विश्व युद्धमा घुडा टेकायो। जापान ले आत्मासमर्पण गर्यो र युद्ध समाप्तिको घोषणा भयो।

उक्त एटमबम निर्माणको नेतृत्व अमेरिकन् भौतिकशास्त्री जे रोबेर्ट ओपनहाइमरले लिएका थिए। उनलाई एटमबमका पिता पनि भन्ने गरिन्छ। एटमबमको पहिलो सफल परिक्षण सन् १९४५ को जुलाई  महिनामा गरिएको थियो। उक्त परिक्षण पश्चात ओपनहाइमरले  भनेका थिए ‘यो क्षण म भागवतगीताको पंक्तिहरु याद गरिरहेको छु जसमा भनिएको छ ‘म नै मृत्यु हुँ, म नै यो संसारको संहारकर्ता हुँ।’ उनले भनेछन् ‘यो अणु उर्जा त मानवको हितकालागी खोज अनुसन्धान र परिक्षण गरिएको हो तर युद्धका नाइकेहरुले मानव संहारकालागी पो प्रयोग गर्दै छन्, यो एक निकै दुभाग्य पुर्ण स्थितीको सुरुवात हो। त्यसकालागी म नै जिम्मेवार छु।’

ओपनहाइमर भागवतगीताबाट निकै प्रभावित भएको कुरा उनका जीवनीकार पुलित्जर पुरस्कार बिजेता लेखक काइ बर्ड र मार्टिन जे शेर्विनले ‘अमेरिकन प्रमिथस’ नामक किताबमा लेखेका छन्। यो किताब अणुबमका पिता जे रर्बट ओपनहाइमरको जीवनी हो।

नेपालमा रहेका भुटानी शरणार्थी बारेमा एक अध्ययनका क्रममा काई बर्डसंग सन् २००८ मा नेपालमा एक हप्ता संगै काम गर्ने अवसर जुरेको थियो। त्यती बेला उनि मलाई जतिखेर पनि भागवत गीताको बारेमा सोधी रहन्थे र म पनि  ‘पढेको छु’ भनेर जवाफ दिन्थ्ये। खासमा मैले पढेको थिइन। तर केहि भनाइहरु सुनेको थिएँ। काइ बर्डले अणुबमका आबिष्कारक ओपनहाइमर संस्कृत भाषामा पारंगत भएको र भागवत गीता लगाएत संस्कृतका धेरै किताबहरु अन्ध्ययन गरेको सुन्दा अचम्म लागेको थियो। उनै काइ बर्ड ले आफुले ओपनहाइमरका बारेमा लेखेको जीवनी पढ्न सुझाएका थिए।

यसपाली काइ बर्डले लेखेको ओपनहाइमरको जीवनी पढने माैका मिल्यो। काइवर्डले लेखेका छन  ‘ओपनहाइमरले संस्कृतको अध्ययन अमेरिकाको क्यलिफोर्निया स्थित बर्कले बिश्वबिद्यालयका संस्कृतका विद्वान प्रोफेसर आर्थर डब्ल्यु राइडरसँग गरेका रहेछन। ओपनहाइमरका अनुसार ‘गीता नै जीवन दर्शनको सबैभन्दा सुन्दर गीत हो, अहिले सम्मका कुनै पनि भाषामा यस्तो जीवन उपयोगी गीत नै छैन्।’ साथै उनले आफ्ना साथीहरुलाई गुलाबी रंगको गाता भएको गीता उपहार दिने गरेको कुरा उनको जीवनीमा उल्लेख छ। एक पटक उनका साथीले उनलाइ ‘यहुदी भएर किन ‘तालमुड’ नपढी गीता पढेको?’ भनेर सोधेछन्, उनको जवाफ थियो ‘म धर्मको खोजीमा हैन आत्मानुशासन, बास्तबिक सुख र शान्तिको खोजीमा छु। यो सब मैले गीता अध्ययन गर्दा पाउँछु।’

गीताले संसारसंगको सम्बन्ध र जीवनको कार्यका बारेमा ज्ञान दिन्छ। अन्य पश्चिमेली दार्शनिक, बिद्वानहरु जस्तै ओपनहाइमर जस्ता बैज्ञानिकले पनि पूर्विय दर्शनलाई ज्ञानको र आनन्दको श्रोतको रुपमा लिएका छन्। जीवनका कठिन भन्दा कठिन समयमा पनि आफ्नो कर्तव्यमा रहन, अनुशाशित बन्न र मनको शान्ति प्राप्तीकालागी गीता अध्ययन गर्नु जरुरी भएको कुरा ओपनहाइमरले बताएका छन्। सन् १९६३ मा उनलाई क्रिश्चियन सेन्चुरी नामक पत्रिकाका सम्पादकले दार्शनिक दृष्टिकोणमा प्रभावपार्ने किताबको बारेमा सोध्दा उनले भागवत गीता, चाल्र्स बाँदेलाँको ‘द फ्लावर्सअफ इभिल’ र शेक्सपियरको ह्यामलेटको नाम लिएका थिए रे।

ओपनहाइमर जर्मनीबाट अमेरिका बसाईं सरेका यहुदीका छोरा थिए। सन् १९०४ अप्रिल २२ मा अमेरिको न्यु योर्कमा जन्मेका उनि बिसौं सताब्दीका निकै प्रतिष्ठित भौतिकशास्त्री रुपमा चिनीन्छन। ओपनहाइमर बर्कले विश्वबिद्यालयमा भौतिकशास्त्रका प्रोफेसर थिए र उनको नेतृत्वमा अमेरिकाको महत्वाकांछी म्यानहाटन प्रोजेक्ट संचालन थियो। जसको काम भनेको आणबिक हतियारको निर्माण गर्नु थियो। त्यसैले उनि एटमबम आबिष्कारक मध्यका एक मानिन्छन।

सुरुमा उनले एटम उर्जा केवल मनाविय हितकालागि भएको अनुमान गरेका थिए। जब अमेरिकन  प्रशासनले मानबसंहारमा प्रयोग गर्ने निर्णय लियो र लगतै जापानका दुइटा सहरहरुमा लाखौँ को ज्यान जाने गरि आक्रमण गर्यो त्यती बेला ओपनहाइमर गीताको पाठ गरिरहेका थिए। उनी मानविय हितका लागी सोच्ने गर्दथे न कि हिरोसिमा र नागासाकीमा जस्तो आक्रमण। दोश्रो बिश्व युद्धपश्चात म्यानहाटन प्रोजेक्टको संयोजकबाट उनले राजिनामा दिए र प्रिन्सटन, न्यूजर्सि स्थित इन्सटिट्युट फर एडभान्स्ड स्टडीको निर्देशकको रुपमा काम गरे।

राजीनामा पछि उनि माथि कडा निगरानी राख्दै कारबाही पनि गरियो। उनलाई बिगतमा कम्युनिस्टसंग नजिक भएको, चाइनासंग सम्पर्क भएको लगाएत अभियोग लगाइयो। र अन्तत कडा प्रतिबन्ध लगाएर देशबाहिर जान नपाउने फैसला भयो। सन् १९६५ मा उनको निधन भयो।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.