‘रेष्ट इन पिस’ डास्टी


दुइजना ग्राहक डास्टी मरेको विषयमा कुरा गरिरहेका थिए। म आफ्नै धूनमा काममा व्यस्त थिएँ। उनीहरुको कुरामा मैले त्यति धेरै ध्यान दिइन।

भोलिपल्ट त्यहाँका स्थानीय साप्ताहिक पत्रिकामा डास्टी मरेको समाचार छापिएको थियो। त्यहाँ सरर आँखा लगाएँ–समाचारको बीचतिर डास्टीको तस्वीर थियो– निख्खर कालो पनि होइन, कताकति खैरो, छिर्केमिर्के।

अनि समाचारमा लेखिएको थियो–अत्यन्त सज्जन प्रकृतिको डास्टीले यो धर्ति छोड्यो। ऊ क्यान्सरको बिरामी थियो। ऊ यो समुदायको रक्षक थियो। ऊ केटाकेटीको पनि फ्यान थियो। समाचारको पेटबोलीमा उसले गरेका राम्रा राम्रा कामहरुको फेहरिस्त दिइृएको थियो र उसले यो समाजलाई पुर्याएको योगदानको चर्चा गरिएको थियो। यो ज्यादै दुखदायी घटना हो। समाचारको पुछारमा एक हरफ यस्तो थियो –रेष्ट इन पिस डास्टी।

डास्टीलाई मैले पनि बेलाबेलामा देखेको थिएँ। यो समाचारले म दुखित भएँ। मन उराठलाग्दो भयो। मुख मलिन भयो। कसैको निधनमा दुखित हुनु मानवीय स्वभाव हो। समाचार पढिसकेपछि मेरो मनमा उठिरहेका केही जिज्ञासाहरु भने स्वतः शान्त भएका थिए।

भोलिपल्ट डास्टीको अन्तिम दाहसंस्कार थियो। मेरो छिमेकी पुलिस अफिसर माइकले उसलाई लिएर हिँडेको, तालिम दिएको धेरै पटक देखेको थिएँ। तर कुकुरका बारेमा त्यति धेरै वास्ता गरेको थिइन। बल्ल त्यसको महत्व बुझेँ। भोलिपल्ट बिहान माइक निन्याउरो अनुहार लिएर हिँडिरहेको थियो। मेरो अनायासै जम्काभेट भयो। मैले केही दुखित हुँदै सोधेँ–आइएम सरी माइक। आइ रिड दि न्यूजपेपर।  तैपनि मैले सोधेँ–डास्टी के भएर मर्यो?

क्यान्सर। उसको शरीरभरि फैलिएको थियो। ऊ केही समयदेखि पीडामा छट्पटाइरहेको थियो। त्यसैले अन्तमा उसलाई इन्जेक्सन दिएर मारियो।

कति वर्ष भाथ्यो?

१२।

कहाँबाट ल्याइएको रे?

जर्मनीबाट।

ऊ अंग्रेजी पनि बुझ्थ्यो तर त्यो भन्दा बढ्ता जर्मनी भाषा बुझ्थ्यो। शायद उसको जिन जर्मनी भएर हो कि? अनि उसले नै भन्यो–दिउसो उसको अन्तिम संस्कार हुँदै छ। आउने भए तिमी पनि आउ।

समाचार पढेदेखि नै कुकुरको मलामी जाने र दाहसंस्कार हेर्ने हुटहुटी जागिरहेको थियो। ढुंगा खोज्दा देउता मिलेजस्तै भयो।

हुन्छ, म जरुर आउँछु। मैले यति भनेपछि ‘सी यु सुन’ भन्दै ऊ त्यहाँबाट हिँड्यो। म आफ्नो बाटो लागेँ।

म दिउसो डास्टीको अन्तिम संस्कार हेर्न हतार हतार श्ममसान घाट पुगेँ। बाहिर प्रचण्ड गर्मी थियो। मध्यान्ह भए पनि आकाश रुन्चे अनुहार देखाएर अहिले नै बर्सुलाजस्तो गरेर बसिरहेको थियो। काला बादलहरु यताउता सलबलाइहेका थिए। मभित्र आवेग र संवेगका ज्वालाहरु उम्लिरहेका थिए। मनमा कौतूहलता जागिरहेको थियो। कुकुरको मलामी? कतिखेर आफैलाई हाँसो पनि उठिरहेको थियो। म आफैसँग हाँसिरहेको थिएँ।

मानिसहरु जम्मा हुँदै थिए। पार्किंग लट गाडीले टन्न भइसकेको थियो। प्रहरीहरु आआफ्नो पोशाकमा उपस्थित थिए भने अरु आगन्तुकहरु भने आफूखुसीको पहिरनमा थिए। मान्छेको मलामी त धेरै पटक गएको थिएँ तर कुकुरको मलामी …..अहँ।

शायद मेरो जीवनको यो पहिलो र अन्तिम मलामी यात्रा थियो। यताउति मुन्टो घुमाएर हेरेँ सबैको अनुहार मलिन थियो। लाग्थ्यो, उनीहरु कुनै प्रतापी राजाको मलामी गइरहेका छन् र अन्तिम संस्कार हेर्न उत्सुक छन्। खासखुस शिवाय कोही पनि मलामी ठूलो स्वरले बोलेका थिएनन्। मुर्दा शान्ति शायद यसैलाई भन्छन् क्यार!

कुकुरलाई जलाउनु अघि उसको घाँटीमा बेरिएको दाम्लो निकालियो। मलामीहरुले स्यालुट दिए। माइक अन्तिम दर्शनका लागि अगाडि बढ्यो। एकछिन चिर निद्रामा सुतेको त्यो मृत कुकुरलाई अँगालो हाल्यो। निकैबेर उसको ढाड र टाउकोमा सुम्सुम्यायो। उसको अनुहारमा चुप्पा खायो। माइकको आँखाबाट झरेका आँसु डास्टीको ढाडमा तप्ततप्त गर्दै खसेका थिए। उसको सुक्क सुक्कको आवाज मलामीदीर्घासम्म पनि आएको थियो। माइकको नजिकै बसिरहेको जल्लाद भने कतिखेर ऊ हिँड्ला र पोलुँला भनेर पर्खिरहेको थियो। अनि केहीबेरको सन्नाटापछि माइकले विस्तारै ढाडबाट हात हटायो र विस्तारै भन्यो ‘गुडवाइ डास्टी।

‘अनि ऊ अलि पर हट्यो। जल्लादले डास्टीलाई एउटा टिनको पाताजस्तो ट्रलीमा सार्यो। सबै मलामीका आँखा निर्मिमेष त्यतैतिर थिए। उसले त्यो पातालाई अलिक अगाडि धकेल्यो। अनि स्वचालित मेसिनले उसको शरीरलाई १४÷१५ सय डिग्री फरेनहाइटको आगोको लप्कातिर लग्यो, फलामे पर्दा झ्याप्प बन्द भयो। त्यसैबेला अघिदेखि आकाशमा मडारिरहेको कालो बादल गर्जियो र पानी बर्सियो।

ओइलाएको अनुहार र आँखा राता बनाएर माइक हामी भएतिर आयो। हल पिन ड्रप साइलेन्समा थियो। शोकसभाको प्रमुख वक्ता उही थियो। माइकलाई डास्टीको बारेमा जति थाहा थियो, अरुलाई थिएन। अनि माइकले माइकको अगाडि उभिएर भन्यो–यो कुकुर थिएन, मेरो जीवन थियो। यसले कस्ता कस्ता ठूल्ठूला अपराधी पत्ता लगाएको थियो भने ठूल्ठूला ४० भन्दा बढी संभावित अपराधहरुलाई ‘अपराध’ हुनबाट जोगाएको थियो। त्यति मात्र कहाँ हो र? सन् २०१५ मा ओवामा वोस्टन आउँदा आपराधिक गिरोह पत्ता लगाउन समेत यसले भूमिका खेलेको थियो।

डास्टी यो समाजको पहरेदार थियो। उसको देहान्त यो राष्ट्रकै लागि अपुरणीय र दुखदायी घटना हो। उसको अनुपस्थितिको अभाव यो समाजले हरदम गरिरहनेछ। माइक अझ भावुक भयो–डास्टी तँ मेरो जीवनमा आश्चर्यजनक रुपले आइस् र गइस्।

तँ हाम्रो विभागको सम्पत्ति थिइस्। तँलाई म कसरी बिर्सन सक्छु र? संसार मायामय रहेछ। कुकुरलाई जति माया गर्यो उसले त्यो भन्दा बढी दिँदोरहेछ। जीवनमा आएका हरेक चीजलाई आत्मिक आँखाले हेर्यौँ भने यो संसार नै मायामय छ। यो कुकुरसँगको मेरो माया पनि त्यस्तै हो। आखिर जोसँग बढी बसउठ र दिनचर्या बित्छ, त्यसैको बढ्ता माया लाग्ने त रहेछ! यो त अझ जीव हो। माया गर्यो भन ढुंगा पनि टुसाउँछ भन्छन्।

सबै मानिसहरुको जीवन त्यस्तै परिघटनाहरुको सम्मिश्रण रहेछ। उसको उच्च योगदानको कदर गर्र्दै हामीले प्रहरी परिसरमा यसको अर्धकदको मूर्ति स्थापना गर्ने भएका छौँ। तपाईहरुबाट सहयोग अपेक्षित छ। तपाईहरु सबैलाई धन्यवाद। बोल्दा बोल्दै उसको गला अवरुद्ध भयो। एक गिलास पानी पियो। तर अगाडि बोल्न सकेन। र पछि हट्यो।

आगोको लप्कामा परेको त्यो डास्टी एक घन्टामा खरानी भयो। जल्लादले चाँदीको दुइटा बट्टामा त्यो कुकुरको स्मरण चिरकालसम्म रहिरहोस् भन्ना खातिर जलेको कुकुरको खरानी हालेर माइकलाई दियो। माइकले दुवै बट्टा हातमा समायो। एकपटक त्यो बट्टा फेरि हेर्यो र चुप्पा खायो। ती दुइमध्ये एउटा उसको घरमा राख्नका लागि र अर्को प्रहरी संगठनको अफिसका लागि थियो। अनि त्यहाँबाट मानिसहरु विस्तारै बाहिर निस्किए। बाहिर पानीका थोपा थोपा अझै खसिरहेको थियो। म पनि पानीबाट तर्किँदै एउटा नमीठो तर अनौठो अनुभव बोकेर घर फर्किएँ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.