प्रवासमा नेपाली पाठशालाको प्रसंग

प्रवासमा नेपाली पाठशालाको प्रसंग


नेपालबाहिर बसेका सबै नेपाली अल्पसंख्यक जाति वा भाषी हौं। मूलधारको भाषा फरक भएपछि आफ्नो भाषा कसरी जोगाउने र आफ्ना नानीहरूलाई कसरी भाषा सिकाउने भन्ने चिन्ता र चासो हुनु स्वाभाविक हो। संसारका शक्तिशाली र विकसित देशहरूमा समेत अल्पसंख्यक नेपाली समुदायले खास आकार ग्रहण गर्दै जाँदा यी देशहरूमा नेपाली पाठशालाको स्थापना भई नानीहरूलाई भाषा-संस्कृति सिकाउने उल्लेखनीय प्रयासहरू भएका छन्। तर, चुनौतिहरू पनि उत्तिकै छन।

नानीहरूलाई पढाउनका लागि केही निश्चित मापदण्ड र खाँचो पुरा गर्नु आवश्यक हुन्छ। त्यसमा समय, स्थान, पाठ्यसामग्री, शिक्षक-विद्यार्थी र पैसा प्रमुख हुन्।

समय- नेपाली नानीहरूका निम्ति नेपाली पाठशाला अतिरिक्त कृयाकलाप जस्तै हो। सामान्यतया विदेशमा शनिबार र आइतबार स्कुल छुट्टी हुन्छ। जुनमा जाँच भएर जुलाई र अगस्टमा गर्मी छुट्टी हुन्छ। यही समयलाई सदुपयोग गर्दै हप्तामा एक दिन २ वा ३ घण्टा पाठशाला संचालन गरिएको पाइन्छ।

स्थान- स्थानीय स्कुल, कलेज, चर्च वा नगरपालिकासँग सहकार्य गरी उनीहरूको भौतिक पूर्वाधार प्रयोग गरिएका छन्। त्यसबाहेक नेपाली संस्थाका कार्यालय वा ‘नेपाल हाउस’ बनेका ठाउँमा त्यही केन्द्रमा पुस्तकालयसहित कक्षा संचालन गर्ने सोच पाइन्छ।

पाठ्यसामाग्री- परदेशका नानीहरूले नेपाली भाषा सिक्नु भनेको दोस्रो भाषा सिक्नु जस्तो हो। यस सन्दर्भमा विशेषतः पाठ्यक्रमको अभाव खट्केको छ। नेपालमा शिक्षा मन्त्रालयबाट तयार गरिएका किताब आकर्षक छैनन्। प्रवासको वातावरण फरक हुने हुँदा कतिपय सन्दर्भमा नेपालका पुस्तकमा देखाइएका उदाहरण, फोटो र ठेट शब्दहरूसँग नानीहरू पटक्कै परिचित नहुँदा गारो परेको अनुभव सुनाउँछन् अमेरिकाको ‘नेपाली पाठशाला अफ भर्जिनिया’ का संयोजक विष्णु खरेल। यही समस्याले गर्दा शिक्षा मन्त्रालयको १, २ र ३ कक्षाको पाठ्यपुस्तक पढाइने गरेकोमा हाल स्थानिय स्तरमै पठनसामग्रीको विकास गरिएको उनले बताए। डायस्पोराका नानीहरूलाई लक्षित गरी सरस, सरल र सलल लाग्ने पाठ्यपुस्तकको निर्माण गर्नु जरूरी भएको छ।

शिक्षक-विद्यार्थी- थुप्रै अभिभावकहरूमा आफ्ना नानीलाई भाषा सिकाउने रहर छ। तर, कतिपय अभिभावकहरू विश्वस्त देखिँदैनन् र गंभीर हुन सकेका छैनन्। मिठो छ र सरस्वतिको प्रसाद हो भन्यो भने कसले खाँदैन र ! सचेतनाको खाँचो छ।

एकाध ठाउँमाबाहेक सामान्यतः शिक्षकहरूले स्वयंसेवीको रूपमा काम गरेका छन्। नेपालमा शिक्षित दीक्षित उनीहरूले फुर्सदको समयको सदुपयोगको रूपमा लिएका छन्।

पैसा- पाठशाला संचालन र स्तरियता उकास्न पैसा मेरूदण्ड हो। डेनमार्कको कोपनहेगनमा संचालित नेपाली पाठशालालाई स्थानीय नगरपालिकाले भौतिक र आर्थिक रूपमा सहयोग गरिरहेको छ। शिक्षकलाई नियमित पारिश्रमिक र मसलन्द खर्च उपलब्ध छ। त्यसैले निर्विघ्न कक्षाहरू चलेका छन्। अरू ठाउँहरूमा भाषासंस्कृति संरक्षणमा लागीपरेका नेपाली संस्थाको व्यवस्थापन वा मनस्वी स्वयंसेवी महिलाहरूको पहलमा पाठशालाहरू संचालित छन्। विकसित देशहरूमा दान दिँदा त्यसमा करछुट हुने हुँदा र स्वयंसेवी शिक्षकहरूबाट कक्षा संचालन गर्दा आर्थिक भारको ठुलो पिरलो छैन, कतिपय पाठशालाहरूमा।

यीनै चुनौतिहरूबिच कतिपय नेपाली स्कुलहरू बन्द भएका छन् भने कतिपय स्कुलहरू लोकप्रीयताको खुट्किलो चढ्दैछन्। बेल्जियमको एन्टवर्पमा सोफिया महर्जन कार्कीले चलाएको नेपाली स्कुल सातौं वर्षमा चल्दा ७० विद्यार्थीहरू नियमित छन् भने स्पेनको बार्सिलोनामा ३ वर्ष पहिले ५ जना विद्यार्थीबाट शुरू गरिएको पाठशालामा हाल ३५ विद्यार्थी लाभान्वित छन्।

बहुभाषी हुनुका अनेकन् फाइदा छन्। त्यसमा पनि आफ्नो भाषा (अर्थात् कुल र मूलको भाषा) संरक्षण गर्नु त अपनत्व र पहिचानसँग जोडिएको कुरा हो। बेलायत, बेल्जियम, स्पेन, डेनमार्क, जर्मनी, अमेरिका, अस्ट्रेलिया, क्यानडा आदि देशहरूमा नानीहरूका लागि नेपाली पाठशाला संचालित छन्। यसलाई गैरआवासीय नेपाली सँघलगायत प्रवासका नेपाली संघसंस्थाहरूले एक प्रमुख ध्येयका रूपमा लिई संचालन र प्रोत्साहन गर्नु आवश्यक छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.