डोल्मा लामा बचाउका मुख्य हिरो : राजदूत लोक बहादुर थापा


सिन्धुपाल्चोककी डोल्मा लामा कुवेतको १० वर्ष जेल सजाय भोगेर नेपाल फर्केदा जति खुसी छन् त्यतिनै मात्रामा नेपाली दूतावास बेल्जियमका राजदूत लोक बहादुर थापा हर्षित छन्। आफूले सुरूवात गरेको कार्यले अहिले आएर पूर्णता पाएकोमा राजदूत थापा मख्ख छन्। थापा डोल्मा लामा बचाउँका मुख्य हिरो हुन्। जुन धेरैलाई थाहा नहुन सक्छ।

सन् २००७ को जुन २० देखि जेलमा रहेकी डोल्मालाई कुवेतको उच्च अदालतले २००८ को डिसेम्बर २३ मा सहकर्मी हत्या गरेको पुष्टीसहित मृत्युदण्डको सजाय सुनाएको थियो। तर त्यति बेला नेपाल सरकारको उपस्थिति कुवेत थिएन। त्यसको २ वर्ष पछि मात्रै नेपालले कुवेतमा दूतावास स्थापना गरेको थियो। एनआरएनको चहल पहल त हुने कुरै भएन।

अहिले बेनेलुक्सका लागि राजदूतको कार्यभार सम्हालिरहेका थापा त्यतिखेर साउदी अरबको मिसनमा कार्यरत थिए। कार्यवाहक राजदूतको रूपमा रहेका उनलाई यो घटनाले जति दुखित् तुल्यायो त्यति नै डोल्मालाई कसरी छुटाउने भन्ने पनि पर्‍यो। तर, उनी पछि हटेनन्। कुवेतमा रहेका नेपाली समुदायको सहयोगमा उनलाई जेल मुक्त गर्नको लागि खटिए।

राजदूत थापाले कुवेतमा गएर डोल्मालाई भेटेर उनको बारेमा जानकारी लिए र उनको पक्षमा वकालत गर्न वकिल राख्ने काम गरिदिए। उनले डोल्माको पक्षमा मात्रै काम गरेनन् फिलिपिनी परिवारसँग भेटेर ब्लड मनीको प्रस्ताव अगाडि सारे। जुन प्रस्तावनै अहिले डोल्माको नेपाल फिर्ताको लागि भाग्यको ढोका बन्न पुगेको छ।

डोल्माको लागि काम गर्दै गरेका थापाको कार्यकाल समाप्त भयो। पछि नेपाल फिर्ता भएपछि पनि उनले यो केसलाई आफैंले हेरिराखे। जसको कारण २ पटकसम्म नेपाल सरकारको प्रतिनिधित्व गर्दै उनको अन्तर्वार्ता लिए। त्यसपछि डोल्मा बचाऊ अभियान खाडी मुलुक हुदै विश्वभर फैलियो। ब्लड मनीको लागि संसारभरिबाट आर्थिक संकलन गरियो र कुवेत पठाइयो। यसमा एनआरएन र नेपाली संघसस्थाहरुको भूमिका प्रसंशनीय छ।

‘हामि सबै प्रवासमा रहने नेपालीहरु हातमा हात मिलाएर अगाडि बढे दुःखमा परेका नेपालीलाई सहयोग गर्न सक्छौ भन्ने यो नै पहिलो शशक्त उदारहण हो’,’ राजदूत थापाले सेतोपाटीसँग भने, ‘म यो खबरले निकै खुसी छु। अब आगामी दिनमा अन्य नेपालीहरुको विषयमा पनि यथोचित सहयोग सहकार्य गर्दै प्रवासमा बस्ने सम्पूर्ण नेपालीहरुको समग्र हित अभिवृद्धि गर्नुमा अझै प्रतिबद्ध र कटिबद्ध हुनुपर्दछ।’

एक फिलिपिनो सहकर्मीको हत्याको आरोपमा १० वर्ष लामो जेल सजाय बेहोर्दै घरफिर्ती केन्द्र (डिपोर्टसेन सेन्टर) बाट घर फर्किएकी ३८ वर्षिया डोल्मा नेपाल फर्केकी हुन्।१० वर्ष लामो जेल सजायको अवधी यो जुन २० (असार ६) मा पूरा भएपछि डोल्मालाई कुवेत सरकारको घर फिर्ती प्रकृया (डिर्पोटेसन) केन्द्रमा राखेको थियो ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.