फिनल्याण्ड कसरी सुखी देश?


झन्डै आधा बर्ष लामो लाग्ने शिशिर यामको सकिन लागेको संकेत दिएको थियो तेजिलो सुर्यको प्रकाशले। हिउँ सबै पग्लिसकेका छैनन्। न्यानो नभए पनि दिउसै बत्ति बाल्नुपर्ने स्थिति हटेको छ। आज सप्ताहान्त! साँझ पर्नु अघिनै हप्ताभरी आफ्नै मन निमोठेर थुनिएकाहरू निस्किएका छन्।

नशा लागेपछि नाचौं नाचौं, साथि भाई भेटघाट गरौँ, मनको बह कसैलाई पोखौं भन्ने लाग्दो हो। तीन जना बर्खर वैश चडेका केटिहरू पुरै जुत्ता गाडिने हिउँ छिचोल्दै यो छेउको बिल्डिंगमा छिरिसकेका छन्। अरु बेला मलामी बसेको जस्तो शुन्यता भएपनि आज सांगीतिक माहोल छ!

केहि दिन अगाडी संयुक्त राष्ट्रसंघ सम्बन्धित संस्थाले संसारका सबै भन्दा सुखी देशहरू नतिजा प्रकाशित गर्यो। म जुन देशमा बसेर यो लेख लेख्दै छु त्यो देश संसारको सबै भन्दा सुखी देश हो र म जुन देशको नागरिक हुँ, त्यो संसारको १०१ औं दुखि देश। सुख र दु:खको बिशाल अन्तर मैले एकसाथ देखिरहेको छु।

तथ्यांक बोल्छ फिनल्याण्ड संसारकै सबै भन्दा सुखी देश हो र नेपाल अति दुखि! तर मन मान्दैन। के हो सुख; के हो दु:ख? यो पल, ठिक यहि पलमा – सप्ताहान्तमा मधुर राग बजाउँदै एक्लै यो कोठामा एक कप कफी पिउँदै कम्प्युटरमा लेख्दै बस्नु सुख हो भने फ्लोरिडाको उचालिँदो गीतमा साइडरको घुट्को लगाउनु दु:ख हुनुपर्ने तर छैन त! ति आफ्नै सुरमा सुखानुभूत गरिरहेका होलान, म आफ्नै सुरमा। सुख र दु:ख भावनासंग सम्बन्धित कुरा हो। बन जंगल, पाखा पखेरुले सुख वा दु:खको अनुभव त गर्दैन, गर्ने मान्छेले हो।

पुरै देश नै सुखी र दुखि भनेर स्तर निर्धारण गरेपछि सो देशका मानिसको सुख र दु:खको स्तर पनि फरक फरक हुनुपर्ने होइन र? फिन्निश नागरिकको मस्तिष्कमा डोपामाईन हर्मोनको मूल फुट्ने तर नेपालीको मस्तिष्कमा खडेरी परेको त पक्कै होइन होला।

यदि अनपेक्षित सकारात्मक घटना नै सुखको कारण हो भने भोक लागेर छट्पट्टिएको बेला अचानक फुक्को चिउरा फेला पर्दा चै दुखि भएर खाईने, पिज्जा फेला परे एकदमै सुखको अनुभव गर्दै खाईने त पक्कै होइन। दाँत दुखेर सहनै नसक्ने भएको बेला क्याम्ब्रिज विश्वबिधालयमा पढेको डाक्टर फेला पर्दा अति सुखको अनुभव हुने तर त्रिभुवन विश्वबिधालयमा पढेको डाक्टर भेट्दा दु:खको अनुभव त पक्कै हुन्न।

के हो त सुख?

कि मेरो बुझाई पो गलत हो?

आत्महत्या सम्भवत: सहनै नसकिने दु:खको प्रकटीकरण हो जस्तो लाग्थ्यो। फिनल्याण्डमा एक लाखमा झन्डै सात जनाले आत्महत्या गर्छन भने नेपालमा एक लाखमा ६ जना। बनिसकेको सम्बन्धमा दरार आएर पारपाचुकेलाई दु:ख नै हो जस्तो लाग्थ्यो। फिनल्याण्डमा ४० प्रतिशत बिवाह पारपाचुकेमा गएर टुंगिने रहेछ भने नेपालमा तथ्यांक नगन्य छ। फेरी बृद्ध स्याहार केन्द्रमा ‘एक्लोपन’ ठुलो समस्याको रुपमा देखा परेको समाचार पनि आएको हो।

नेपालका अधिकांस बृद्ध बृद्धाहरू नातिनातिना खेलाउँदैमा ब्यस्त हुन्छन। यो संसार त्यसै त्यसै रमाइलो लाग्दो हुने भए भावनाका दुई शब्द अभिव्यक्त गर्न पनि किन नशामा लट्ठ हुनुपर्थ्यो? मदिरा सेवन फिनल्याण्डको सबै भन्दा ठुलो समस्या हो भनेर स्वीकारिएको पनि छ फेरी। नेपालमा त पुतली सडकबाट गौशाला पुग्दा राजनीति, अर्थतन्त्र, समाजशास्त्र सबैको गफ भ्याईञ्छ बसको सिटमा बस्ने मान्छेसंग। तैपनि कसरी यहि देश सबै भन्दा सुखी बन्न पुग्यो अनि नेपाल अति दुखि?

सुख र दु:खको परिभाषा के हो?

शक्तिशाली त्यहि हुन्छ जसले परिभाषा दिन सक्छ भन्नुहुन्थ्यो गुरु निर्मलमणि अधिकारी। संयुक्त राष्ट्रसंघ सम्बन्धि उक्त संस्थाले सुख र दु:खको परिभाषा कसरी दिएको रहेछ, खोज्न बाध्य भएँ। प्रतिव्यक्ति आय, सामाजिक सुरक्षा, भ्रष्टाचार प्रतिको धारणा, सम्भावित औसत आयु, निर्णयमा स्वतन्त्रता र अघिल्ला दिनका सकारात्मक र नकारात्मक घटनालाई समष्टिको आधारमा सुख र दु:खको परिभाषा दिईएको रहेछ। मेरो बुझाई गलत नै रहेछ। दश लाख पर्ने टेम्पुर ब्राण्डको खाटमा निन्द्रा नलागेर रातभर छटपट्टिए पनि गुन्द्री ओछ्याएर भुसुक्क निदाउने मान्छे भन्दा सुखी नै हुने देखियो सुखको यस परिभाषा अनुसार।

संयुक्त राष्ट्रसंघले दिएको “सुख” को परिभाषा नेपालमा हुँदा “सुबिधा” को रुपमा बुझिन्थ्यो। सुख र सुबिधा फरक फरक कुरा हुन। सुबिधा हुँदैमा सुख हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन। नत्र मारलिन मोनरो, कर्ट कोबेन, रबि विलिअम्स र नेपालका आलोक नेमबांग किन आत्महत्या गर्थे? त्यस्तै असुविधा हुँदैमा दुखि हुने भएको भए बाह्र घण्टा लोड्सेडिङ्ग हुँदा हामी बिरक्तिएर झोक्राएर बसेका हुन्थ्यौ। असुविधा दु:खको कारक हुने भए विपश्यनामा किन पैसावालहरूको लाईन लाग्थ्यो?

तर पनि रिपोर्ट त जारी भयो।

युरोपेली र अमेरिकी देशहरूको सांस्कृतिक आँखाले संयुक्त राष्ट्रसंघको चस्मा लगाएर हेरेपछि नेपाल निश्चय नै दुखि राष्ट्र नै देखिन्छ।

झन्डै चौब्बीस सय बर्ष अगाडी ग्रीसेली दार्शनिक अरस्तुले दिएको ‘एउडाईमोनिया’ लाई सुरुमा ‘सुबिधा’ र त्यसपछि सुखको रुपमा बुझियो। युरोपेली सभ्यताका शिखर पुरुष प्लेटोको शिष्य अरस्तुले दिएको सुखको उक्त परिभाषाले युरोपमा कति कहिरो गरी जरो गाडेको रहेछ यहिबाट बुझिन्छ।

त्यति मात्र होइन युरोप भन्दा पर रहेको तर सोहि जुडो-क्रिस्चियन सभ्यता अन्तर्गतको इस्लाममा समेत यहि सुबिधालाई नै सुखको रुप दिईएको रहेछ। लन्डनमा इस्लामिक साईन्सको अध्यापकले कुरानका श्लोक उधृत गर्दै सुखी रहन दिएको दश वटा सुझावमा अल्लाहको सुख खोज, अल्लाहबाट सुखको आशा गर, अल्लाहप्रति कृतज्ञ होउ भनेर प्रमुख तीन वटामा इश्वरसंग सम्बन्ध देखाईएको छ भने बाँकी सात वटा भौतिक सुबिधा अन्तर्गत छ।

बाइबलको नयाँ करार तथा व्यवहारिक धर्मशास्त्रका प्राध्यापक डेभिड मुर्रेले बाईबललाई उधृत गर्दै सुखको परिभाषामा निम्न बिषय समेटेका छन् – प्रभु नै वास्तविक पिता, यशु, पापको क्षमा र स्वर्ग समेट्दै अन्तमा परिभाषित गर्छन – सुख भनेको यशुको प्रेम पाउनु र यशुलाई प्रेम गर्नुको अनुभूति हो।

त्यस्तै यहुदी सम्प्रदाय जसबाट इसाई सम्प्रदायको जन्म भएको थियो उक्त सम्प्रदायमा पनि सुख बिल्कुल आवश्यक छ किन भने सुख प्राप्त भयो भने प्रभुको सेवा गर्न सकिन्छ भनेर फेरी इश्वरसंगै जोडिएको छ।

तर पूर्वीय दर्शन जसमा मुख्यत: हिन्दु र बौद्ध सम्प्रदाय पर्छन, यिनमा सुखलाई फरक रुपमा बुझिएको छ। हिन्दु दर्शनमा धर्मको पद्धतिबाट अर्थ (भौतिक सुबिधा), काम (यौन लगायत सन्तानोत्पादन) र मोक्ष (वास्तविक सुख) भनिएको छ भने बौद्ध दर्शनमा आर्याष्टाङगमार्गबाट निर्वाणमा पुग्नु वास्तविक सुख हो भनिएको छ।

मोक्ष र निर्वाणलाई शाब्दिक रुपमा व्याख्या गर्न सकिदैन। गुरुले मोक्षलाई आलंकारिक रुपमा बुझाउँदा – यौन सम्पर्कको क्रममा पाईने चरम सन्तुष्टि फिल्मको ट्रेलर हो भने मोक्ष पुरै फिल्म हो भन्नु भएको थियो। मोक्ष अथवा निर्वाण प्राप्त गर्न आफु भित्र खोज्ने काम हो। शरीरमा रहेको आत्मा चिनेर ब्रम्हाण्डसंग एकाकार हुनु मोक्ष हो, जुन मानविय जीवनको उद्देश्य र वास्तविक सुख पनि हो।

हिन्दु र बौद्ध धर्म गुरुहरूले निर्वाण र मोक्षको चर्चा गर्दा नछुटाउने कुरा चै के हो भने ‘यो यथार्थलाई जस्ताको तस्तै ग्रहण गर्न सक्ने, न कुनै लोभ लालच, इच्छा चाहनाबाट मुक्त भएको अवस्था। न भुत न भबिष्य। केवल एक समय; वर्तमान। वर्तमानमा पनि जे गरिन्छ, त्यसैमा लीन भईने अवस्था। आफुले आफैलाई बिर्सेर ब्रम्हाण्डमा एकाकार हुने अवस्था। पूर्ण स्वतन्त्रता!

गजबको कुरा के भने अमेरिकी मनोवैज्ञानिक अब्राहम मार्स्लोले निर्माण गरेको आवश्यकताका पिरामिडको सबै भन्दा माथिल्लो तहमा ‘सेल्फ अच्युअलाइजेसन’ अर्थात आत्मसिद्धि राखेका छन् जसको अर्थ पनि आफुले आफैलाई चिन्नु नै हो। यसको बिशेषता ठ्याक्कै मोक्ष अथवा निर्वाणसंग मिल्दो छ – यथार्थलाई जस्ताको तस्तै ग्रहण गर्न सक्ने !

आधारभुत आवश्यकता पूर्ति हुँदैमा कोहि सुखी हुँदैन केहि न केहि खोजिरहेको हुन्छ। एकपछि अर्को आवश्यकता पुरा गर्दै सबै भन्दा माथिल्लो तह ‘सेल्फ एक्चुअलाईजेसन अर्थात आत्मसिद्धिको अवस्थामा पुगेपछि मार्स्लोको आवश्यकताको सिद्दान्त पनि सकिन्छ। अचम्मैको कुरा होइन त – सुबिधालाई सुखको रुप दिएको सभ्यतामा हुर्केका वैज्ञानिकले खोज अनुसन्धानपछि जे पत्ता लगाए त्यो चै पूर्वीय दर्शनले प्राचिनकाल मै भनिसकेको कुरासंग मिल्न आउनु?

त्यस्तै हंगेरीका मनोवैज्ञानिक तथा शिकागो विश्वबिधालयका डेपार्टमेन्ट प्रमुख मिहाई चिक्सेनत्मिहालईले सन् १९७५ मा सुख सम्बन्धि अध्ययनको क्रममा अघि सारेको वास्तविक सुखको अवस्थालाई ‘फ्लो कन्सेप्ट’ को रुपमा अघि सारेका छन्।

“फ्लो” को नेपाली अर्थ “बहनु” भएपनि यसको बिशेषता “टक्क अडिनु” हो। समयको बोध नै नहुनु हो। आफुले गरिरहेको कार्यमा यसरी एकाग्र भईन्छ कि आफ्नै अस्तित्व बिर्सेर ‘कार्य’ मै लीन भईन्छ। यथार्थलाई कुनै पनि आग्रह-पूर्वाग्रह बिना केवल यथार्थको रुपमा लिईन्छ। यो ठ्याक्कै मोक्ष अथवा निर्वाण प्राप्त गरेका व्यक्तिहरूले गर्ने अनुभवसंग मिल्छ। अझ त्यहाँसम्म पनि पुग्नुपर्दैन – दश दिन विपश्यना ध्यान गरेर आएकाहरूको अनुभव वा घरमै नित्य ध्यान गर्नेहरूको पनि यस्तै किसिमको हुन्छ।

जुडो क्रिस्चियन सभ्यतामा जरो गाडेका यहुदी, इसाई र इस्लाम सम्प्रदायमा मानिसको भौतिक सुबिधा र इश्वरीय सम्बन्धको आधारमा वास्तविक सुखको परिभाषा दिईएको छ भने पूर्वीय दर्शनमा मानिसको भौतिक सुबिधापछि मानिस भित्रैको मानसिक हुँदै मानिस भित्रैको आध्यात्मिक सम्बन्धलाई आधार मानेर वास्तविक सुखको परिभाषा दिईएको छ।

फेरी त्यहि जुडो क्रिस्चियन सभ्यतामै हुर्किएका मनोवैज्ञानिकहरू दिएको वास्तविक सुखको परिभाषा पूर्वीय दर्शनको मोक्ष अथवा निर्वाणसंग मिल्दो जुल्दो देखिदो रहेछ चाहे त्यो अब्राहम मार्स्लो हुन वा मिहाई चिक्सेनत्मिहालई। तथ्यांकमा इश्वरको उपस्थिति देखिदैन।  त्यसैले संयुक्त राष्ट्रसंघले जारी गरेको ’वर्ड ह्याप्पिनेस इन्डेक्स’ मापनमा इश्वरीय अस्तित्वसंग सरोकार राख्ने तथ्यांक राख्ने कुरै भएन। फलस्वरूप सुखको परिभाषाबाट “ईश्वर” हट्यो बाँकी रह्यो “सुबिधा” मात्र। यहि उपलब्ध भौतिक सुबिधालाई सुखको रुपमा बुझियो।

भौतिक सुबिधा नै सुखको रुपमा बुझ्ने पश्चिमी दृष्टिकोणबाट हेर्ने हो भने नेपाल पक्कै पनि एकदमै दुखि राष्ट्र हो। नत्र भौतिक सुबिधामा टेकेर आफ्नै अन्तरआत्मा नियाल्नु वास्तविक सुख हो भने नेपाल परापुर्वकाल देखिनै एकदम सुखी राष्ट्र हो जुन सुख पश्चिममा बल्ल बुझिदैछ। संसारकै सुखी राष्ट्र बनेको फिनल्याण्डमा भर्खर खुल्दै गरेका माइण्डफुलनेस नामको पत्रिका, मोबाईल एप्लिकेसन, ट्रेनिङ्ग सेन्टर, माइण्डफुल ब्रिदिंग यसका साक्षी हुन।

सुख र दु:खको परिभाषा खोज्ने जाँगर त्यसै चलेको होइन।  कतै सुनेको थिएँ – इच्छा भन्ने कुरा पृथ्वी नै आफ्नो बनाईसकेपछि पनि रोकिन्न, त्यसपछि चन्द्रमा आफ्नो बनाउन लागिन्छ।

छेउका बिल्डिंगमा छिरेका युवायुवतीहरुको हाँसोले बजार लिईसकेको छ। म बाहिर निस्किएको देखे मात्र भने मेरो हालखबर सोध्नेछन, कुन देशको हो? फिनल्याण्ड किन आईस? फिनल्याण्ड कस्तो लाग्छ? यावत। एकदम घनिष्ट बन्नेछन, एकैछिनमा। मलाई थाहा छ त्यो घनिष्टताको कारक म होईन; बोत्तलको नशा हो।

नशा नचढेको अवस्थामा दुई शब्द बोल्न, हाँस्न, मुस्कुराउन दशैं आउनुपर्छ यहाँ। यो त सामान्य बुझाई हो सुखी त्यो हुन्छ जो हाँस्छ, बोल्छ, रमाउँछ तर फिन्निशहरू तथ्यांकमा हाँसेको, बोलेको रमाएको देखिन्छ बाहिर देख्न साह्रै गाह्रो। फिनल्याण्ड कहिले नआएको नेपाली नागरिकले ‘फिनल्याण्ड संसारकै सबै भन्दा सुखी देश’ भनेर पत्रिकामा पढ्दा दिमागले के कस्तो चित्रण गर्दो रहेछ बुझ्न मन छ।

तश्वीर: गुगल

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.