सिड्नीमा नेपाली डाक्टरहरूको सुझाव-आउनुस् मानसिक समस्याको कुरा गरौं


अस्ट्रेलियामा रहेका नेपाली चिकित्सकहरूको संस्था ‘अस्ट्रेलियन नेप्लिज मेडिकल डाक्टर एशोसिएशन ( एन्मदा)ले ‘आउनुस् मानसिक समस्याका कुरा गरौं’ भन्ने नाराका साथ एक दिने गोष्ठीको आयोजना गरेको छ।

अस्ट्रेलियामा उच्च अध्ययनका लागि आउने विद्यार्थीहरूमध्ये कतिपयमा देखिएका आत्महत्या र गलत बाटोको कारण मानसिक तनाव पनि प्रमुख भएको भन्दै एन्मदाले शैक्षिक परामर्शदाता , समुदायका अगुवा, महिलाकर्मी र एनआरएनका पदाधिकारीबीच छलफल चलाएको हो।

एकदिने छलफलमा सिड्नीमा रहेका नेपाली मुलुका चिकित्सक डा घनश्याम चापागाइँ ,  डा प्रविण पाठक , डा विकास श्रेष्ठ , डा भुवन कँडेल लगायतले मानसिक समस्या यसको रोकथाम र यस विषयसँग सम्वन्धित पक्षमा प्रकाश पारेका थिए।

‘विद्यार्थीहरूको पहिलो उठबस हुने थलो शैक्षिक परामर्श केन्द्र भएकोले उहाँहरूले विद्यार्थीमा देखिएका यस्ता समस्यालाई बुझेर सही सल्लाह दिने हुँदा हामीले पहिलो चरणमा शैक्षिक परामर्शदाताहरूलाई महत्व दिएका हौं’, संयोजक डा घनश्याम चापागाइँले भने।

वास्तवमै विदेश जाने र पढ्ने अनि कमाउने सोचमा लहडै विदेश हिँडेका विद्यार्थीहरूमा देखिएका समस्याका बारेमा सहभागीहरूले  विविध प्रश्न राखेका थिए।

कार्यक्रममा एनआरएन एशोसिएशनका संयोजक धर्म अधिकारीले यस्ता विषयमा विद्यार्थीहरूलाई विदेश पढ्न ल्याउने शैक्षिक परामर्शदाताहरूको सही सल्लाह र सुझाव महत्वपूर्ण हुने बताए।

सञ्चारकर्मीदेखि अधिकारकर्मीसम्मको उपस्थिति रहेको कार्यक्रममा सहभागी नेपाली चिकित्सकले विद्यार्थीहरूमा देखिएको यस्ता समस्यामा सहयोग गर्न आफूहरू तयार रहेको बताए। पहिलो चरणको कार्यक्रममा सामाजिक संघ संस्था र शैक्षिक परामर्शदाताहरू रहेको र दोस्रो चरणमा भने सिधै विद्यार्थीहरूसँग अन्तरक्रियाको कार्यक्रम राखिने आयोजक संघका डा प्रविण पाठकले बताए।

कार्यक्रममा मानसिक समस्याका साथसाथै आत्महत्या रोक्न गर्न सकिने प्राथमिक उपचारका विषयमा समेत चिकित्सहरूले सल्लाह र सुझाव दिएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.