अमेरिकाको कृषि र मेरो अनुभव


सानफ्रान्सिस्कोमा रेलमा यात्रा गर्दै गर्दा एक अमेरिकीसँग कुराकानी भयो। म नेपालबाट भर्खरै आएको नेपाली हुँ भनेर परिचय दिएपछि उनले सोधे, “अमेरिकामा कहॉ बस्नुहुन्छ ?” मैले भने हाल म क्यालिफोर्नियाको फ्रेज्नो सहरको नजिकै बस्छु। उन्ले भने फ्रेज्नो वरिपरि तपाईँले नेपालजस्तै खेती किसानी पशुपालन,तरकारी,फलफुल खेती र राम्रो प्राकृतिक वातावरण देख्नुहुन्छ। तपाईँलाई त्यो ठॉऊ मन पर्नसक्छ।न्यु योर्क तिरका कृषि विषयका ती अमेरिकी प्राध्यापक नेपाल गएका रहेछन् कुनैबेला र नेपाल एक सुन्दर कृषिप्रधान देश हो भनेर चिन्दा रहेछन्।

एक दिन अर्कों एक अमेरिकी साथीले तिमीहरूकै हिमालय र तिब्बततिर पाइने प्रजातिका याकहरूका ठुला ठुला फार्महरू छन् न्युमेक्सिकोमा हेर्न जाने भनेर सोध्यो। टेक्सासमा कतै कतै सप्ताहांतमा लाग्ने खुला हाटबजारबाट पाकेका कॉक्रा किनेर ल्याएर खल्पि बनाऊदा होस वा कुनै अमेरिकी डाक्टर गाईबस्तु लिएर फुर्सदमा खेतमा काम गर्न गएको देख्दा किन नहोस्, अमेरिकाको कृषिलाई नजिकैबाट साक्षात्कार,अनुभव र अध्ययन गर्न मन लागिरहन्छ।आफू स्कुल पढ्दै नेपाल कृषिप्रधान देश हो भनेर दिमाग़ भरिएको हो। रगतमै खेती किसानी भएको किसानको छोरो भएकाले जता गएपनि कृषि,पशुपालन,फलफुल र यससँग सम्बन्धित कुराहरूले ध्यानाकर्षण गरिहाल्छ।

टेक्सासमा अमेरिकाका पूर्व राष्ट्रपति लिन्डन बि जोन्सनको पुर्ख्यौली घर छ जहाँ उनी जन्मे, हुर्के बढे र मरे । उन्को पार्थिब शरीरलाई त्यही माटोमा समाहित गरियो। भनिन्छ उनी धेरैजसो प्रशासनिक र शासन गर्ने काम त्यही गाउँको फार्महाउसमा बसेर गर्दथे रे ।आजभोली धेरै मान्छेहरू हेर्न र घुम्न जान्छन् त्यहाँ । जसलाई टेक्सस ह्वाईट हाउस पनि भनिन्छ। राष्ट्रपति बुशहरु टेक्सासमै बस्छन्। उनीहरूका पनि ranch हरू छन्। टेक्सस अमेरिकी कृषिमा अग्रणी राज्य पनि हो। कृषिप्रेमी जर्ज वाशिंगटनको विरासत भर्जिनियाको माऊन्ट भर्नेनको फ़ार्महाउस अमेरिकाको पर्यटन केन्द्र मानिन्छ।

अमेरिकाले कृषिजन्य वस्तुहरूको आयात भन्दा निर्यात बढी गरेर कृषि व्यापारमा सकारात्मक सन्तुलन क़ायम गरेको छ। विकसित भएर पनि मकै,गहुँ, कपास, मासु र दुग्धपदार्थ र फलफुल, मह, मसला उत्पादन र निर्यातमा अग्रणी र धेरै कुरामा आत्मनिर्भर पनि छ। कृषि मन्त्रालय (department of agriculture),मंन्त्रीको चयन र यसले समेटेन फराकिलो दायराले कृषिलाई धेरै महत्त्व दिएको कुरा अनुभव गर्न सकिन्छ।अमेरिकामा धेरै चाहिने ग्यासोलिनमा सम्बन्धित उद्योगहरूले निश्चित प्रतिशत ईथानोल(मकै,उखु र अन्य वनस्पतिबाट निस्कने इन्धन) मिसाउनु पर्ने नीतिले किसानलाई प्रोत्साहन,संरक्षण र संबर्द्धन गरेको बुझ्नसकिन्छ। दूध,अण्डा जस्ता धेरै दैनिक उपभोग्य वस्तुहरुसंग सम्बन्धित उद्योग व्यवसायलाई सरकारले सहुलियत (subsidy)दिने हुँदा व्यवसाय बन्द नहुने, मूल्य नबढ्ने र आपूर्तिमा निरन्तरता हुन्छ।

कृषिजन्य वस्तुहरू जस्तै मासु,अण्डा र दुग्धपदार्थको उत्पादन,प्रशोधन र वितरणमा अध्ययन अनुसन्धान, वैज्ञानिक प्रविधिको प्रयोग, प्रयोग हुने मलखाद, किटना़शक रासायनिक औषधि,पशुपंक्षीको स्वास्थ्य ,चरन र खानाको गुणस्तर,जनस्वास्थ,वातावरणमा पर्नसक्ने दीर्घकालीन प्रभाव र एन्टिबायोटिक्सको प्रयोग, प्राकृतिक स्रोत साधनको प्रयोगमा मितव्ययिता, स्थिर बजारमूल्य, माग र आपूर्तिको सन्तुलन जस्ता कुराहरूको व्यवहारिकतालाई स्पष्ट नितिनियम, निर्देशिका अनुसार अक्षरंश पालन र कार्यान्वयन गरिन्छ । यस्ता कुराहरू सम्बन्धित निकायले अध्यावधिक गरिरहेको हुन्छ। गहिरिएर हेर्ने र अध्ययन गर्ने हो भने अमेरिकाको कृषि सॉच्चिकै वैज्ञानिक,आधुनिक र स्मार्ट छ ।

क्यालिफोर्नियाको फलफुल,मसला, ड्राई फ्र्युट र सागसब्जी खेती, न्युमेक्सिको देखि टेक्साससम्मका गाईवस्तुपालन, कपास र धान खेती, ईलिनोईको भटमास र फर्सी उत्पादन र प्रशोधन, फ्लोरिडाको टमाटर उत्पादन विश्वमै उदाहरणिय मानिन्छन्। अमेरिकाको जिडिपी मा कृषि र यससँग सम्बन्धित क्षेत्रको करिब ६ प्रतिशत र कूल रोजगारमा करिब १२ प्रतिशतको योगदान भएको तथ्याङ्क पाउन सकिन्छ। यसमा अनौपचारिक रूपमा संलग्न दक्षिण अमेरिकी देशहरूका कागजपत्रविहिन आप्रबासी कामदारको प्रतिशत समावेश नगर्दा पनि।
कृषिमा राम्रो गर्ने अरू धेरै देशहरू छन् । चिन र भारतले विश्वमा धेरै धानचामल र गहुँ उत्पादन र निर्यात गर्छन् भने ईन्डोनेशिया, इज़रायल क्यूबा, ब्राज़ीलबाट पनि केही सिक्न सकिन्छ। गरे त हुने हो नि।

कृषि प्रधान मुलुक नेपालको तथ्याङ्क अनुसार गत आ. व. २०७३/७४ को ११ महिनामा रु. २२ अर्बको चामल, रु. १० अर्बको साग- सब्जी र रु. ४.६ अर्बको फलफुल भारतबाट आयात भएछ। करिब ७५% उपभोग्य वस्तुहरू खुला सीमानावाट आयात हुन्छ। अरू देशहरूबाट पनि भयो होला। चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा वीरगन्ज नाकाबाट मात्र झन्डै १ अर्बको चामल आयात भएछ। गत आ.व.को यसै अवधिमा ८८ करोड ८३ लाख रुपैयाँ बराबरको १ करोड ६६ लाख किलो चामल यो नाकाबाट आयात भएको थियो । तुलनात्मक रूपमा झन्डै २३ लाख किलोभन्दा बढी चामल एक नाकाबाट मात्र चालु आ.व.मा आयात हुनु सोचनीय कुरा हो। नयॉ तथ्याङ्क अझै भयावह होलान् ।

कृषि उत्पादनमा कमी आएका तथ्याङ्क सहितका समाचारहरू आउछन। चामल उद्योगहरू भारतसँग प्रतिस्पर्धा गर्न नसकेर बन्द भएका,खाद्यान्न अभाव,प्लास्टिकका चामल,फलफुल तरकारीको आयात र चिया,जुट,मकै,उखु, सुर्ती, जडीबुटी जस्ता सम्भावना भएका व्यवसाय र उद्योगहरू फसटाउन नसकेका यस्तै यस्तै समाचारहरू!

कतिपय नीति योजनाहरू पनि नबनेका होईनन। कहिले कतै-कतै व्यक्तिगत पहलमा कृषि तथा पशुपालनका राम्रा परियोजनहरु सञ्चालन गरेर सफल भएका पनि छन् र सरकारी तवरमा पनि नगन्य काम कतै भएको होला तर त्यो पर्याप्त छैन। कार्यान्वयन फितलो छ। सिंचाईका कुनै नयॉ परियोजनाहरू सुरु भएका देखिदैनन। घट्दै गएको परम्परागत खेतीबाहेक आधुनिक कृषि प्रविधि र परियोजनहरु कतै भेटिएनन्। कृषि प्रविधि र कृषि विषय पढ्छु कसैले भनेको कमै सुनिन्छ। नयॉ कृषि अनुसन्धान केन्द्रहरू कतै भएको थाहा भएन। भएकै कृषि केन्द्र र वैज्ञानिकहरू जागिर मात्र खाईरहेका होलान्। विदेशमा राम्रो विज्ञता हासिल गरेका कृषिविज्ञहरुलाई फर्काएर अध्ययन अनुसन्धानमा लगाउने बारे नसोचिएको, नगरिएको वास्तविकता छ।

त्यतिका मेडिकल कलेज खुल्दा कमसेकम केही कृषि कलेज खुल्नु पर्ने हो। त्यतिका डाक्टर उत्पादन हुँदा थोरै भए पनि कृषि विशेषज्ञहरु,कृषि इन्जिनियरहरू,कृषि प्राविधिकहरू उत्पादन हुनुपर्ने हो । बरु ३०/३५ वर्ष पहिले कृषि, खाद्यप्रविधि जस्ता विषयमा रोजगारको सम्भावना देखिन्थ्यो । हाल कोही ढुक्क हुन सक्दैन यो पेसामा जान। कृषिमा आमूल परिवर्तन गराउन खोज्ने कुनै गोविन्द केसीहरू पनि जागेनन्।

देशलाई जे चिजको बढी आवश्यकता छ; जे को सम्भावना छ त्यसैमा ध्यान केन्द्रित हुनुपर्ने हो। दीर्घकालीन, अल्पकालीन नीति र योजना बन्नुपर्ने हो। कृषिमा क्रान्ति नै हुनुपर्ने हो, तर भएन। प्रधानमन्त्रिहरु किसानकै छोरा होलान्। नीतिनिर्माताहरु, सभासद्, नेता मंत्री र सचिवहरू गाउँबाटै आएका होलान्। कसैले यसबारेमा केही नसोचेको,केही नगरेको यथार्थले देखाउँछ। गर्न नसक्ने ठुला कुरा गर्नुभन्दा प्रत्येक गॉउमा एउटा कृषि सेवाकेन्द्र, सिंचाई कुलो, प्रत्येक गाउँपालिकामा नहर भनेको भए हुन्थ्यो । स्मार्ट सिटी भन्दा स्मार्ट कृषिको नारा अघि सारेको भए हुन्थ्यो । कृषिमा सहकारिता र कृषि बैकिङ्ग प्रणाली व्यापक र सहज बनाइनु पर्ने हो।

मनसुनी वर्षामा कमिहुने क्रम बढिरहेको छ। सम्बन्धित निकायले पूर्वानुमान गर्दो हो, सरकारलाई जानकारी दिँदो हो। कृषि विज्ञहरूले सुझाव सल्लाह दिँदा हुन। कृषि मन्त्रालय र योजना आयोगले नीति योजनाहरू बनाउँदा हुन तर किन यस्तो ? कार्यान्वयन किन नभएको ? किन सबै युवाहरू बिदेशिनु परेको सुन फल्ने खेत त्यागेर बालुवामा पसिना बगाउन ? कतिन्जेल चल्छ रेमिटेन्सको पैसाले कुहिएको चामल र दुषित तरकारी किनेर ? कतिन्जेल पानी पर्ला र खेत रोपाई गरौला भनेर आकाशतिर हेरेर बस्ने किसानहरू.? पर्यटन र सिंचाई का सम्भावना कहिले फुल फेजमा चलेर देशको अर्थतन्त्रले राहत पाउला ? कतिन्जेल बसिरहने यस्तो गुजारामुखि संस्कार पालेर? अझै कति पुस्ताले यस्तै चिन्ता गरिरहनु पर्ने हो ?

अरू ठुला ठुला कुरा गर्नुभन्दा महत्त्वपूर्ण पेसा देशकै मेरुदण्ड भनिएको कृषिको बारेमा सबैले बोल्नु, चिन्तन मनन र सुधार गर्नु अपरिहार्य छ।कृषि पेसामा अनुसन्धान,आधुनिकीकरण,विविधिकरण र व्यवसायीकरण गर्नु समयको माग हो। प्रत्येक वडामा कृषि तालिम र सहयोगका परियोजनाहरू सञ्चालन गरिनुपर्छ। निजी क्षेत्र र व्यक्तिगत प्रयासले मात्र कृषि क्षेत्रले आशातित फड्को मार्नसक्दैन । एकीकृत प्रयास र मुख्यतया सत्ताको बागडोर सम्हाल्नेहरु लागी पर्न जरुरी छ। कुनै अमेरिकीले नेपाल सम्भावना र अवसर भएको कृषिप्रधान देश हो भनेर बुझ्छ र महसुस गर्छ तर हामीमा यो चेतना किन नआएको हाल सम्म ! अब बन्ने सरकारले केही गर्लाकि…?

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.