अमेरिका ,काम र मेरो अनुभव


डा. मार्टिन लुथर किंगको महानवाणीमा लेखिएको छ,।“यदि कुनै मान्छेको काम सडकमा कुचो लगाउने हो भने माईकल एंजेलोले पेंटिंग गरेजस्तै,शेक्सपियरले कबिता लेखेजस्तै अनि बिथोभेनले सङ्गीत सृजना गरे जसरी गर्नुपर्छ ताकि स्वयं स्वर्गवाट आएका पाहुना समेतले एकछिन रोकिएर भन्न बाध्य हुन कि ओहो! यहाँ त आफ्नो काम पूर्ण लगन,मेहनत र ईमान्दारीका साथ गर्ने महान् कुचिकार बस्दो रहेछ”।

अमेरिका संबृद्ध देश हुनुमा सय दुईसय वर्षअघिका यहाँ का राजनेताहरुको दुरदर्शिता, भनाई र गराईको प्रभाव अमेरिकी समाजमा देख्न र अनुभव गर्न पाईन्छ।अमेरिकी पूर्वराष्ट्रपति ओबामा विहान ८:३० देखि सॉझ ६:३० सम्म १० घण्टा कार्यालयमा काम गर्नेगर्थे।डिनर र पारिवारिक समयपछि पनि राति ८:३० देखि ११:३० सम्म पदिय काम र चिन्तनमा व्यस्त भएको कुरा उनकै स्टेटमेण्टमा उल्लेख छ।वर्तमान राष्ट्रपति ट्रम्पले वर्षदिनमा नै उनले चुनावमा गर्छु भनेका धेरै कामहरु गरेका छन् । यद्दपि तिनका परिणाम र प्रभाव आउन बाँकी नै छ ।यसमा पनि प्रमुख मुद्धा रोज़गार वा काम सृजनानै रहन्छ; अमेरिकाको बेरोज़गार ४ प्रतिशतको करिबमा रहेपनि।अमेरिकी सिनेटर,कॉग्रेस सदस्यहरु र स्थानीय जनप्रतिनिधीहरुले सभा, भेला, टाउनहल सार्वजनिक सुनुवाई र सिटी काउन्सिलहरुमा आफ्ना क्षेत्रका कामप्रति जनतासंग जवाफदेही भएका कुराहरु देख्न पाईन्छन भने रोज़गार सृजनानै सबैको प्रमुख एजेण्डा बन्छ ।

अमेरिकामा एउटा सामान्य कामदार वर्षमा दुई हप्ता उसले पाउने बिदा र अरु सार्वजनिक र सरकारी बिदा बाहेक सरदार २४० दिन काम गर्छ।कतिपय मानिसहरु दैनिक हप्ताको ७ दिन १२ देखि १५ घन्टा काम गर्छन ।विभिन्न पेशा र व्यवसायमा त अवकाश प्राप्त बृद्धबृद्धाहरु र शारिरिकरुपमा सबल नदेखिनेहरु पनि काम गरिरहेका हुन्छन् । यसरी हेर्दा अमेरिकी समाजमा पचास नाघेकाहरु पनि केहि सिकेर काम गर्नको लागि पढ्न स्कुलगएका उदाहरणहरु पनि धेरै पाउन सकिन्छ ।

केहि समय अघि कपाल काट्न सैलुनमा छिरें। काउण्टरमा नाम लेखाएर केहि समय पालो पर्खिएपछि एक अधवैशें महिलाले मिठो मुस्कान सहित नाम बोलाईन र उनको कपाल काट्ने स्थानमा लगिन।आफ्ना ग्राहकसँग मिठो कुराकानी गरेर राम्रो सेवा दिनु र खुशी पार्नु सबै पेशा र व्यवसायको पहिलो र महत्वपूर्ण कुरा मानिन्छ यहाँ ।कुराकानीकै क्रममा उनले भनिन “म यो सहरमा प्रहरीअधिकृत हुँ।म बिदाको समयमा यो सैलुनमा कपाल काट्ने काम गर्छु, कुनै दिन मेरो जागिर गयो भने मलाई मेरो यहीँ सीप ले बॉच्न सहयोग पुर्याउछ।” अमेरिकामा मेहनतविना पैसा कमाउने र धनी बन्ने सम्भावना ज़्यादै न्युन हुन्छ।

मैले चिनेका एक फिजीसियन डा.छन। उनि निकै राम्रा र अनुभवी डा.मानिन्छन् । बिदाको दिन सामान्य किसान जस्तै घोड़ा र गाई बस्तु लिएर खेतमा(Ranch)काममा जान्छन् ।धेरै पढेका मानिसहरुको सरलता र सहजता बढि हुन्छ जस्तो लाग्छ यहाँ ।अमेरिकामा आय विवरण दाख़िला गर्ने समय आउन लाग्यो (Jan to April) । धेरैतिर निःशुल्क कर विवरण दाख़िला गर्ने सेवा केन्द्र सञ्चालन गरिएका हुन्छन् ।जहाँ अवकाशप्राप्त बुढाबुढीहरुनै खुशिसाथ निःशुल्क सेवा दिईरहेका हुन्छन् ।स्वयंसेवक भएरपनि सक्रिय जीवन बॉच्न खोज्छन् अमेरिकनहरु अवकाशप्राप्त बृद्दबृद्दाहरु।

कुनै कम्पनि वा व्यवसायको मालिक, सि.ई.ओ वा प्रबन्धकले पनि सामान्य कामदार जस्तै काम गर्न वाग्राहकलाई सेवा दिन तत्पर हुने संस्कार होस वा रेस्टुरेण्टको वेटरलाई प्रोफेसरले सर भनेर सम्बोधन गरेको वा कुनै व्यवसायको प्रबंधक,मालिक वा कार्यालयको हाकिमलाई कामदार/कर्मचारिले नामले बोलाएको किन नहोस् , यहाँ देखिने यस्ता व्यवहारहरुले कसैलाई काम र कामको प्रकृतिको आधारमा सानो र ठुलोको विभेद नगरेको देखिन्छ ।कार्यस्थलमा हुने यस्ता व्यवहारहरुले काम र व्यवसायको सम्मान गर्ने र प्रत्येक व्यक्तिको आत्मसम्मान नै प्रधान र महत्वपूर्ण हो भन्ने कुरा सिकाउछ न कि को के गर्छ वा कस्को कुन पद हो भन्ने कुरा।

कसैले राम्रो काम गरेको छ वा गरोस् भनेर उत्प्रेरित गर्न पैसा, सुविधा, पुरस्कार दिनु र प्रोत्साहन गर्नु संगसंगै दिईएको काम गर्न कति समय लाग्यो?काम कसरी सम्पादन भयो र कामको नतिजा के छ भनेर हेर्ने जस्ता कर्मचारी/कामदार व्यवस्थापनका सामान्य सिद्धान्तहरु पालन व्यवहारिक रुपमा गरिन्छ्न यहाँ ।कार्यस्थलमा रोजगारदाता वा सुपरवाईजरले कामदारको काम र कामको उत्पादकत्व मुल्याङ्कन गरिरहेको हुन्छ र संगसंगै दिईएको काम गर्न कति समय लाग्यो ?, काम कसरी सम्पादन भयो र कामको नतीजा के छ भनेर मुल्याङ्कन गरिरहेको हुन्छ । काम राम्रो भएन भने वा दिइएको ज़िम्मेवारी वा टार्गेट मिट भएन भने जागिर जान सक्छ ।कामको वा जागिरको स्थायित्व कहि कसैको हुँदैन, सामान्य कामदारदेखि प्रोफ़ेसरनै किन नहोस् ।हुनत केहि सरकारमा निर्भर काम नगर्ने मान्छेहरु नभएका पनि होईनन तर देश धनि भएर त्यस्ता कुरा गौण देखिन्छन् यहाँ ।

उमेर ढल्कदै गएपछि काम गर्न सकिदैन भन्नेकुरा पनि कम हुन्छ अमेरिकामा।वास्तवमा हामी बुढो भएर काम गर्न छोडेका होईनौ, काम गर्न छोडेर वा निष्क्रिय भएर बुढो भएका हौ।जीवनमा सधैं खुशी र तन्नेरी हुन सपना हुनैपर्छ।हामी सक्रिय हुनैपर्छ। हामी सृजनशिल हुनैपर्छ।जब हामी सपनाविहीन र निश्क्रिय हुन्छौ तब जवान भएरपनि बुढो वा मरे जस्तै हुन्छौं ।बुढो हुनु र उमेर धेरै हुनुमा धेरै फरक छ ।जो कोहि पनि सजिलै बुढो हुन सक्छ । कुनै प्रतिभा र क्षमता चाहिदैन बुढो हुन । जान्न र सिक्नका लागि कहिल्यै बुढो भईदैन र उमेरको हदबन्दि पनि लाग्दैन।उमेरको परिवर्तनसँगै अवसरहरु खोजेर आफुलाई तन्नेरी र सक्रिय राख्न सकिन्छ।आफ्ना पूराना सपना पूरा गर्न सकिन्छ।धेरै नेपालीहरु नेपालको शिक्षा काम नलागेर पाको ऊमेरमा पनि सिपमुलक शिक्षा लिन स्कुल जानुपरेको यथार्थ पनि छ बिदेशमा।हामि धेरै नेपालीहरु बिदेशमा काम गर्छौं।हामिले सिकेका कुराहरु पनि यिनै हुन् ।

हामी संबृद्धिका कुराहरु गर्दैछौं, त्यसैले कसले के गर्छ र कसको कुन पद हो भन्दापनि कसले कसरी काम गर्छ भन्ने नै महत्वपूर्ण हुन्छ संबृद्धिका लागि। अब कुर्सिमा बसेर सजिलै अरु कसैले ल्याइदेला भनेर पर्खिएर बस्ने बानि हटाउनुपर्छ।उठेर काम गर्नुपर्छ।नियममा बस्नुपर्छ।मेहनत र कामको सम्मान गर्न सिक्नुपर्छ।हाकिम र कारिन्दाको पुरानो सोच हट्नुपर्छ ।काममा समयमै पुग्नुपर्छ। सरकारि वा सार्बजनिक कुनै पनि सेवा वा सामानको मूल्य र कर तिर्न तयार हुनुपर्छ तब मात्र हामीले चाहेको संबृद्धि अर्थात विकास, सफलता, भैतिक सामान, मनोरंजन खुशी सबैकुरा पाउन सकिन्छ अनि देश संबृद्ध बन्छ । कुनै देशको विकासको मुख्य आधारनै काम वा रोज़गार हो भन्ने कुरा सर्वविदितै छ र काम गर्नु आफ्नै तन र मनको लागि लाभदायक हुन्छ भन्ने कुरा विभिन्न अध्ययनले पनि देखाऊछ।

नेपालको संदर्भमा कुरा गर्दा गरिबी र बेरोजगारी एक गम्भीर समस्या देखिन्छ।काम र अवसरको कमि छ।युवाहरु विदेशिनुपर्छ।बेरोजगारी नै अनेक आर्थिक, पारिवारिक,व्यक्तिगत तथा सामाजिक समस्याहरुका कारण बन्दैछ।पारिवारिक विछोड, मानसिक विमारी ,पारिवारिक कलह अथवा समाजिक हिंसाहरु हुनमा अरु धेरै कारणहरुका साथै गरिबी र बेरोजगारीको पनि ठुलो भूमिका रहन्छ ।

अत: सीपमुलक वा स्वरोज़गारपरक शिक्षा, रोज़गार सृजना, कामको सम्मान गर्ने संस्कार, उध्योग,कृषि र पर्यटनमा जोड दिदै देशको युवाशक्तिलाई सृजनात्मक काममा वगाउन सके अर्थात सबैलाई काममा ब्यस्त बनाउन सके नेपाल संवृद्ध देश बन्न धेरै समय लाग्दैन।बिदेशमा बिज्ञान,प्रबिधी र अन्य क्षेत्रमा उच्च बिशेषज्ञता हासिल गरेका धेरै नेपालीहरु छन।नेपाललाई चाहिने ठुलो स्रमशक्ति बिदेशमा छ।भारत र चिनले त्यस्तो बिदेशिएको दक्ष्य जनशक्ति फर्काएर देश बिकासमा लगाएका छन।नेपालले पनि त्यस्तो वातावरण बनाउनुपर्छ ताकि नेपालीहरु बिदेशिन होईन,स्वदेश फर्कन लालायित हुन।तब मात्र देश संबृद्द बन्छ।अन्तमा पृथ्वीनारायण शाहको दिव्य उपदेशमा भनिएजस्तै देश र जनताका साना दु:खले आर्जेको अवसर हैन,नेपाल र नेपालीले धेरै गुमाएका छन देश हालको यो अवस्थामा पुग्न। सबैलाई चेतना भया ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.