नेपालीको स्मृतिमा ताजै छन् डा टोनी हेगन


सन् १९५० अक्टोबर २४ मा पहिलो पटक नेपालको भूमि टेक्नुभएका स्वीट्जरल्याण्डका विख्यात भूगर्भशास्त्री डा टोनी हेगन नेपाली जनताको स्मृतिको मानसपटलबाट अझै हराएका छैनन्।

जन्मभूमि स्वीट्जरल्याण्ड भए पनि आफ्नो जीवनको सम्पूर्ण समय नेपालमा बिताका डा हेगनले भूगर्भशास्त्रको माध्यमबाट ‘सगरमाथा नेपालमा छ’ भनेर विश्वमा चिनाएका थिए।

नेपाल भौगर्भिक समाज तथा टोनी हेगन फाउण्डेशन नेपालले संयक्तरुपमा बुधबार आयोजना गरेको डा टोनी हेगन शतवार्षिकी समारोहमा सहभागीले उक्त विचार व्यक्त गरेका हुन्।

नेपाल भौगर्भिक समाजका अध्यक्ष दण्डपाणि अधिकारीले भने, “टोनी हेगन नेपालको भ्रमणमा आउनु हने पहिलो विदेशी पर्यटक हुनुहुन्थ्यो । त्यसबेला सडक तथा बाटोघाटो नभएको तथा सवारी साधन नभएको समयमा डा हेगनले भारतदेखि नेपालको हिमाल, पहाड, तराईको १४ हजार किलोमिटर पैदल यात्रा गरी नेपालको पहिलो पटक भौगर्भिक सर्भे गरी नक्सा तयार गर्नुभएको थियो ।”

उनको टोलीले नै ‘अन्नपूर्ण सर्किट’को पहिचान गरी एक दशक लामो अध्ययनपछि सन् १९६८ मा जियोलोजिकल सर्भे नेपाल प्रकाशमा ल्यायो । सन् १९६० अघिसम्म नेपालमा झोलुंगे पुल नै थिएन । सर्वसाधारण नागरिक पौडेर वा विभिन्न माध्यमबाट नदीहरु तर्नुपर्ने बाध्यता थियो । भेरी नदी जस्ता ठूल्ठूला नदी तर्नु कम कठिन कार्य थिएन् । सन् १९६० मा डा हेगनको अगुवाईमा नेपालमा झोलुङ्गे पुल निर्माण भएपछि नदी तरेर ओहोरदोहर गर्न नेपाली जनतालाई सहज भयो ।

नाष्टका प्राज्ञ दीपक ज्ञवालीले सन् १९५९ मा पहिलो पटक ‘रोपवे इन नेपाल’ भन्ने पुस्तक प्रकाशमा आएको जानकारी दिँदै आफ्नो जीवन नेपालका लागि समर्पित गर्नुभएका डा टोनी हेगन नेपालका लागि ‘रोल मोडल’ भएको विचार व्यक्त गरे।

नाष्टका उपकुलपति जीवराज पोखरेलले स्वीट्जरल्याण्डका भूगर्भशास्त्री डा टोनी हेगनले नेपालका भूगर्भशास्त्रीमा प्राज्ञिक ज्ञान बढाएको भन्दै नेपालको पहिचानलाई नेपाल बाहिर पुर्‍याउनु हुने डा हेगन नेपाली भूगर्भशास्त्रीका महान गुरु तथा अनुकरणीय व्यक्तित्व भएको विचार व्यक्त गरे।

त्रिविका उपकुलपति तीर्थराज खनियाँले डा हेगनका अधूरा काम पुरा गर्न नेपाली भूगर्भविद्ले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए। डा टोनी हेगन फाउण्डेशनका अध्यक्ष डा प्रमोदकुमार झाले डा हेगनले लेखेको पुस्तक ‘डिसेन्ट्रलाइजेसन एण्ड डिभलपमेन्ट’ र सो को नेपाली अनुवाद ‘विकेन्द्रीकरण र विकास’ प्रकाशमा आइसकेको जानकारी दिए।

नेपालमा चिज कारखानाको विकास, पर्यटन, झोलुङ्गेपुल तथा भौगर्भिक क्षेत्रमा दिनुभएको योगदानबाट उनी नेपाली भूगर्भविद्का लागि महान गुरु भएको बताए । उनी फोटोग्राफीमा पनि सिद्धहस्त थिए। उनले सन् १९९९ मा ‘दी रिंग अफ दी बुद्ध’ नामक वृत्तचित्र निर्माण गरेका थिए।

सन् १९१७ अगष्ट १७ मा जन्मिएका डा हेगनको ८५ वर्षको उमेरमा सन् २००३ को अप्रिल १८ मा स्वर्गारोहण भएको थियो । उनलाई श्री ५ वीरेन्द्रबाट शुभराज्याभिषेक पदक तथा गोरखा दक्षिणबाहुसहित मानार्थ नेपाली नागरिकता पनि दिइएको थियो ।

कार्यक्रममा डा हेगनको लामो नेपाल यात्रालाई समेटिएको ‘उहिलेको नेपाल’ नामक वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.