कास्कीको ह्याङ्जाकोट वर्षकै उत्कृष्ट गाउँ पर्यटन गन्तव्य

कास्कीको ह्याङ्जाकोट वर्षकै उत्कृष्ट गाउँ पर्यटन गन्तव्य


कास्कीको ह्याङ्जाकोट होमस्टे यो वर्षको उत्कृष्ट गाउँ पर्यटन गन्तव्य घोषित भएको छ।

२०६४ सालमा स्थापना भएको कास्कीको माछापुछ्रे गाउँपालिकामा रहेको ह्याङ्जाकोट सामुदायिक होम स्टेलाई तत्कालिन कार्यसमितिको पहलमा पर्यटन मन्त्रालयद्वार गाउँ गन्तब्य वर्ष २०७२ घोषणा गरेको थियो।

आइतबार राजधानीमा आयोजित २१ औं गाउँ पर्यटन दिवसको अवसरमा गाउँ पर्यटन विकास मञ्च-भिटोफ नेपालले ह्याङ्जाकोटलाई ११ हजार १ सय ११ रूपैयाँ प्रोत्साहन रकम सहित उत्कृष्ट गाउँ घोषणा गरेको हो।

 ह्याङ्जाकोट

पोखरा बजार नजिकैको ह्याङजाकोट गाउँमा पर्यटक बढ्दै गएका छन्। हिमाल खुल्ने सिजन सुरु भएसँगै आन्तरिक पर्यटक हवात्तै बढेका हुन्। मंसिरदेखि माघसम्म हिमाल राम्रो खुल्छन्।  

ह्याङजाकोटबाट कुमारी माछापुच्छे्र सहित अन्नपूर्ण, हिमचुली लमजुङ लगायत हिमालको लामो लर्कन देखिन्छ। माछाको पुच्छर आकारको माछापुच्छे् नजिकै देखिन्छ। ह्याङजाकोट महिला समूहकी अध्यक्ष रिता गुरुङका अनुसार पर्यटकहरु छर्लंग खुलेको हिमाल देखेर खुशी हुन्छन्।  

कास्की जिल्लाको धिताल गाविस वडा नं ७ को बस्तीलाई ह्याङजाकोट (१७०० मिटर) भनिन्छ। त्यहाँ ७३ परिवार छन्। ती मध्ये ३५ प्रतिशत गुरुङ समुदाय छ भने बाँकी दलित, ब्राह्मण र मगर।

गाउँमा होमस्टे पर्यटन मौलाउँदै छ। गाउँमा ०६४ देखि होमस्टे सुरु भएको हो। ३५ घरका दुई–दुई कोठामा पाहुनालाई बसाइन्छ। सरकारले यो वर्ष विश्व पर्यटन दिवसका दिन ह्याङजाकोट सहित म्याग्दीको टोड्के र नवलपरासिको अमलटारीलाई ग्रामिण गन्तव्य घोषणा गरेको थियो। घोषणाले पर्यटक बढाएको सामुदायिक होमस्टेका अध्यक्ष इश्वर गुरुङ बताउँछन्। 

आन्तरिक पर्यटक ढिँडो, लोकल कुखुरा, रक्सी लगायत खाना मन पराउँछन्। साँझ साँस्कृतिक कार्यक्रममा नाच्छन्। ‘गोरा पनि खुशी मानेर नाच्छन्’, गुरुङले भनिन्।  

मञ्चका पश्चिमाञ्चल (प्रदेश नम्बर ४) का अध्यक्ष तारानाथ पहारीले ह्याङजाकोटलाई नमुना होमस्टेका रुपमा विकासमा भिटोफले सघाइरहेको बताए। ‘हामी महिनाको एउटा गाउँ भ्रमण गरेर आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‍याउने छौं’, पहारीले भने, ‘हामी कास्की, लमजुङ, तनहुँ, गोर्खा, स्याङजा, पाल्पा लगायतका गाउँ प्रबर्धन गर्ने छौं, जसमध्ये ह्याङ्जाकोटलाई उत्कृष्ठ ठहर्‍यायौ।’  

सामुदायिक होमस्टेका अध्यक्ष गुरुङका अनुसार प्याकेज मूल्य ८ सय रुपैयाँ पर्छ। प्याकेजमा, वेलकम स्न्याक्स, डिनर, एक रात बास र ब्रेकफास्ट सुविधा पाइन्छ। साँझ सांस्कृतिक कार्यक्रम देखाइन्छ। त्यसमा गुरुङ नाच र भजन चुड्का हुन्छ। पहिल्यै खबर गरेर १५ जनाभन्दा बढीको समूहमा जाँदा गाउँको मुखैमा पञ्चैबाजाको स्वागत पाइन्छ।

ह्याङजाकोट पोखराबाट २० किमि टाढा छ। त्यहाँ पुग्न पोखराबाट १७ किमिमा फेदी बाँसकोटसम्म बसमा जानु पर्छ। त्यहाँबाट ४५ मिनेट हिँडेमा गाउँ पुगिन्छ। 

 

कार्यक्रममा बोल्दै उपराष्ट्रपति नन्दबहादुर पुनले ग्रामीण पर्यटन विकासका लागि सबै पक्षलाई एकजुट हुन आह्वान गरेका छन् ।

भिटोभको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको जीवित संस्कृति तथा जैविक विविधतामार्फत् पर्यटन प्रवद्र्धनतर्फ केन्द्रित हुन पर्यटन व्यवसायीलाई आग्रह गरे ।

यस्तै पूर्व पर्यटनमन्त्री लोकेन्द्रबहादुर बिष्टले पर्यटन प्रवद्र्धनका लागि आन्तरिक पर्यटनको विकास गर्नुपर्नेमा जोड दिए । गाउँ विकासका लागि कृषि र होमस्टे जरुरी रहेको बिष्टको भनाइ थियो ।

त्यस क्रममा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तिले नेपालमा गाउँ पर्यटनको अथाह सम्भावना भए पनि अहिलेसम्म त्यसलाई सोचेअनुसार विकास गर्न नसकिएको औंल्याएका थिए ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.