‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने मुल मन्त्र बोकेर स्वास्थ्य पर्यटन प्रवद्र्धन गर्दै आएको प्रकृतिप्रेमी समूहले नयाँ हाइकिङ अभियान सुरु गर्ने भएको छ।
हरेक महिनाको चौंथो शनिबार काठमाडौं सेरोफेरोमा हाइकिङ गराउँदै आएको समूहले अबदेखि महिनाको दोस्रो शनिबार पनि हाइकिङ गराउने छ। यसको पहिलो श्रृंखला यही चैत १४ गते हुँदैछ।
समूहकाअनुसार शनिबार सूर्यविनायक नगरपालिका, भक्तपुरको बिरूवा बसपार्कबाट बिन्ध्यवासिनी मन्दिर, अनन्तलिङ डाँडा, दधिकोटको अनन्तलिंगेश्वर मन्दिरहुँदै गुण्डुको पाथीभरा मन्दिरमा पदयात्रा गरिनेछ। साथै पाथीभराबाट ठाडै जंगलको बाटो उकालो चढेर पाइलट बाबा आश्रम पुगिनेछ। आश्रमबाट घ्याम्पेडाँडा हुँदै डोलेश्वर महादेवसम्म पदयात्रा हुनेछ।
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Poltical/NewFolder/Pilot%20Baba%20Ashram.jpg)
यसरी पदयात्रा गर्दा करिब १२ किमि पुरा हुनेछ। यो पदमार्गमा हाइकर्सहरूले प्रकृति, संस्कृति र अध्यात्मको सुवास पाउनेछन्।
‘गर्मी मौसममा जंगलको गोरेटोमा चराको चिरविर सुन्दै पदयात्रा गर्दा शरीरबाट पसिनामार्फत जमेका फोहर निस्केर शरीर शुद्धिकरण भई शरीर सफा हुनुकासाथै मनमा आनन्द छाउँछ’, समूहकी कोषाध्यक्ष रामदेवी महर्जन भन्छिन्, ‘गहुँबारी र आलु बारीको बीचमा रहेका गोरेटामा हिँड्दा प्रकृतिको नजिक हुन पाइन्छ।’
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Poltical/NewFolder/Gundu%20Pathivara.jpg)
विसं २०६३ साल चैतदेखि नियमित मासिक हाइकिङ अभियान चलाउँदै आएको समूहले गत फागुनमा १५७ औं हाइकिङ काभ्रेको पनौतीदेखि कुशादेवी क्षेत्रमा गराएको थियो। उसले बेलाबेलामा बहुदिने पदयात्रा पनि गराउँदै आएको छ।
हाइकिङमा जान पुराना सदस्यले ६०० रुपैयाँ तिर्नुपर्छ भने नयाँ सदस्यले ९५० रुपैयाँ। पुरानाले आफूसँग भएकै क्याप लाएर आउनेछन् भने नयाँलाई हाइकिङ क्याप समूहले उपलब्ध गराउनेछ। समूहको फोन नं ५५४१९९१ मा सम्पर्क गरेर हाइकिङ गर्न सकिनेछ।
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Poltical/NewFolder/Doleshwor.jpg)
समूहले यातायात र खाजाको व्यवस्था गर्नेछ भने हाइकर्स आफैंले स्वास्थ्यबर्धक लन्चको बोकेर आउनु पर्नेछ। समूहको हाइकिङमा जंकफुड, फाष्टफुड र मदिरा निषेध गरिन्छ। हाइकर्सलाई स्वास्थ्यबर्धक खाना खान प्रोत्साहित गरिनेछ।
हेर्नुस् यही चैत १४ गते शनिबार गरिने हाइकिङ रुटको भिडियोः